बागलुङ / नेपाल शिक्षक संघले बागलुङका ५५ जना निवृत्त शिक्षकलाई एकैपटक सम्मान गरेको छ । संघको नवौं जिल्ला अधिवेशनको अवसरमा पछिल्लो दुई वर्षमा निवृत्त भएका शिक्षकलाई सम्मान गरिएको हो ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले शनिबार सबै शिक्षकलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाए । उनीहरुको सफल जीवनका लागि पौडेलले शुभकामना पनि दिए ।
गत स्थानीय निर्वाचनमा जनप्रतिनिधिमा निर्वाचित भएका, उमेर हदले निवृत्त भएका तथा अन्य पेसामा लागेकाहरुलाई गोल्डेन ह्याण्डसेक स्वरुप संघले सम्मान गरेको अध्यक्ष उमाकान्त पौडेलले बताए । उक्त अवसरमा दुई वर्षभित्र मृत्यु भएका शिक्षकका प्रतिनिधिलाई पनि मरणोपरान्त सम्मान गरिएको थियो ।
अधिवेशनले शिक्षामा गुणस्तर बढाउने र शिक्षकहरुको पेसागत अवस्था सुधार गर्ने लगायतका एजेन्डामा छलफल गर्ने कार्यक्रम छ । शनिबार र आइतबार हुने भेला तथा अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने बताइएको छ । अधिवेशनका लागि जिल्लाभरका १ हजार ५ सय शिक्षक सदरमुकाम आएका छन् ।
शिक्षकहरुले विद्यालय कर्मचारी, राहत शिक्षक, बाल शिक्षक र कक्षा ११ र १२ पढाउने शिक्षकहरुको दरबन्दी कायम गर्नुपर्ने माग राखेका छन् ।
शिक्षा ऐन तत्काल ल्याउन माग गरेर शिक्षा मन्त्रालयसम्म ज्ञापनपत्र समेत बुझाएका शिक्षकले राजनीतिक नेतृत्व शिक्षाप्रति अनुदार रहेको टिप्पणीसमेत गरे । ‘शिक्षकबाट फड्को मारेर नेता भएपछि शिक्षा ऐन नियम ल्याउनेदेखि शिक्षकको सम्मानमा कुनै कार्यक्रम बन्दैन,’ उपाध्यक्ष सीता शर्माले भनिन्, ‘शिक्षकलाई गाली गर्न सजिलो छ, तर धरातलमा बसेर काम गरेको मूल्यांकन पनि गरियोस् ।’
जिल्लाका अन्य नेताले पनि शिक्षा ऐन आउन ढिला हुँदा शिक्षा क्षेत्र अस्तव्यस्त भएको टिप्पणी गरेका थिए ।





