पोखरा/ अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिन कांग्रेसले माग गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेस संसदीय दल गण्डकीले मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएको हो ।
‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ,’कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलनमा भने ।
यस्तै, सरकार कामचलाउ बनेको हुँदा आर्थिक दायित्व सिर्जना गरेमा नयाँ सरकारले उक्त दायित्व नलिने उनले चेतावनी पनि दिएका छन ।
‘आर्थिक दायित्व सिर्जना गर्ने, कर्मचारी सरुवा–बढुवा, नियुक्ती लगायतको काम गर्नु न्याय संगत मानिदैन । यसरी गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिकलगायतका दायित्व सिर्जना भए त्यस्ता दायित्व नयाँ सरकारले लिन बाध्य नहुने जानकारी गराउँदछु,’उनले भने ।
मुख्यमन्त्री अधिकारी गत पुस २५ गते एमाले, माओवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, गत बिहिबार एमाले सरकारबाट बाहिरिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि शुक्रबार भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशम जुग्जालीले राजीनामा दिएका थिए ।
राजीनामा लगत्तै अधिकारी सरकार अल्पमतमा परेको छ । माओवादी बाहिरिनासाथ मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यही सरकारले पुनः विश्वासको मत पाइरहने सम्भावना छैन । कारण, अधिकारी सरकारमा माओवादी निर्णायक थियो । एमालेका २२ र राप्रपाका २ सांसदको समर्थनले मात्रै यहाँ बहुमत प्राप्त गर्ने सम्भावना छैन ।
६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार बनाउनको लागि ३१ सांसदको साथ चाहिन्छ ।राष्ट्रपति चुनावका कारण नयाँ गठबन्धन बनेपछि यहाँको नेतृत्व लिन कांग्रेस प्रयासरत छ । २७ सांसद रहेको कांग्रेसबाट उनै सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्नेछन ।
कांग्रेसले सरकारको नेतृत्व लिन र माओवादीसँग मन्त्रालयको भागबण्डाबारे छलफल पनि अगाडि बढाएको छ । माओवादी सरकारबाट बाहिरिएकोमा कांग्रेसले धन्यवाद दिएको छ ।
‘राष्ट्रिय राजनीतिको मर्म र भावना अनुसार नै नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस स्वागत गर्दछ । माओवादीले समर्थन फिर्ता लिएसँगै गण्डकी सरकार अल्पमतमा परिसकेको छ,’पाण्डेले भने ।





