बागलुङ/ नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले युवाहरुलाई उद्यम र रोजगारीमा लाग्न सुझाव दिएका छन् । राजनीतिमा लाग्ने युवाहरु आफ्नै खुट्टामा उभिने भएमा मात्रै लक्ष्य प्राप्ती गर्न सकिने भन्दै उनले युवाहरुलाई उत्पादनसँग जोडिन आग्रह गरे ।
पौडेलले युवाहरुले एकअर्काको रिस र डाहा नभई सहयोग गर्नुपर्नेमा जोड दिए । सबै युवाले एकैखालको व्यवसाय गर्ने, रोजगारीको क्षेत्रसमेत एकै खालको खोज्दा धेरै युवाहरु अवसर र सफलताबाट पछि परेको भन्दै पौडेलले नयाँ युगका युवाहरुसँग नविनतम् सोँच हुनुपर्ने बताए । राष्ट्रिय युवा संघ नेपाल बागलुङको १३ औं अधिबेशनलाई आईतबार बागलुङमा सम्बोधन गर्दै पौडेलले कुनै व्यक्ति वा प्रवृत्तिको पछि लाग्ने युवा सफल नहुने बताए ।
‘एकाध स्वार्थका लागि नेता र सुविधाका पछि लाग्दा फाइदा होला तर कालान्तरमा सफलता पाउने भनेको मेहनत गर्नेहरुले नै हो’। पौडेलले भने ‘आफू बलियो हुनुस्, निष्ठाका साथ राजनीति गर्नुस्, सफलता युवाहरुको हातमा आँफै आउँछ ।’ उनले राष्ट्र र राष्ट्रियता संकटमा परेका बेला युवाहरुले जस्तोसुकै कदम उठाउन सक्नुपर्नेमा जोड दिए । राष्ट्रिय युवा संघले देशमा नयाँ नयाँ कामको सुरुवात गरेर युवापुस्तामा रत्तसञ्चार गर्ने गरेको भन्दै पौडेलले गाउँतहबाट युवाहरु नयाँ सोच राखेर अघि आउनुपर्ने बताए ।
संघका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले नेकपा एमालेको सुरक्षा कवच युवा संघ भएकाले पार्टीका सबै जनसंगठन अफ्ठेरोमा परेका बेला सहयोग गर्नु युवा संघको दायित्व भएको बताए । उनले युवाहरु शिथिल भएर बस्न नहुनेमा जोड दिए । संघका महासचिव छितिज थेवेले युवाहरुका लागि आत्मसम्मान हुनेगरी आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहभागिताको खाँचो औंल्याए । उनले युवा संघ इतिहास बोकेको संगठन भएकाले पार्टी र संगठन दुवैमा नेताहरुको योगदान रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, राष्ट्रिय युवा संघ गण्डकी प्रदेश इञ्चार्ज सम्पन्न श्रेष्ठ, प्रदेश अध्यक्ष महेन्द्र गुरुङलगायतले बोलेका थिए । जिल्ला कमिटि अध्यक्ष बुद्ध बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत केन्द्रिय सदस्य सुजन केसीले गरेका थिए । अधिवेशनमा २ सय बढी प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।





