बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उत्तरगंगा जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् । ढोरपाटन क्षेत्र, बागलुङ जिल्ला र गण्डकी प्रदेशको दीगो विकासका लागि जलाशययुक्त आयोजना कोशेढुंगा सावित हुने भन्दै अधिकारीले तत्काल काम थाल्नुपर्ने बताए ।
उनले जलाशययुक्त आयोजना निर्माणपछि ढोरपाटन क्षेत्रका सर्वसाधारणको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने भनिएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विद्युत आयोजनाको काम अघि बढाउन प्रदेश सरकारले केन्द्र सरकरासँग अनुरोध गर्ने उनले बताए ।
गण्डकी प्रदेशकै गौरवको आयोजना भएर पनि उत्तरगंगा कम चर्चामा रहने गरेको भन्दै उनले सबै पक्ष र क्षेत्रबाट यो आयोजना सञ्चालनका सहयोग आवश्यक रहेको बताए । सम्भाव्यता अध्ययन सकिएको आयोजनाबाट ८२६ मेगावाट विद्युत निकाल्ने योजना रहेको भएपनि काम अघि बढ्न सकेको छैन् ।
नेकपा एमालेको ‘मिसन ग्रासरुट’अभियानअन्र्तगत ढोरपाटन उपत्यकामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले ढोरपाटन क्षेत्रमा पुग्ने सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए । राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडकको काम सन्तोषजनक नभएको भन्दै उनले आयोजनाले तत्काल काम सक्नुपर्ने बताए ।
ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका सबै बस्तीमा केन्द्रिय प्रसारण लाइन बिस्तारका लागि प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो । ढोरपाटनका केही वडाबाहेक अन्य तीनवटै पालिकाका वडाहरुमा केन्द्रीय प्रसारण लाइन पुगेको छैन् । ढोरपाटनमा अस्पताल र शिक्षा क्षेत्रको सुधारका लागि समेत प्रदेश सरकारले विशेष योजना ल्याउने अधिकारीले बताए ।
कार्यक्रममा संघीय सांसद देवीप्रसाद भट्टचनले जनताको आर्थिक स्तर सुधार नभएसम्म समृद्धिको सपना पुरा गर्न नसकिने बताए । आयआर्जन र उत्पादनको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने उनको धारणा थियो ।
गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले जनभावना अनुसारकै विकास निर्माण र बिधि बिद्यान बनाउने काममा लागिरहेको बताए । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ढोरपाटन, निसी र तमानको विकासका लागि तीनै तहका सरकारको साझा कार्यक्रम आवश्यकता रहेको बताए । एमाले जिल्ला सचिवालय सदस्य वीरबहादुर बिकको अध्यक्षता, चुन्न घर्ती मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत एमाले नेता नन्दे बिकले गरेका थिए ।





