पोखरा/मौसममा देखिएको प्रतिकुलताका कारण आज (आइतबार) बिहानैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । उडान प्रभावित हुँदा त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढेको छ ।
मौसममा खराबी देखिएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समेत हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम थियो ।
तर भिजिबिलिटी कम हुँदा पोखराको कुनैपनि उडान हुन सकेको छैन । ‘भिजिविलिटी कम भएका कारण बिहानैदेखि पोखराको उडान हुन नसकेको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘अहिले विस्तारै उडान सुरु गर्ने प्रयास हुँदै छ ।’
अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुद्ध, यती, श्री, सौर्य, गुण, समिट, तारा लगायत विभिन्न वायुसेवा कम्पनीको उडान तालिका रहेको छ । उडान नहुँदा विमानस्थल उद्घाटन कार्यक्रम समेत ढिला भएको हो ।





