बेनी/ नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा सुरू गरेको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन गरिएको छ । जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा गण्डकी प्रदेश कमिटीले उक्त अभियान सबै निर्वाचन क्षेत्रमा एकसाथ सुरु गरेको हो ।
६ वटा स्थानीय तहको पालिका स्तरको कार्यक्रमको लागि कार्यतालिका समेत तयार गरेको छ । बैठकले फागुन १८ गते बेनी नगरपालिका, १९ गते धवलागिरी गाउँपालिका, २० गते रघुगंगा र मालिका गाउँपालिका र २४ गते अन्नपूर्ण र मंगला गाउँपालिकामा कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । सहिद सप्ताहको अवसरमा सुरु भएको उक्त अभियान आगामी वैशाख १४ गतेसम्म जिल्लामा रहेका प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा हुँदै टोल र वस्ती स्तरमा सञ्चालन हुनेछ ।
पार्टी केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेलले अभियानको क्रममा पार्टी र जनवर्गीय संगठनहरुको गठन र पुनर्गठन कार्यक्रमसँगै सदस्यता नवीकरणको कामलाई समेत संगसंगै अगाडी लैजाने बताए ।जिल्ला संयोजक तथा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली (सुविन)ले जिल्लाको ४५ वटै वडामा अभियानलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समिति, पालिका र वडा समिति संगै जनवर्गीय संगठनलाई आग्रह गरे । उक्त अभियानको क्रममा शहीद, घाइते, वेपत्ता परिवारसंग समेत भेटघाट र छलफल गर्ने योजना रहेको संयोजक जुग्जालीले बताए ।





