बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

अभिनाशको साइन बोर्ड बनाउने मेसिन

अभिनाशको साइन बोर्ड बनाउने मेसिन


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०७९, शनिबार

पोखरा/ पोखराका २० वर्षीय अभिनास अधिकारीले साइन बोर्ड बनाउने मेसिन बनाएका छन् । बिहीबार उनले बनाएको मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक उदघाटन गरे । करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी टुडी शिलालेख, थ्रीडी टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिन्छ ।

मेसिनको अनावरणसँगै काठबाट बन्ने मायाको चिनोका लागि परनिर्भर हुनुपर्ने अवस्था नआउने अविनाशले दाबी गरे । सिएनसी प्रविधिद्वारा निर्मित उक्त मेसिनलाई गुराँस आर्टसले निर्माण गरेको हो । ‘मायाको चिनो खरिदमा मात्रै नेपालबाट करौडौं रुपैयाँ बाहिर जान्छ । अरुप्रति हामी कति आश्रित हुने ? स्थानीय स्रोत साधनलाई प्रयोग गरेर हामीले पनि त मेसिन निर्माण गर्न सक्छौं भन्ने लाग्यो । फलस्वरुप उक्त मेसिन निर्माण गरेँ । पढेको विषयलाई व्यवहारमा उतार्ने प्रयास गरेको हुँ’, अभिनाशले भने ।

उनले पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययन गरिरहेका छन् । विद्यालय पढ्दादेखि नै इन्जिनियरिङमा आफ्नो रुची भएकाले पनि केही नयाँ गर्ने सोच भएको उल्लेख उनले गरे । मेसिन निर्माण कार्यलाई उनले निरन्तरता दिने बताएका छन् । ‘एउटा मेसिन निर्माण गरेर मात्र बस्दिन । यसको बजारीकरणमा सबैले साथ दिए अन्य मेसिनहरु पनि निर्माण गर्दै जानेछु । आशा छ सबैको सहयोग मिल्नेछ’, उनले भने ।

मेसिनको अनावरण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अभिनाशले आफुले पढेको विषयलाई व्यवहारमा उतार्न गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे । अभिनाशले निर्माण गरेको मेसिनलाई बजारीकरण गर्न पनि पोखरा महानगरपालिकाले सहज वातावरण मिलाउने आश्वासन पनि उनले दिए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अभिनाश जस्ता प्रतिभाहरुलाई पोखराले संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी बास्तोकोटीले विद्यार्थी भाइबहिनीहरु पढ्ने मात्र नभई उद्यमशील नै हुनुपर्ने बताए ।
गुराँस आर्टस्का निर्देशक अभिनाशका बुबा शिवबहादुर अधिकारीले आफूले १८ वर्ष पहिले भारतबाट मेसिन मगाएर काम थालेको र अहिले छोराले मेसिन बनाएर सार्वजनिक गर्न पाउँदा खुशी लागेको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->