बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वास्थ्य चौकी निर्माणको अनियमितताबारे चासो

वास्थ्य चौकी निर्माणको अनियमितताबारे चासो

२०७२ सालमा ठेक्का दिइएको स्वास्थ्य चौकीको काम अहिलेसम्म पनि पूरा नभएको हो ।


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७९, सोमबार

बागलुङ/बागलुङको भकुण्डे स्वास्थ्य चौकी निर्माण गर्ने ठेकेदारले काम अलपत्र पारेको भन्दै भ्रष्टाचारविरुद्ध नागरिक निगरानी केन्द्रले चासो बढाएको छ ।

भवन बनाएर काम नसकी अलपत्र छाडेकोले अनियमितता भएको, जनताको स्वास्थ्य सेवा पाउने अधिकारको हनन् भएको भन्दै केन्द्रले चासो बढाएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना, वडा कार्यालय र स्वास्थ्य चौकीका कर्मचारी समेतले यो विषयमा चासो अगाडि बढाएका हुन् । उनीहरुले तत्काल भवनको काम पूरा गर्न ठेकेदार पक्षलाई आग्रह पनि गरेका छन् ।
पटकपटक आग्रह गर्दापनि ठेकेदारले काम अलपत्र छाडेपछि लामो समयदेखि यहाँको स्वास्थ्य चौकी पुरानै भवनमा चलेको छ । साँघुरो र पुरानो भवनमा सेवा प्रवाह गर्दा अप्ठ्यारो भएको स्वास्थ्यचौकी इन्चार्ज उमेश सर्बुजाले बताए । भकुण्डे स्थित चौतारेडाँडा माबिको प्राङगणमा रहेको पुरानो भवनमा यो स्वास्थ्य चौकी संचालनमा छ । सेवा प्रवाहकालागि चाहिने कोठासमेत नभएकोले बिरामीको उपचारमा समस्या भएको उनको भनाइ छ । हालको भवनमा बिरामी ल्याउनु परेमा गाडीको व्यवस्था गर्न पनि सकिंदैन । विद्यालयको गेट प्रयोग गरेर आउनुपर्ने बाध्यता समेत छ ।

स्थानीयले २०७१ सालमै ४ रोपनी जमिन उपलब्ध गराएपछि ठेकेदार कंपनी रबिना एण्ड कंपनी लिमिटेडले २०७२ सालमा ठेक्का लिएरपनि काम अलपत्र पारेको हो । स्वास्थ्य चौकी भवन तत्काल पूरा हुने अवस्था नभए भष्टाचारविरुद्ध मुद्दामा जाने केन्द्रका संयोजक शैलेन्द्रकुमार श्रेष्ठले बताए । केन्द्रले केही समयदेखि भ्रष्टाचारको क्षेत्रमा निगरानी समेत गर्दै आएको छ ।

सघन सहरी तथा भवन डिभिजन कार्यालयका इन्जिनियर योगेन्द्र बस्ताकोटीले भवन बनाएर छाडेपछि सामान्य काम नगरेको, तारबार तथा घेराबार लगाउने काम नगर्दा स्थानीयले आउजाउ गर्न पनि कठिन भएको बताए । अलपत्र भवनमा सामान चोरी हुने खतरा बढेको, भवन मर्मत र रंगरोगन नभएकोले पुरानो जस्तो भैसकेको बताए । ‘मैले पटकपटक ताकेता गरेर केही काम गर्न लगाएपछि फेरी भागेर गए’ उनले भने, ‘कामदारले ज्याला नपाएपछि एकदुई दिन पछि हिँड्ने समस्या पनि भयो ।’ स्थानीयले काम गरेको ज्याला समेत नपाएको गुनासो गरेका छन् ।

ठेकेदारका कर्मचारी आएर खाजा खाएकोसमेत नतिरेको, सामुदायिक वनबाट ल्याएको ढुंगाको पैसा नतिरेको लगायतको समस्या भएको वडाध्यक्ष तिलबहादुर थापाले बताए । आइतबार थापाकै अध्यक्षतामा स्वास्थ्य चौकीका उपभोक्ता समिति, सघन सहरी कार्यालयका प्रमुख समेतले अनुगमन गरेका थिए । उनीहरुले कामको प्रतिशतका हिसाबले थोरै बाँकी रहेपनि ठेकेदारको लापरवाहीले काम अलपत्र परेको निष्कर्ष निकालेको थियो । ‘काम अलपत्र छ, त्यसैले ठेकेदारको लापरबाही हो’, बस्ताकोटीले भने, ‘६ पटक सम्मको म्याद थपमा पनि प्रगती नहुनु नै लापरवाही हो भन्ने प्रमाण हो ।’ ठेकेदार रबिन जोशीले भने छिट्टै आएर काम सक्ने आश्वासन दिएको कार्यालय प्रमुख सुनिता श्रेष्ठले बताइन् । यो काम अलपत्र भइहेकोले ठेकेदारको विश्वास भने नभएको, आएर काम गरेमा धरौटीको रकम समेतबाट स्थानीय मजदुरको समस्या समाधानमा पनि पहल गर्न सकिने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->