पोखरा/नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई संगठित अन्तर्घातको आरोप लगाउँदै कारबाही सिफारिस भएको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा कास्की–१ का उम्मेदवारलाई हराउन संगठित रुपमा अन्तर्घात गरेको उनलाई आरोप छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले अन्तर्घात गर्ने नेता कार्यकर्ताविरुद्ध उजुरी दिन गरेको आग्रह अनुसार कास्कीबाट केसी मात्र सिफारिसमा परेका छन् । प्रतिनिधि सभा सदस्यका लागि कास्की–१ मा गठबन्धनका तर्फबाट कांग्रेस जिल्ला सभापति किशोरदत्त बराल उम्मेदवार थिए । सोही क्षेत्रको प्रदेश सभा खमा कांग्रेसकै युवा नेता दीपक गुरुङ उम्मेदवार बनेका थिए ।
प्रतिनिधिसभा एवं प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका कांग्रेसका दुबै नेतालाई हराउन निवर्तमान सभापति केसीले भूमिका खेलेको उजुरीमा उल्लेख छ । केन्द्रीय अनुशासन समितिमा पुस १३ गते दर्ता भएको उजुरीमा दुबै उम्मेदवारले अन्तर्घातका सम्बन्धमा संयुक्त प्रतिवेदन, पार्टी उम्मेदवारलाई भोट नदिन नेता, कार्यकर्ता र मतदातालाई आग्रह गरेको अडिओ, भिडिओ र निर्वाचनपश्चात उनले दिएका अभिव्यक्ति पनि उजुरीमा समावेश गरेको छ ।
कांग्रेसको मादी गाउँपालिका कार्यसमिति सभापति यमबहादुर गुरुङलाई घरमै बोलाएर कास्की–१ का प्रतिनिधी सभा सदस्य उम्मेदवार एवं जिल्ला सभापति बराललाई मत नदिन आह्वान गरेको बताए । चुनावी अभियानका क्रममा घरदैलो गर्दा पूर्व सभापति केसीले आफुलाई घरमा बोलाएर बराललाई मत नदिन भनेको उनले फेसबुकमा स्टाटस लेखेर सार्वजनिक गरेका थिए ।
कास्की–१ मा एमाले जिल्ला अध्यक्षसमेत रहेका मनबहादुर गुरुङ निर्वाचित भएका थिए । उक्त क्षेत्रमा गुरुङभन्दा २ हजार ६०९ मतले पछि पर्दै बराल पराजित भएका थिए । २०७४ को निर्वाचनमा कास्की–१ ख बाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका केसी एमालेका गुरुङसँगै पराजित हुन पुगेका थिए ।
यस्तै, कास्की–१ खका कांग्रेस उम्मेदवार दीपक पनि एमालेकै बेदबहादुर गुरुङ ‘श्याम’सँग पराजित भएका जिए । श्यामभन्दा ८६७ मतले पछाडी परेर दीपक पराजित भएका थिए ।
१३ औं महाधिवेशनबाट कांग्रेस कास्कीको सभापति जितेका केसी अहिले महासमिति सदस्य छन् । कास्की–१ मा प्रतिनिधी सभा सदस्य उम्मेदवारका आकांक्षी रहेका उनी कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर हुन् । उक्त क्षेत्रबाट टिकट पाएका जिल्ला सभापति बराल भने सभापति शेरबहादुर देउवा पक्षधर हुन् । निर्वाचन परिणाम आएपछि पूर्वसभापति केसीको अन्तर्घातकै कारण चुनाव हार्नुपरेको भन्दै उनको घर अगाडी नाराबाजीसमेत गरेका थिए । उनीहरुले केसीको घर अगाडी पुगेर अन्तर्घाती मुर्दावाद भन्दै नारा लगाएका थिए ।
पार्टीको केन्द्रीय अनुसन्धान समितिले आह्वान गरे अनुसार अन्तर्घातको प्रमाण जुटेका व्यक्तिलाई मात्र कारबाही सिफारिस गरेको सभापति बरालले बताए । निर्वाचनमा केसीले संगठित रुपमा अन्तर्घात गरेको प्रमाण जुटेकाले उनलाई कारबाही सिफारिस गरेको उनले बताए ।
पार्टीको जिल्ला कार्य समितिको बैठकले सभापतिलाई अन्तर्घातीलाई कारबाही सिफारिस गर्न अधिकारी दिएको भन्दै उनले पार्टीका गतिविधिहरुमा केसीलाई सहभागी नगराउन मातहतका कार्यसमितिले आग्रह गरेको उनले बताए ।
‘उहाँले संगठित रुपमा अन्र्तघात गरेका कुरा कांग्रेसका केन्द्रीय नेतृत्वलाई पनि अवगत भइसकेको छ, यसका प्रमाणहरु बजारमा सार्वजनिक छन्,’ उनले भने, ‘प्रमाण नभएका व्यक्तिलाई कारबाही गर्ने हचुवा सिफारिस हामीले गरेका छैनाँै, हालसम्म उहाँका मात्र प्रमाण जुटेका छन् ।’
सभापति बरालले पार्टीभित्र अन्तर्घात गर्नेका विरुद्ध प्रमाण उपलब्ध गराउन सार्वजनिक आह्वान गरेका थिए । चुनावको समीक्षा गर्न पार्टीका विभिन्न कमिटीमा बसेको बैठक र कार्यकर्ताले चुनावमा बराललाई मत नदिन आग्रह गरेका विषय उठाएको समेत उनले बताए ।
कृष्ण केसी भन्छन्– पूर्वाग्रह साँधियो, फेस गर्छु
अन्तर्घातको आरोप लागेका कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने बताए । सभापतिले आफुमाथि पूर्वाग्रह साँधेको भन्दै उनले निर्वाचन परिणाम स्वीकार्न नसकेकोसमेत आरोप लगाए ।
निर्वाचन परिणाम आएपछि सानो झुण्डले आप्mनो घरमा ढुङ्गा हानेर तोडफोड गरेको पनि उनको दाबी छ । ‘मेरो घरमा ढुङ्गा हानेर गैरजिम्मेवार चरित्र देखाए, त्यतिबेला म काठमाडौं थिए,’ उनले भने, ‘मेरा पविार र शुभचिन्तक संयम नभएका भए अप्रिय घटना हुन सक्थ्यो ।’
उम्मेदवार पात्र मात्र भएको भन्दै उनले निर्वाचन परिणाम स्विकार्न नसकेर हतोत्साही मनसायले संगठनलाई क्षति पु¥याउने र कार्यकर्तालाई निराश बनाउने हर्कत सभापति बरालले गरेको उनले आरोप लगाए ।
आफूमाथि कारबाही सिफारिस भएका बारे कुनै जानकारी नभएको भन्दै उनले पार्टीले स्पष्टिकरण सोधेका बेला आप्mना धारणा राख्ने बताए । पार्टीको जिल्ला अनुशासन समितिबाट जिल्ला समिति, प्रदेश समिति हुँदै केन्द्रिय अनुशासन समिति र पार्टी केन्द्रीय समितिमा जानुपर्नेमा सभापतिले एकलौटी तरिकाले निवेदन दिनु गलत भएको उनले बताए ।
‘किशोरदत्त बराल उम्मेदवार मात्र होइन, नेपाली कांग्रेस कास्कीका सभापति र गठबन्धनका संयोजक पनि थिए,’ उनले भने, ‘अहिलेसम्म स्थानीय निर्वाचन र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समीक्षा बैठक राखेका छैनन्, एकाध मान्छेले गरेका अराजनीतिक कुराका आधारमा म प्रति राजनीतिक पूर्वाग्रह साँधियो ।’
पार्टी संगठनको भावनालाई मध्यनजर राखेर आफुले यसको प्रतिवाद गर्नेसमेत केसीले बताए । पार्टी सभापतिकै कारण स्थानीय निर्वाचनमा केही पालिका, पोखरा महानगरको उपमेयर र जिल्ला समन्वय समिति गुमाउनुपरेको भन्दै उनले सभापतिकै कारण पार्टी संगठन कमजोर बन्न पुगेको दाबी गरे । बरालले व्यक्तिगत लाभहानी मात्र हेरेको भन्दै उनले भने, ‘म नै यो दुनियाको उम्मेदवार, म मात्र चुनाव लडेको छु । मैले हार्न हुँदैन भन्ने मानसिकता देखियो । उहाँलाई पनि कारबाही गर्न पर्ने स्थिति आउन सक्छ, उहाँको नेतृत्वमा पनि प्रश्न उठ्छ ।’
उजुरीमा दिइएको भनिएका अडिओ र भिडिओ आफुले पनि सामाजिक संजालबाट सुनेको उनले बताए । ‘जुन अडिओ भेटिएको कुरा छ, त्यो मैले पनि सुनें,’ उनले भने, ‘इडिट गरेर ल्याइएको छ, एकोहोरो बोलेका कुरा मात्र छ ।’
पार्टी सभापति भएपछि बरालले जिल्ला कार्यसमिति राम्रोसँग चलाउन नसकेकाले यही कार्यकाल पनि पूरा गर्न नसक्ने स्थिति आउन सक्ने उनले चेतावनी दिए । अन्तर्घातका आरोप सम्बन्धमा जिल्ला कार्यसमितिमा छलफल नभएको र आफुलाई एक पटक पनि बोलाएर छलफल नगरेको उनले बताए ।
मैले जे गरे पनि हुन्छ भनेर सभापतिले सोच्नुभएको छ भने पार्टीमा उहाँले भन्दा धेरै रगत पसिना हामीले बगाएका छौं,’ उनले भने, म गाउँ इकाइबाट निरन्तर काम गर्दै यहँसम्म आएको हुँ, ४० वर्ष राजनीतिमा छु, उहाँले दिएको निवेदनका विषयमा केन्द्रीय अनुशासन समितिमा मैले आप्mना धारणा राख्छु ।’
पार्टी कार्यकर्ताका भावना विपरित नजान सभापति बराललाई आग्रह गर्दै उनले जिल्लाको विकास निर्माण र सामाजिक क्षेत्रमा पार्टीले गर्नुपर्ने कामतर्फ ध्यान दिन आग्रह गरे । सभापति अझै पनि जिम्मेवार भएर पार्टी हितमा काम गर्नुहुन्छ भन्ने मेरो वश्वास छ’ उनले भने, त्यसो होइन भने मैले पनि थाहा पाएका, जानेका, बुझेका र सुनेका कुरा गर्छु ।’





