स्याङ्जा / प्रहरीले आवश्यक सुरक्षा दिन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आयोजना गरेको नागरिक सुनुवाइमा सहभागीले गुनासो गरेका छन् ।
अर्जुन चौपारी १ बजारमा गरिएको नागरिक सुनुवाइमा बजार ब्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थापाले १० जनामात्र सुरक्षाकर्मीले मात्र नागरिकलाई सुरक्षाको प्रत्याभुति गर्न नपाउने बताए । प्रहरी चौकी बजारको बीचमा राख्नुपर्ने बताउँदै थापाले ठाउँठाउँमा चेकपोष्ट हुनुपर्ने माग पनि गरे ।
पालिकाको क्षेत्र ठूलो रहेकाले पालिका सदरमुकाममा रहेको प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालय बनाउनुपर्ने स्थानीय समाजसेवी भिमबहादुर गोदारले बताए । नागरिक बर्दी बिनाको प्रहरी भएको बताउदै उनले आफ्ना टोलमा भएका घटनामा नागरिकको पनि चासो हुनुपर्ने बताए ।नागरिक सुनुवाईमा सवारी साधनले मनपरी भाडा दिएको, बजारमा सीसी क्यामेरा राख्नुपर्ने, मदिरा नियन्त्रणमा पालिकाको ऐनमा सहकार्य गरिदिन सहभागीले आग्रह गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जग्गाको अभावमा प्रहरी कार्यालय बजार बाहिर राख्नुपर्ने अवस्था आएको र बजार क्षेत्रमा जग्गाको खोजी गरिएको जानकारी दिए । नागरिकको सुरक्षामा पालिकाको पनि प्रहरीसँग सहकार्य रहेको उनको भनाइ थियो । यस्तै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्लामा दरबन्दी अनुसार जनशक्ती नहुँदा सबै चौकीमा पठाउन नसकिएको बताए । प्रहरी उपरिक्षक संजय बहादुर राउत, प्रनि अर्जुन बिक, बरिष्ठ प्रहरी निरीक्षक ख्यामबहादुर क्षेत्री लगायतले मन्तब्य राखेका थिए ।यहाँ एक जिल्ला प्रहरी कार्यालय, एक वडा, दुइ इलाका, एक ट्राफिक प्रहरी कार्यालय र २१ प्रहरी चौकी रहेका छन् भने साढे चार सयको जनशक्ति रहेको छ ।





