पोखरा/ कास्कीको माछापुच्छे्र गाउँपालिकामा ब्रतबन्धमा गएका दलितमाथि जनप्रनिधिले जातिय विभेद गरेका छन् । पोखराबाट भाइको छोराको ब्रतबन्धनमा गएका नारायण परियारमाथि वडा ५ का वडा सदस्य रामजी लामिछानेले जातिय विभेद गरेका हुन् । उनले दलितको घरमा भएको ब्रतबन्धनमा विभेद गरेका हुन् । चैत २५ गते डाँडा गाउँ हुम्दिमा दलितको घरमा ब्रतबन्ध हुँदा दलितलाई छुट्टै बाहुनलाई छुट्टै भान्छा गरिएको थियो । दुई भान्छामध्ये बाहुनको भान्छा खालिदेखेपछि नारायण लगायत अन्य चारजना खाना खान पुगेका थिए । सोही क्रममा उनीहरुमाथि विभद भएको हो ।
‘भाइले बोलाएपछि हामी ब्रतबन्धनमा पुगेका थियौ । त्यहाँ पुगेपछि हाम्रो परम्परा अनुसार टिका लगाउने र दक्षीणा टिपाउने काम पनि गर्यौ त्यसपछि खाना खान लाग्यौ’ पिडितले भने,‘खाना खान जाँदा माथिल्लो गरामा खाली थियो हामी त्यहाँ गएर खाना माग्यौ । हामीले खाना मागेका मात्रै थियौँ छोएका थिएनौं ।’ उनका अनुसार आफुहरुलाई बाहुनका लागि छुट्याएको गरामै जान निषेध गरिएको थियो ।
दलितकै घरमा भएको धार्मिक काममा समेत जातिय विभेद भएको उनले बताए । ‘हामीलाई अपमान गर्दै त्यहाँबाट तल झर्न भनियो । अनि मैले किन भनेर सोध्दा यहाँ होइन तपाईँहरुको तल हो भन्दै पठाइयो ’ उनले भने,‘एउटा दिदी आएर यो बाहुनका लागि हो । तपाईँ मेरो भाइ हो तल गइदिनुस यहाँ छोइन्छ भन्नुभयो र त्यहाँ अर्का एक जना दाई आउनुभयो । त्यसपछि अर्का एकजनापनि आएर खाना छोएको भन्दै पुरै खानाको भाडा सहित फालिदिनुभयो ।’
खाना फाल्ने स्थानीय जनप्रतिनिधि र उनका श्रीमति रहेका थिए । पिडितका अनुसार उक्त घटनापश्चात आफ्नो भाइले कुलमै नबस भनि खानाको क्षतिपुर्ति समेत मागेको अडियो सुनाए । अडियोमा समेत स्पष्ट रुपमा दलितका लागि छुट्टै भान्छा भएको र बाहुनकोमा गएर छोएको कारण खाना खेर गएको भनेको छ । उनले सुरुमा तिन लाख मागेपनि पछि भने एक लाख ५० हजार रुपैँया दिन भनेका छन् । तर पिडित परियारले भने आफुले के आधारमा रकम दिने भन्दै प्रश्न गर्दा उनले कुरा सबै बुझिसकेको जवाफ फर्काएका थिए । स्थानीय मिनबहादुर परियारले खाना फाल्ने जनप्रतिनिधि भएको बताए ।
उनले नारायण परियार गाउँमा नयाँ भएको र आफुलाई कुरेर बसेको समेत सुनाए । ‘दाईले त्यहाँ अन्यलाई चिन्नुभएको थिएन । मलाई कुरेर बस्नुभएको थियो । म आएपछि हामी त्यहाँ पुगेका थियौं ’ उनले भने, ‘तर त्यहाँ खाना छोएकै निहुमा खाना फालियो । त्यसपछि राति समेत म हिड्दै गर्दा बाटो छेकेर दबाब समेत दिइयो ।’ उक्त विषयमा आफुहरु प्रहरीको जाने तयारी गरेको पिडितले बताएका छन् ।





