बागलुङ/नेपाली कांग्रेस बागलुङको आफ्नै भवन बन्ने भएको छ । एक बर्ष अघिदेखिको प्रयासबाट कांग्रेस जिल्ला कार्यसमितिले आफ्नै घडेरी प्राप्त गरेपछि भवन बन्ने भएको हो । बिहिवार कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले बीपी स्मृति भवनको शिलान्यास गरेका छन् ।
पाण्डेले भवनको शिलान्यास गर्दै भवन बनेर सवलम्बी बनेझै कांग्रेस अब सँधै एकल निर्वाचन जित्ने बन्नुपर्ने बताए । ‘हिजो पनि कांग्रेसले एक्लै चुनाव जितेको हो, भोली पनि जित्नुपर्छ, भवन जस्तै पार्टी संगठन पनि मजबुत हुनुपर्छ’ उनले भने, ‘बिशेष परिस्थितिले गठबन्धन बनेपनि अब एक्लै जित्ने गर िसंगठन बनाउनु होला ।’ पाण्डेले कांग्रेस नेतृत्व र सरकारले जनतालाई सरकार भएको अनुभूति दिनुपर्ने समेत बताए ।
गण्डकी प्रदेश सरकारमा कुनै अचम्म नभए बैसाख पहिलो साता कांग्रेस नेतृत्वको सरकार बन्ने छ । त्यसकालागि सुरेन्द्र पाण्डेनै मुख्यमन्त्रीका दावेदार हुन् । राष्ट्रिय सभामा संसदीय दलको नेताबाट मुख्य मन्त्रीकै लागि गण्डकी प्रदेशमा आएका पाण्डेले मुख्य मन्त्री संहाल्ने निश्चित प्राय भएको छ । पाण्डेले कांग्रेस नेतृत्वमा सरकार बनेमा आम नागरिक र कांग्रेस कार्यकर्ताले शिर उचो बन्ने मौका ल्याउने बताए ।
उनले अल्पमतमा परेको गण्डकी सरकारका मुख्य मन्त्रीले राजिनामा दिएर बाटो खुलाउनुपर्ने धारणा समेत राखेका छन् । ‘सत्ता घटकले बिश्वास झिकेपछि नैतिकताकै आधारमा राजिनामा दिनुपर्छ’ उनले भने, ‘२९ दिन कुरेर बस्ने काम राम्रो होइन ।’ गण्डकी प्रदेशसभामा माओवादीले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको विश्वासको मत फिर्ता लिएको छ । विश्वास फिर्ता लिएपछि अधिकारीले मुख्यमन्त्री कायम रहन विश्वासको मत लिनुपर्ने बाध्यता छ । त्यसकालागि कहिले विश्वास लिन्छन् भन्ने मिति तोकेका छैनन् ।
बिहिवार नेपाली कांग्रेस बागलुङको पार्टी कार्यालय तथा ‘बीपी स्मृति भवन’ शिलान्यास गर्दै पाण्डेले नैनिकता हुनेले २९ दिन कुरेर बस्न नहुने टिप्पणी समेत गरेका हुन् । विश्वासको मत गुमाएपछि सरकारले दुरगामी असर पर्ने निर्णय गर्न पाउँदैन । कांग्रेसले १० करोड खर्चेर सुविधासम्पन्न भवन बनाउन लागेको हो । बानपा ३ को देउराली चोकमा कार्यकर्ताले दिएको जग्गामा चन्दासंकलन गरेर थप जमिन जोडेपछि भवन बनाउन लागेको पार्टी सभापति जितबहादुर शेरचनले जानकारी दिए । ‘भवन बनेपछि पार्टी कार्यालय भाडामा बस्नु पर्दैन’ शेरचनले भने, ‘धेरै जिल्लामा आफ्नै घर भैसक्यो, बागलुङमा थिएन, अब आफ्नै घर हुनेछ ।’ पोखरा, पर्वत, स्याङजामा घर बनिसक्दा बागलुङमा बनाउन नसकिएकोले यो पटक पहल भएको बताए ।
६ तले, लिफ्ट सहितको भवनमा कांग्रेस पार्टी कार्यालय र भातृसंगठनका कार्यालय तथा सभाहल समेत बन्ने छ । उक्त भवन दुइ बर्ष भित्रै सक्ने गरी काम शुरु भएको शेरचनले जानकारी दिए । गत बर्षको महाधिवेसनबाट निर्वाचित भएपछि शेरचनले भवन बनाउने पहिलो निर्णय गरेका थिए । स्थानीय कृष्ण शंकर श्रेष्ठ, सहदेव राजभण्डारी, जयराम भारी लगायतका कार्यकर्ताले दिएका थिए । भवन निर्माणकालागि पदाधिकारी, कार्यकर्ता र जनप्रतिनिधि समेतले चन्दा दिएका छन् ।
बिहिवारको कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठले २० लाख दिने घोषणा गरे । त्यस्तै केही कार्यकर्ताले बिहिवारै रकम हस्तान्तरण समेत गरेको बताइएको छ । कांग्रेस पार्टी सभापति जितबहादुर शेरचनको अध्यक्षता, सचिव गण्डकी थापाको संचालन र निर्माण समितिका सहसंंयोजक सहदेव राजभण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्का, गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।





