नवलपुर/ २०१२ सालमा राप्ती दुन विकास योजनाको नाममा जंगल फँडानी थालिएपछि पहाडका कुनाकाप्चाबाट मानिसहरु बिस्तारै चितवन झरे । अमेरीकी सरकारले खाद्य सुरक्षाको लागि तराइका जंगल फाँड्ने सो योजनाबारेको जानकारी गाउँगाउँसम्म पुगिसकेको थियो । चितवनले सवैलाई धान्ने कुृरै थिएन ।
चितवन हुँदै बस्ती विकास
चितवन हुँदै नवलपुर क्षेत्र र सदूरपश्चिमसम्म पनि पुग्यो । सित्तैमा तीन बिगाहा जग्गा पाइने सो परियोजनासँगै जग्गा फाँड्नेहरुलाई अमेरीकी सहयोगमा मट्टितेल,चिनी र दूध दिइन्थ्यो । पहाडमा खाद्यान्नको अभाव । धान फल्ने मलिलो फाँटप्रतिको आकर्षण ह्वात्तै बढ्यो । जिविकोपार्जनका लागि सुरु गरिएको बस्ती विकास योजनाले धेरै पहाडीयाहरु हुनेखाने बने । पहाडमै राम्रो व्यवस्था भएकाहरुले तराइको जग्गालाई मौजा बनाए । कति आफन्तको कुरा सुनेर,कतिपय आफन्तले नै बोलाएर मधेश झरे । जग्गा नपाउनेहरुले वनजंगल र पर्ती जग्गामा झुप्रो ठ्डयाए । र,त्यही उपक्रममा नवलपुर बन्यो । पाल्पा,स्याङ्जा, तनहुँलगायतका जिल्लाहरुको मात्र के कुरा, नयाँ बस्तीमा देशभरबाट मान्छे ओइरिए ।
कावासोती उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डाँसुराज पोखरेलकै भनाइ मान्ने हो भने आधुनिक नवलपुरमा नेपालका सबैजसो जिल्लाका मान्छे रहेका छन् । समथर भू–भाग सरेकाहरुको सफलताको कथा सुनेर, आफन्त खोज्दै अनि अवसरको खोजीमा उनीहरु नवलपुर आएका हुन् ।
‘नवलपुर ठ्याक्कै भन्ने हो भने अमेरिकाजस्तै हो, यहाँ बागलुङदेखि लमजुङ, पाल्पादेखि सुदूरपश्चिमसम्मका मान्छे बस्छन्’,उनले भने,‘आर्थिंक समृद्धिको लागि फरक परिवेशका मान्छे एकैठाउँमा जम्मा हुनलाई समाजशास्त्रीय दृष्टिकोणबाटै राम्रै मान्नुपर्छ ।’
बटौली, ठोरी, र नवलुर
कुनैबेला पाल्पादेखि बागलुङसम्मका मानिसहरु नुन बोक्न बटौली पुग्थे । १७ औं शताब्दीदेखि नै चल्तीमा आएको यो बजारले गाउँबाट ल्याइएका घिउ किन्थ्यो र नुनसँग साँट्थ्यो । महेन्द्र राजमार्ग बन्नुअघि बटौलीको यति चम्केको थियो कि, नवलपरासीदेखि पश्चिम नेपाल र काठमाडौं पनि बटौलीमा आश्रित थियो । तर, कालान्तरमा राजमार्ग बन्यो । बटौलीलाई बुटबलले विस्थापनमा पा¥यो । राजमार्ग विस्तारले बुटबल र नारायणगढबीचको क्षेत्रमा पनि बस्ती र बजार बस्न थाल्यो ।
हेर्दाहेर्दै ठोरीमा नुन खेप्न जाने परम्परा पनि मासियो । गैंडाकोट,कावासोती,देवचुली,मध्यविन्दु जस्ता बजारहरुको छुट्टै अस्तित्व कायम भयो । सपना बोकेर गएकाहरुले आफ्नै सामथ्र्यले त्यहाँ घरहरु मात्र ठडिएननन्, सपना फलाउने काम पनि सुरु भयो । र,अहिले कावासोती त्यही सपनाको जगमा उभिएर समृद्धिको सपना देखिरहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार गण्डकीको जनसंख्या २४ लाख ३ हजार ७५७ रहेको छ । त्योमध्ये गण्डकीको कान्छो जिल्ला नवलपुरमा ३ लाख ११ हजार ६०४ नागरिकको बसोबास रहेको छ । नवलपुर जनसंख्या बृद्धिदर धनात्मक भएको जिल्ला हो । यहाँको जनसंख्या बृद्धिदर १.९३ प्रतिशत रहेको छ । सम्भावनायुक्त जिल्ला भएकैले यसले जनसंख्या बृद्धिमा आठौं स्थान प्राप्त गरेको हो । त्यो मध्ये कावासोती नगरपालिकामा १९ हजार ९६८ घरधुरी,२२ हजार १८४ घर परिवार र ८७ हजार १७६ जनसंख्या रहेको छ ।
२०७१ वैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली,कुमारवर्ती गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो । १७ वडाहरुमा विभाजित नगरपालिका क्षेत्र साविकको शिवमन्दिर गाविस परिसरवाट नगरपालिकाको मुख्य कार्य सञ्चालन हुँदै आएपनि सवै १७ वटा स्थानवाट वडा कार्यालयको रुपमा सेवा प्रवाह हुँदै आएको पालिकाले जनाएको छ ।
क्षेत्री, पहाडी ब्राम्हण, मगर, थारु, तामाङ, नेवार, मुसलमान, कामी, गुरुङ, दमई, डोली, ठकुरी, सार्की, तेली, सन्यासी, दशनामी, मुसहर, खट्बनियाँ, कुमाल, कानु, नुनिया, मारवाणी, दरार्इं, भोटे, वादि, राई, यादव, हजाम ठाकुर, माझी, राजपुत, बाराई, विन आदिको मिश्रित बसोबास यो पालिकाको विशेषता हो । त्यही कावासोतीमा बुधबारबाट सातौं नवलपुर महोत्सवको आयोजना हुँदैछ । ‘सहरहरु सपना र आवश्यकताले जन्मन्छन्, सम्भावना भएको क्षेत्रमा सहर बस्ने हो’,महोत्सव आयोजक संस्था नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुष्ठप्रसाद अर्याल भन्छन्,‘हामीसँग सम्भावना नै सम्भावना छ र यही सम्भावना उजागर गर्न महोत्सव आयोजना गरिएको हो ।’
त्यसो त,उद्योग वाणिज्य संघको यो अभियानमा कावासोती नगरपालिका पनि साथै छ । कावासोती नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा व्यवस्थित स्याटलाइट सिटी निर्माणको उद्घोष ग¥यो । नीति तथा कार्यक्रममा भनिएको छ,‘ल्याण्ड पुलिङको माध्यमबाट व्यवस्थित स्याटालाइट सिटी स्थापना गर्ने र यो अभियानमा प्रदेश तथा संघ सरकारसँग समन्वय गर्ने ।’ तर, यो कार्यले गति लिन सकेको छैन । जनताको जग्गा लिएर बस्ती विकास गर्ने र जनतालाई नै हस्तान्तरण गर्ने परियोजना संचालन गर्न सजिलो पनि छैन ।
‘कावासोती सम्भावना नै सम्भावना भएको क्षेत्र हो तर यसको विकासमा नगपालिकाले नै अग्रसरता लिनुपर्छ, निजी क्षेत्र सघाउन तयार छ,’नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोखरेल भन्छन्,‘ योजनावद्द विकासले मात्र समृद्धि प्राप्त हुन्छ, योजना बनाउनुमात्र ठूलो कुरा हैन, कार्यान्वयनमा ध्यान दिनुपर्छ ।’





