पोखरा/ पोखरामा रहेको वन विज्ञान अध्ययन संस्थानमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका समीर कार्की विजयी भएका छन् । समीरले २९५ मत ल्याउँदा उनका निकट्म प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका मुवारक अली गद्दीले १४७ मतमात्र प्राप्त गरे । आइतबार भएको निर्वाचनमा ४३४ मत खसेको थियो । वन विज्ञानमा ४८० मतदाता थिए ।
स्ववियु निर्वाचनको लागि कास्कीमा एमाले निकट अखिल अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीको संयुक्त मोर्चा बनेको थियो । दुई संगठनबीच अनेरास्ववियुले सभापति,कोषाध्यक्ष,३ सदस्य र अखिल क्रान्तिकारीलाई सचिव र दुई सदस्य पाउने गरी भागबण्डा गरिएको थियो ।
सोमबार सार्वजनिक नतिजा अनुसार सचिवमा क्रान्त्रिकारीका धिराजन परियार,कोषाध्यक्षमा सुस्मिता कोइराला विजयी भए ।सदस्यहरुमा अनेरास्ववियुका महादेव सिंह, अनिशा आचार्य, गरिमा गुरुङ निर्वाचित भएका छन् । यस्तै क्रान्तिकारीका लोकराज थापा र दीपा कार्कीले पनि स्ववियु सदस्यमा विजय प्राप्त गरे । देशैभरका क्याम्पसहरुमा चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि निर्वाचन कार्यालयमा तालाबन्दीका कारण चुनाव पछि सरेको थियो । पोखराको सवैभन्दा ठूलो पृथ्वीनारायणसहितका क्याम्पसमा भने चुनाव हुन सकेको छैन ।





