बागलुङ/ बागलुङ क्षेत्र नं २ का सांसद तथा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाई विद्यालयले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनु पर्नेमा जोड दिएका छन । विहिबार बडिगाड गाउँपालिका– ५ टारिमा रहेको भानु मावि स्थापनाको हिरक महोत्सवको औपचारिक उद्घाटन गर्दै पौडेलले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता औंल्याएका हुन् ।
उनले विद्यालय शिक्षा सुधारका लागि राज्य नै गम्भीर बन्नुपर्ने भन्दै स्थानीय शिक्षक, अभिभावक, स्थानीय तह र अन्य जिम्मेवार सबै संयन्त्र चनाखो बन्नुपर्ने बताए । विद्यालयमा प्राविधिक धार तर्फको अध्यापन सुरु गर्ने, विद्यालय बस सञ्चालन गर्ने र आवासीय विद्यालयसहित निशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन गर्ने उद्धेश्य राखेर हीरक महोत्सवको अवसरमा विद्यालयले विभिन्न शैक्षिक एंव सामाजिक व्यक्तिहरुसगँ सहयोग सकंलन अभियान समेत सञ्चालन गरेको छ ।

अहिले सम्म २ करोड २० लाख बढि रकम सहयोग सकंलन भएको विद्यालयका प्रध्यानाध्यापक केशव खरेलले जानकारी दिए । हीरक महोत्सवको समुद्घाटन समारोहको अवसर पारेर विद्यालयले विभिन्न चन्दादाता, जग्गादाता, पूर्व विद्यार्थी, पूर्व शिक्षक लगायतलाई सम्मान गरेको छ । भने उक्त अभियान मार्फत १ लाख ५६ हजार भन्दा माथि सहयोग गर्ने २४ जना चन्दादातालाई पनि सम्मान गरिएको प्रध्यानाध्यापक खरेलले बताए ।
विद्यालयले हीरक महोत्सवको अवसरमा आयोजना गरेका कार्यक्रमहरु यही माघ २२ गतेदेखि सुरु गरेको थियो । २२ गतेदेखि २४ गतेसम्म विद्यालयका आन्तरिक कार्यक्रम र २४ र २५ गते अन्तर विद्यालय स्तरीय कार्यक्रमहरु सम्पन्न भएका छन् । २८ गतेसम्म चल्ने महोत्सवको अब २ दिन वरिष्ठ चन्दादाता सम्मान, पूर्व विद्यार्थी, शिक्षक सम्मान लगायतका कार्यक्रमहरु रहेको विद्यालयले जनाएको छ । शुक्रवार ( गण्डकी प्रदेशकी उपसभामुख बिना कुमारी थापाको प्रमुख आतिथ्यता रहने बताईएको छ ।
आजको कार्यक्रममा बागलुङ क्षेत्र नं २ प्रदेश सभा सदस्य देवी भट्टचन, क्षेत्र नं २ प्रदेश सभा ‘क’का प्रदेश सांसद जित बहादुर शेरचन, लोकान्तर डटकमका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार विमल गौतम, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।





