काठमाडौं / सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकबाट बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ भन्दै बिदा दिएको हो । माओवादीले ०५२ फागुन १ गते सरकारविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको थियो । त्यो करिब १० वर्षसम्म चलेको थियो । द्वन्द्वका क्रममा माओवादी, सर्वसाधारण नागरिक, प्रहरी, सेना गरी १७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए । त्यसैको सम्झनामा फागुन १ लाई माओवादी नेता-कार्यकर्ताले ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएका छन् ।
तर, राज्यपक्षबाटै यस दिन बिदा दिइँदा चौतर्फी विरोध गरिएको छ । सत्तासाझेदार दलका नेता-कार्यकर्ताले नै उक्त निर्णयको विरोध गरेका छन् । नागरिकस्तरबाट पनि चर्को विरोध गरिएको छ ।
माओवादीले सशस्त्र विद्रोह सुरु गरेको दिन २०५२ फागुन १ को सम्मानमा हरेक वर्ष पार्टीस्तरमा ‘जनयुद्ध दिवस’ मनाउँदै आएको थियो । माओवादी चौथो पटक सत्ताको नेतृत्वमा पुगेका बेला यसपालि ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा घोषणा गरिएको हो । आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर माओवादीले सशस्त्र विद्रोह सुरु गरेको दिन २०५२ फागुन १ को सम्मानमा हरेक वर्ष पार्टीस्तरमा ‘जनयुद्ध दिवस’ मनाउँदै आएको थियो । माओवादी चौथो पटक सत्ताको नेतृत्वमा पुगेका बेला यसपालि ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा घोषणा गरिएको हो ।
आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर आआफ्नो दाउ हेरिरहेका मुख्य राजनीतिक दलहरूले चर्को प्रतिक्रिया दिन नसक्ने स्थितिका बेला प्रधानमन्त्री दाहालले सार्वजनिक बिदाको निर्णय गरेका छन् । संघ सरकारले घोषणा गर्नुअघि माओवादीले नेतृत्व गरेका कर्णाली र वाग्मती प्रदेश सरकारले प्रदेशस्तरमा सार्वजनिक बिदाको निर्णय गरेका थिए ।
सरकारले फागुन १ मा बिदा दिने निर्णय आकस्मिक रूपमा आइतबार गरेको भन्दै सत्ता गठबन्धनका दलहरूबाटै विरोध भएको छ । सत्ता घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरू बिदा दिने विषय मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा रहेको जानकारी पाएपछि बैठकमा अनुपस्थित भएका थिए । मन्त्रिपरिषद्ले निर्णय गरेपछि दाहालको जिम्मेवारीमा रहेको गृह मन्त्रालयमार्फत बिदाको निर्णय सार्वजनिक गरिएको थियो । निर्णय सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा विरोध र समर्थन सुरु भएको छ ।
आकस्मिकबाहेकका वर्षभरि दिने बिदाहरूका सम्बन्धमा मन्त्रिपरिषद्ले चैतमा निर्णय गर्ने चलन छ । घनिष्ठ मित्रराष्ट्रका प्रमुखहरूको निधन वा देशभित्र ठूलो अप्रिय घटना हुँदा आकस्मिक बिदा दिने गरिन्छ । तर २८ औं ‘जनयुद्ध दिवस’ मनाउन लागेको माओवादी सरकारको नेतृत्व गरिरहेका बेला ठीक एक दिनअघि सार्वजनिक बिदाको निर्णय भएको हो ।






