म्याग्दी/नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धनले भनेकै व्यक्ति राष्ट्रपति हुने दाबी गरेकी छन् । गठबन्धनबाटै राष्ट्रपति बनाउने सहमति तोडिए अहिलेको समीकरणमा धेरै क्षति हुने बताइन् । नेकपा एमालेबाट निर्वाचित र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न मंगलबार म्याग्दी आएकी नेकपा एमाले गण्डकी प्रदेशकी इन्चार्ज अर्यालले सत्ता गठबन्धनबाट राष्ट्रपति नभए गठबन्धन तोडिने बताइन् ।
‘सत्ता गठबन्धन तोडिएपछि हुने क्षति प्रधानमन्त्रीले राम्रोसँग बुझ्नुभएको छ,अहिले नेकपा माओवादीले नै गठबन्धन तोड्ने जोखिम मोल्न सक्ने अवस्थामा छैन‘,अर्यालले भनिन् । राष्ट्रपतिको सहमति तोडिएमा धेरै सहमतिहरु तोडिने भएकाले गठबन्धकै साझा उम्मेदवारमै सहमति खोजिने उनको जिकिर थियो ।राष्ट्रपतिको सहमतिमा परिवर्तन आए संघीय सरकार, प्रदेशसहित धेरै सहमतिका बाटो बन्द हुने संकेत अर्यालले गरेकी थिइन् ।
उनले सञ्चारमाध्यम र बाहिर आएजस्तो अहिले सत्ता गठबन्धनभित्र कुनै समस्या नभएको समेत दाबी पनि गरिन् । ‘अहिलेको गठबन्धनबाट राष्ट्रपति नबनेमा धेरै गुम्ने अवस्था छ,विकल्पका बारेमा छलफल हुन्छ, गठबन्धनभित्रबाटै सबै समस्याको समाधान हुन्छ’। अर्यालले भनिन् । गठबन्धन बाहिरबाट राष्ट्रपतिको उम्मेदवार खोजेमा नेकपा एमालेले अर्को पासा पाल्नेसमेत ठोकुवा गरिन् । प्रतिनिधिसभा अगाडीको गठबन्धन तोड्न सफल भएकाले अव पनि सहमति बाहिर गतिविधि भए नयाँ समीकरण बन्न सक्ने समेत अर्यालको भनाइ थियो ।
गठबन्धनभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल नभएकाले भविष्यमा हुने दुर्घटना रोक्नका लागि नेकपा एमालेले रोजेको व्यक्तिलाई नै राष्ट्रपति बनाउने सम्भावना बढी रहेको उनको भनाइ थियो । २७ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पूरा हुँदैछ । २५ फागुनमा नयाँ राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ ।





