पोखरा/ रवि लामिछाने कुनै समय टेलिभिजनमा मनोरञ्जनात्मक कार्यक्रम चलाउँथे । उनी एकाएक हराए । अमेरिका पुगेका रहेछन् । फर्केर आएसँगै पुनः टेलिभिजनको पर्दामा देखिए ।
प्रधानमन्त्रीसँग सिधा प्रश्न सोध्ने त्यो कार्यक्रमबाट बहिष्कृत भएसँगै उनी जनतासँग सिधा कुरा गर्ने भए । एकाएक लोकप्रियताको शिखरमा पुगे । भ्रष्ट नेता र प्रशासन, कुशासन र ढिलासुस्तीले सताइएका जनताको पक्षमा उनले केही नगरेका भने पक्कै हैनन् ।
खाडीमा पसिना बगाउने नागरिकको पक्षमा, म्यानपावरबाट ठगिएका निमुखाहरुको लागि उनी ‘देवता’जस्तै बने । उनकै कारण केहीले न्याय पाए, कयौं क्षेत्रमा सुधारको थालनी पनि भयो । आफैं न्यायाधीश बनेर कतिपय मुद्दाहरुमा एकतर्फी विचार निर्माण गरिदिए । आरोपीलाई प्रश्नकै भाँटाले हानेर सिथिल बनाउने उनको कृत्यहरुमाथि प्रश्न नउठेका हैनन् तर उनले आफ्नो कर्म अनि रवैया छाडेनन् ।
पत्रकारिताको सामान्य सिद्धान्त पालना नगरेको भन्ने उजुरीको क्रममा उनले आफू पत्रकार नभइ संचारकर्मी रहेको प्रतिक्रिया दिएका थिए । प्रेस काउन्सीललाई जवाफ दिँदा नै रविले मौकापरस्त छवि प्रस्तुत गरेका थिए । लाग्थ्यो– उनी कानूनी छिद्र पहिल्याउने र त्यसबाट उम्कने बाटोबारे पहिल्यै जानकार छन् ।
उनले न्यूज २४ च्यानल छाडे । ग्यालेक्सी फोर के नामक टेलिभिजन स्थापना गरे । रविको चर्चा चुलिँदो थियो । राजनीतिक परिदृष्यबाट वाक्क भएका जनताको साथ र समर्थनसँगै रविको महत्वाकांक्षा बढ्दै गयो । स्थानीय चुनावी नतिजाले देशमा ‘स्वतन्त्र’हरुको उदय गराएकै थियो । उनले त्यसलाई अवसर ठाने । असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी देश दौडाहा सुरु गरे । उनको समर्थनमा देशव्यापी उभार आयो । चितवन २ बाट संघीय सांसदमा उम्मेदवारी दिएका ।
चितवन २ मा अनुभवी कृष्णभक्त पोखरेल र उमेश श्रेष्ठको प्रतिष्पर्धी बनिरहँदा जनताले रविको नारालाई खुवै मन पराइदिए । स्वतन्त्र पार्टीको ‘अव जान्नेलाईं छान्ने’ भन्ने नारा सहजै अनुमोदन गरिदिए । उनको पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिटसहित रास्वपा राष्ट्रिय राजनीतिको प्रमुख शक्तिमा दरियो । संसदमा कुनै पनि दलको बहुमत नआउँदा ‘मंसिर ४ ः रास्वपा सरकार’ भन्ने अर्को नारा पनि सत्यमा बदलियो । गएको पुस ११ गते प्रचण्ड नेतृत्वको सरकार बन्दा रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बने । तीन सातापछि मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाको तर्फबाट डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिशिर दनाल शिक्षा, विज्ञान तथा प्र्रविधि र डा. तोसिमा कार्कीले स्वास्थ्यमन्त्रीको पद पाए ।
यसअघि नै रवि लामिछानेको नागरिकता विवाद सतहमा आइसकेको थियो । उनले नेपाली नागरिकता त्यागेको, अमेरिकी पासपोर्टमा नेपाल आएको, अमेरिकी नागरिकता र पासपोर्ट त्यागे पनि नेपालको कानून अनुसार नयाँ नागरिकता नलिएको भन्दै सर्वोच्च गुहारिसकिएको थियो । तर, रविले त्यसको वास्ता गरेनन् । अनुमान लगाउन सकिन्छ– ‘जन अनुमोदित’ भएपछि त्यसको आवश्यकता देखेनन् । वा यो खड्कोलाई सहजै पार लगाउने ठाने । कतिसम्म भने, सर्वोच्चमा मुद्दा विचाराधीन हुँदा उनले स्वार्थ बाझिने गृहमन्त्रालयको कमाण्ड सम्हाले । महान्यायाधिवक्तालाई आफ्नो पक्षको बहसमा उतारे ।
रवि र रास्वपाप्रतिको जनलहर सुशासन, न्याय र परिवर्तनको पक्षमा थियो । पुरानाप्रतिको आक्रोसका कारण जनता रास्वपाप्रति झुकेका थिए । रास्वपाको नीति तथा कार्यक्रमप्रति पनि आम नागरिकको उतिसारो चासो देखिएको थिएन । तर, रवि स्वयं पहिलो पाइलामै कानून मिच्ने ‘पुरानै’को लाइनमा उभिए । जनताले उनको क्षमताको परख गर्नै बाँकी थियो । नागरिकहरुले उनी परीक्षामा खरो उत्रिउन् भन्ने चाहेकै थिए । मसिनो स्वरमा सुनिएको आलोचना उनको समर्थकको आवाजले झन मसिनो बनेको थियो । तर, यही बेला आएको सर्वोच्चको फैसलासँगै उनको उप्रधान र गृहमन्त्री, सांसद र रास्वपा अध्यक्षको पद गएको छ ।
सर्वोच्चले उनलाई पुनः नागरिकता प्राप्तिको बाटोमा लाग्ने ठाउँ भने खुलै राखिदिएको छ । भन्नु र गर्नुमा फरक हुन्छ भन्ने बुझ्न नपाउँदै रवि पदबाट तल झरेका छन् । हिजो टेलिभिजन कार्यक्रम चलाउँदा अरुलाई कानून सिकाउने रवि अहिले स्वयं कानून नजान्ने व्यक्ति प्रमाणित भएका छन् । राजनीति र सम्भवत् उनको व्यक्तिगत जीवनमा उनले सवैभन्दा ठूलो झड्का व्यहोरेका छन् । सर्वोच्चको फैसलाको पूर्णपाठ आउन बाँकी छ । रवि नेपाली भएको र नागरिकता प्राप्त गर्नसक्ने अवस्था पनि छँदैछ । नागरिकता प्राप्तिपछि पुनः चुनाव लड्ने अवसर पनि सायद उनलाई आउनेवाला छ । तर, उनीमाथिको नैतिक प्रश्नले भने सायद उनलाई अव छाड्नेवाला छैन । रविले किन विधिको शासनमाथि धावा बोले ? किन गृहमन्त्रालय नै रोजे ? किन धैर्य गर्दै लामो राजनीतिक यात्रा तय गर्ने बाटो रोजेनन् ? भन्नेजस्ता प्रश्न उनी वरपर घुमिरहनेछन् । राज्यलाई गुमराहमा राख्नु पनि अपराध नै हो ।
नेपालको परम्परागत राजनीतिक शक्ति रवि र रास्वपाजस्ता शक्तिको अवसान चाहन्छ । सत्ता गठबन्धनको शक्तिशाली दल नै सही ! रास्वपामाथि गठबन्धनमै रहेका नेताहरुबाट त्यस्ता आक्षेपहरु आउन थालिसकेका छन् । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्ने उखान एकातिर छ, रवि त स्वयंका कारण ओरालो यात्रामा छन् । राज्यलाई गुमराहमा राखेको भन्दै उनीविरुद्ध अर्को उजुरी परे आश्चर्य मान्ने ठाउँ छैन । तर, एउटा सत्य के हो भने, पुरानाबाट धमिलिएको राजनीति सङ्लो हुन्छ भन्ने विश्वास आम नागरिकमा छैन । यसैले रविप्रति तत्काल जन भरोसा टुटिहाल्यो भन्ने अवस्था देखिँदैन । कानून पालनाको चूकको मूल्य भने उनले तिर्नु नै पर्ने देखिन्छ । उनकै एक समर्थकको भनाइ सापट लिने हो भने,‘लड्नु, धूलो टक्टक्याउँदै उठ्नु र फेरि हिँड्नुको मजा छुट्टै हुन्छ ।’ रवि त्यो मजा लिन समर्थ हुन्छन् कि हुँदैनन् ? त्यसको लागि भने केही समय कुर्नैपर्छ । यो जिज्ञासाको सामु रास्वपा, सत्ता गठबन्धन र देशको राजनीतिक भविष्यका कुराहरु कम्तिमा तत्कालको लागि गौण देखिन्छन् ।





