पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सस्तो लोकप्रियताका लागि आलोचना गर्ने पार्टीमात्रै भएकोे प्रतिक्रिया दिएका छन् ।
सोमबार जिल्ला समन्वय समितिको आयोजनामा भएको छैठौं जिल्ला समन्वय परिषदमा बोल्दै खगराजले रास्वपाप्रति असन्तुष्टि पोखेका हुन् ।
रास्वपाबाट संघीय सांसद बनेका शिव नेपालीले रास्वपा राष्ट्र निर्माणका लागि आएका कारण राष्ट्र निर्माण गर्ने व्यक्तिहरुले मात्रै आफूलाई चिन्ने तर अन्यले नचिनेका कारण आफू चिनिन आएको बताएका थिए । नेपाली रास्वपाबाट समानुपातिकका संघीय सांसद हुन् । उनी कास्कीमै पनि अहिलेसम्म परिचित छैनन् ।
मुख्यमन्त्री अधिकारीले सांसद नेपालीको भनाइ समाते । ‘अहिले आलोचना गरेर सस्तो लोकप्रियता पाइन्छ भन्ने प्रवृत्ति छ । नयाँ दलले पुराना दललाई फेर्छ कि भनेको नयाँमा झन समस्या देखियो’ नेपालीतर्फ संकेत गर्दै एमाले संगठन विभाग प्रमुखसमेत रहेका मुख्यमन्त्रीलेभने,‘अपरिपक्व त म भन्दिन तर समस्या ब्यापक देखियो । अस्थिरतामा रमाउँदा देशलाई गाह्रो हुन्छ ।’





