पोखरा/ माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले गण्डकीको मुख्यमन्त्रीमा आफ्नो दाबीलाई कसिलो बनाउँदै लगेका छन् । उनले यसअघि माओवादीकै समर्थनमा एमालेले सरकार बनाइसकेकाले माओवादीको तर्फबाट सरकारको दाबी स्वभाविक भएको जिकिर पनि गरेका छन् । मुख्यमन्त्रीको दाबी गरिरहेका खगराज अधिकारीले पनि आफूलाई समर्थन गरेको जिकिर पनि गरेका छन् ।
‘खगराजले पनि तपाईँलाई कम्र्फटेबल जे हुन्छ, त्यसको निम्ति म तयार छु भन्नुभएको छ’,ढोरपाटन दैनिकसँगको कुराकानीमा उनले भनेका छन्,‘ यहाँ रहर होइन गरेर देखाउनुपर्ने छ । इमान्दारिताको कुरा छ । उहाँले पनि इमान्दारिता देखाउनुहुन्छ भन्ने लागेको छ ।’
उनले आफू मुख्यमन्त्री बनेमा गण्डकी प्रदेशसभा नै प्रतिपक्षीविहीनजस्तो बन्ने तर्क पनि गरे । विपक्षमै बसे पनि कांग्रेसले समेत आफूलाई स्वीकार्ने तर्क उनको छ । ‘गठबन्धन (वाम–लोकतान्त्रिक) टुटेको अवस्था छ । उहाँ (कांग्रेस)हरुले विपक्षमा पनि मत हाल्न सक्नुहुन्छ । हाम्रै पक्षमा मत हाल्ने भन्ने छैन्’,उनले भने,‘ त्यो अहिलेको परिस्थितिले गर्ने कुरा हो । तर, के छ भन्दा, म उभिएँ भने उहाँहरुले सरकारमा नआए पनि समर्थन गर्नुहुन्छ ।’
गण्डकी प्रदेशसभामा माओवादीसँग ८,एमालेसँग २२ र गठबन्धनमै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग २ सांसद रहेका छन् ।





