बागलुङ/नेकपा एमालेकी सचिव पद्मा अर्यालले अहिलेको संसद असजिलो अबस्थामा रहेको बताएकी छन् । देशमा कुनै पनि भरपर्दो राजनीतिक शक्तिले बहुमत ल्याउन नसकेको भन्दै अर्यालले अहिलेको संसदबाट स्थिर सरकार बन्नेमा आशंका रहेको बताईन् ।
पछिल्लो राजनीतिक परिस्थितीले एमालेका नेता कार्यकर्तामा उत्साहको वातावरण नरहेको भएपनि अहिले नै आत्तिनुपर्ने र हतोत्साहित हुनुपर्ने अबस्था नरहेको उनको जिकीर थियो । नेकपा माओबादी केन्द्रको अस्थिर चरित्रका कारण पछिल्लो राजनीतिक परिस्थिती सिर्जना भएको बताईन् ।
‘शेषनाघका हजार जिब्रा भनेजस्तो व्यवहार राजनीतिमा छ, अनि कसरी स्थिरताको कल्पना गर्न सकिन्छ’ अर्यालले भनिन् ‘कम्युनिष्ट, क्रान्तिकारी भन्नेहरु दक्षिणपन्थी शक्तिहरुसँग खुसी छन्, कुम जोडाउन चाहन्छन् भने उनीहरुलाई कसरी कम्युनिष्ट भन्न सकिन्छ ?’ उनले क्षणिक मुद्धा ल्याउने र समस्याको उजागर गरेर मात्रै छोड्ने तर समाधान खोज्न नसक्ने शक्तिहरु एकाएक उदाएकाले पनि अस्थिरता थप बढेको टिप्पणी गरिन् ।
नेकपा एमाले बागलुङले आयोजना गरेको ‘मिसन ग्रासरुट’ अभिमुखीकरण कार्यक्रमलाई बिहिबार बागलुङमा सम्बोधन गर्दै अर्यालले ‘पपुलिष्ट’ भएर मात्रै राजनीति नहुने भन्दै पश्चगामी, अग्रगामी, दक्षीणपन्थी र क्षणिक एजेण्डामा रमाउनेहरु सबै संसदमा रहेको बताईन् । समाजवादको आधार निर्माण गर्ने पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको फैसला कार्यान्वयनका लागि मिसन ग्रासरुट अभियान सफल हुने अर्यालले दाबी गरिन् ।
कार्यक्रममा नेकपा एमालेका संगठन बिभाग प्रमुख तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एमाले कार्यकर्ताहरुलाई कम्युनिष्ट कार्यकर्ताको व्यवहार गर्न आग्रह गरे । उनले यात्रा समाजबादको गर्ने र चरित्र दलाल पुँजीबादको हुने वातावरणको अन्त्य हुनुपर्ने बताए ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागलुङ जिल्लाका सह–इञ्चार्ज इन्द्रलाल सापकोटाले दक्षिणपन्थी अवसरबाद र सांगठनिक अराजकताबाट नेता कार्यकर्ताहरु मुक्त हुनुपर्ने बताए । एमालेका टोल कमिटिदेखि केन्द्रिय कमिटि सम्मका संरचना चुस्त हुनुपर्ने भन्दै उनले संगठनमा बसेर पार्टीको बिरुद्धमा लाग्ने कोहीपनि कार्यकर्ता हुन नसक्ने बताए ।
एमाले केन्द्रिय सदस्य नरदेवी पुन पार्टी र जनसंगठनलाई एकै पटक सक्रिय बनाउनुपर्नेमा जोड थिईन् । कार्यक्रममा जिल्ला अध्यक्ष हिराबहादुर केसीले कार्ययोजना प्रस्तुत गरेका थिए । नेकपा एमालेले संगठन सुदृढिकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको मिसन ग्रासरुट अभियान बिहिबारदेखि बागलुङमा शुरु भएको छ ।
पार्टीको सिंगो पंक्तिलाई जोड्ने गरी सञ्चालन भएको यो अभियानमा जिल्लाका ८५ वटा वडामा २ सय ५० भन्दा बढी नेता कार्यकर्तालाई जिम्मेवारी दिइएको छ । आफ्नो मतदाता रहेकोभन्दा फरक भुगोलमा खटिनेगरी नेताहरुलाई यो अभियानको जिम्मेवारी दिइएको एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिए ।
‘पार्टीले सञ्चालन गरेको देशव्यापी मिसन ग्रासरुट अभियान अन्तरगत बागलुङका १० वटै पालिका र ८५ वटै वडामा खटिने नेताहरुको कार्यविभाजनसंगै प्रशिक्षण शुरु भएको छ, अध्यक्ष केसीले भने– ‘यो अभियानमा आफुलाई तोकिएको भुगोलमै बसेर पार्टी नेताहरुलाई अभियानका लागि तोकिएको जिम्मेवारीअनुसार पार्टी सदस्य र आम समुदायसंग छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्नेछन् ।’
अभियानका क्रममा पार्टी सदस्यता नविकरणलाई प्राथमिकतामा राखिएको छ । पुराना सदस्यको नविकरणसंगै नयाँ सदस्य थप गर्ने कार्ययोजना पनि अध्यक्ष केसीले वैठकमा प्रस्तुत गरेका थिए ।





