बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–२ स्थित भीमापोखरा स्वास्थ्य चौकीको प्रसुती सेवा प्रभावित भएको छ । प्रसुती गृहमा खटिनुपर्ने जनशक्ति नहुँदा सेवा प्रभावित भएको हो । भीमापोखराका गर्भवतीहरु गर्भ परीक्षण तथा प्रसुती सेवाको लागि सदरमुकाम बागलुङ बजार धाउन बाध्य छन् ।
जनशक्ति अनुसारका अन्य जनशक्ति नहुँदा स्वास्थ्य सेवा पनि प्रभावित बनेको छ । स्वास्थ्य चौकीमा दुई जना सिनियर अहेब, दुई जना अनमी, एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगी गरी ६ जनाको दरबन्दी रहेपनि हाल एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगीको भरमा स्वास्थ्य चौकी सञ्चालन भैरहेको छ ।
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा गाह्रो भएको भीमापोखरा चौकीका हेल्थ असिस्टेन्ट आशिष सापकोटाले बताए । स्वास्थ्य चौकीमा ७ महिनादेखि दुई अहेब र १ अनमीको दरबन्दी रिक्त छ । कोभिड संकटको बेला स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब गाउँपालिकाले बोलाए पनि फिर्ता गरेको छैन । स्वास्थ्यचौकीमा कार्यरत दुई अनमीमध्ये एक जना अध्ययन बिदा र एक जनाले अवकास लिएपछि प्रसुती सेवा प्रभावित भएको हो ।
यस्तै, काठेखोला गाउँपालिका–६ को विहुँकोट स्वास्थ्य चौकी पनि एक जना अनमीको भरमा सञ्चालन भएको हर्क बहादुर कँडेलले जानकारी दिए । घर नजिकै स्वास्थ्य चौकी रहेपनि सामान्य विरामी हुँदा सदरमुकाम पुग्नुपर्ने अवस्था रहेको कँडेलले गुनासो गरे ।
काठेखोला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख एवम् जनस्वास्थ्य अधिकृत लामाले अति आवश्यक क्षेत्रमा जनशक्ति खटाउने तयारी भैरहेको बताए । ‘गाउँपालिकाका अन्य वडामा पनि दरबन्दी अनुसारको स्वास्थ्यकर्मी छैनन् । ‘अनमी नहुँदा प्रसुती सेवा प्रभावित भएको जनगुनासो छ,’ लामाले भने– ‘अन्य ठाउँका कर्मचारीलाई पठाउने तयारी गरेका छौं ।’
आठ स्वास्थ्य चौकी र ४ सामुदायिक स्वास्थ्य इकाई रहेको काठेखोला गाउँपालिकामा ४४ जनाको दरबन्दी रहेपनि २९ जना मात्र कार्यरत छन् । १५ जनाको दरबन्दी खाली छ । प्रदेश र संघ सरकारलाई दरबन्दीबारे जानकारी गराए पनि कर्मचारी नपठाएको उनको भनाई छ ।
करारमा कर्मचारी भर्ना गरेर सेवा दिने सोच बनाएपनि आर्थिक नियमावली र स्वास्थ्य ऐनले राकेको लामाले बताए । ‘दरबन्दी अनुसारको कर्मचारी पठाईदिनुस् भनेर प्रदेश र केन्द्रलाई अनुरोध गर्दा अन्य पालिकामा पठाउनुभयो हाम्रोमा पठाउनु भएन’ लामाले भने ।





