पोखरा / नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । कांग्रेस संसदीय दलमा भएको मतदानमा अर्का नेता भोजराज अर्याललाई हराउँदै पाण्डे निर्वाचित भएका हुन् ।
पाण्डेले १८ मत प्राप्त गरे भने अर्यालले ८ मत पाए । मतदानमा १ मत बदर भएको छ । गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सांसद छन् । पार्टीभित्र पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन् ।
दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१) बाट निर्वाचित अर्यालले संसदीय दलको नेता बन्न मनोनयन दर्ता गरेका थिए । पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ थिए ।
सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं : पाण्डे
नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता निर्वाचित भएपछि सुरेन्द्र पाण्डेले आफुले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले पहिलो चरणमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको भन्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले सरकार निर्माणमा राप्रपा र एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका दीपक मनाङेको मुख्य भूमिका हुने बताए ।
‘कांग्रेसको नेतृत्वमा किन बन्न सक्दैन भने अहिले तत्काल भने यदि एमाले वा माओवादी हामीसँग मिलेमा मात्र सरकार बन्न सक्छ’ उनले भने, ‘ती दुई ठूलाबाहेक अरु दल मिलेर हाम्रो बहुमत आउँदैन ।’
पाण्डेले कसैको पनि बहुमत नआएमा मात्र ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व पाउने बताए । ‘समीकरण कसरी अगाडि बढ्छ भन्ने कुरा बाँकी रहेका एमालेबाहेकका दलमा निर्वाह गर्छ’ उनले भने ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ ।





