पोखरा/ आज राष्ट्रपतिको निर्वाचन । नयाँवानेश्वरको संसद भवनमा हुने निर्वाचनले देशको तेस्रो राष्ट्रपति चयन गर्ने दिन । निर्वाचनको सबै तयारी सकिएको र संघीय संसदका ३३२ तथा प्रदेश सभाका ५५० सांसदहरु मतदाता रहेको मुलुकले आज बेलुकी निर्वाचन आयोगले जनाएको छ । साँझसम्म राष्ट्रपतिको नतिजा सार्वजनिक हुने पनि आयोगको भनाइ छ । राष्ट्रपतिको लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ मैदानमा छन् । नेपाली कांग्रेसका नेता रामचन्द्रलाई नौ दलीय गठबन्धनको साथ रहेको छ भने एमाले नेता नेम्वाङलाई एमालेसहितका दलहरुले मत दिने विश्वास गरिएको छ ।
राष्ट्रपति निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । संघीय संसदका सदस्यहरुको मतभार २६ हजार ३८६ र प्रदेशसभा सदस्यहरुको २६ हजार ४४० गरी जम्मा मतभार ५२ हजार ७८६ छ । राष्ट्रपतिको चुनाव जित्न कम्तिमा ५० प्रतिशत मतभार ल्याउनै पर्छ ।
कोसँग कति मत ?
प्रतिनिधिसभामा ८९ र राष्ट्रिय सभामा १० सिट रहेको सबैभन्दा ठूलो दल कांग्रेसको ७ हजार ८२१ मतभार छ । कांग्रेसका १७५ प्रदेश सभा सदस्यको मतभार ८ हजार ४०० हुन्छ । यसरी कांग्रेसबाट राष्ट्रपति उम्मेदवारलाई खस्ने कुल मतभार १६ हजार २२१ छ ।
७८ जना प्रतिनिधि सभा र १५ जना राष्ट्रिय सभा सदस्य रहेको एमालेको ७ हजार ४२६ मतभार छ । १६१ प्रदेश सभा सदस्य जितेकोले त्यसको ७ हजार ७२८ प्रदेश मतभार हुन्छ । एमालेको कुल मतभार १५ हजार १५४ छ । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग प्रतिनिधि सभामा ३२, प्रदेश सभामा ८३ र राष्ट्रिय सभामा १५ सांसद छन् । यस आधारमा माओवादी केन्द्रको मतभार ७ हजार ६ सय ९७ हुन्छ । एकीकृत समाजवादीको २ हजार ५७४, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५८०, जसपाको २ हजार १४५, राप्रपाको २ हजार ४५० र जनमत पार्टीको १ हजार २४४ मतभार छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग नलिने र तटस्थ बस्ने निर्णय गरेको छ ।यसअघि राप्रपाले सुवास नेम्वाङलाई सघाउने आँकलन गरिएको थियो । त्यस्तै, स्वतन्त्र सांसदको १ हजार २, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८१३, राष्ट्रिय जनमोर्चाको २०६ र नेमकिपाको २२३ मतभार छ ।





