पोखरा/पोखराको फेवातालमा शनिबार भएको डुंगा दुर्घटना परी एक वृद्धाको निधन भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १ की ७० वर्षीया यममाया गिरी रहेकी छन् ।
शनिबार साढे चार बजेको समयमा पोखरामा अचानक हावाहुरी चल्दा उनी सवार डुंगा दुर्घटनामा परेको थियो । डुंगाले च्यापिएकी उनको सशस्त्र प्रहरीको गोताखोरले उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेजमा पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार हावाहुरीले दुईवटा डुंगा र चार वटा कायाक (एक जना मात्र बस्न मिल्ने) पल्टाएको थियो । दुईवटा डुंगामा ६ जना सवार थिए । डुंगा घोप्टिएसँगै तालमा डुबेका १० जनाकै फेवातालमै रहेको सशस्त्र प्रहरीको रेस्क्यु टावरमा रहेका गोताखोर सहितको टोलीले उद्धार गरेका थिए ।
चैत–वैशाखको समयमा चल्ने हावाहुरीले वर्षेनी फेवातालमा हुने नौकाविहारलाई प्रभावित बनाउँछ । सराङकोट र पुम्दीकोटको खोंचमा रहेको फेवामा छाल आउँछ र त्यो छालले डुंगा पल्टाउने गर्छ । दुर्घटनाको जोखिम आँकलन गर्दै त्यहाँ सशस्त्र प्रहरीले गोताखोरसहितको टावर स्थापना गरेको हो ।





