हजारौं पर्यटक भित्र्याउन सकिने प्रचुर संम्भावनाहरु बोकेको ‘जगदुल्ला ताल’ अझै गुमनाम छ ।
‘गुगल म्याप’ हेर्दा निलो रंगकोे अण्डाकार भाग माथि ‘लोकेसन’ देखायो ।
लेखिएको थियो- ‘जगदुल्ला ताल, डोल्पा ।’
पानी जमेर ‘बरफ’ बनेको छ । ठमठम हिँड्न मिलेकै छ । हिउँले सेतै ढाकिएर ‘ताल’ हो कि जमिनको सतह छुट्याउन सक्ने अवस्था थिएन । फेरि, ‘गुगल म्याप’ले भनिसकेको छ — ‘जगदुल्ला ताल माथि तिमी उभिइरहेका छौ ।’
तालको ठीक बीच भागमा म निस्फिक्री रमाइरहेको थिएँ ।
..
‘यात्रा जति कठीन हुन्छ, त्यति नै यादगारर स्मरणीय बन्छ’, कतै सुनेको थिए ।सहज ठाउँमा, सजिलै यात्रा गर्नुभन्दा दोब्बर मज्जा मैले ‘जगदुल्ला ताल’ पुग्दा अनुभूति गरेँ ।नाकै ठोक्किने उकालोमा तपतप पसिना चुहाउँदै साइकल बोकेर ‘जगदुल्ला ताल’ ?
ओहो !
कम्मर कम्मरसँग सेताम्य हिउँले ढाकिएका फाँटहरु छिचोल्दै गन्तव्य पुग्दाको सुखानुभूति ।
कठ्याङ्ग्रिदो चिसोलाई बेवास्ता गर्दै हिउँ माथि साइकल कुदाउँदाको अनूभव, साँच्चै बयान गरि नसक्नुको छ ।करिब ४७०० मिटरको उचाइँमा अवस्थित डोल्पाको ‘जगदुल्ला ताल’को प्रचारप्रसारका लागि साइकल यात्रामा निस्किएका साइकले अभियन्ता ‘भाष्कर बस्नेत’ उनकै झ्याकोट गाउँमा भेट भयो । अनि, त देश चिन्न हिँडेको म र उनी ‘जगदुल्ला ताल’तिर लाग्यौँ ।
..
खासमा, म दुई महिने मिसन ‘एकल कर्णाली पदयात्रा’मा निस्किएको थिएँ । पदयात्राको २६ औं दिन भाष्कर भेटिए । मुस्ताङको ‘कागबेनी’बाट पैदलै २६ दिनमा म डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका, झ्याकोट गाउँमा पुगेको थिएँ ।
साइकलले जोडेको सम्बन्ध हो— भाष्करसँग । साइकलमा हामी लुम्बिनी पुगेका छौँ । केही वर्ष अघि सिन्धुलीगढी पनि पुगेका थियौँ । पोखरा र काठमाडौंका कति डाँडाकाडा साइकलमै नापिसकेका छौँ । तर, ‘जगदुल्ला ताल’ जस्तो हिमाली भेगमा साइकल कुदाएको प्रत्यक्ष देखेको भने पहिलो अनुभव बन्यो ।
तिहारले ‘झ्याकोट’ गाउँलाई छपक्कै छोपेको थियो । घर चट्ट पारेर सिँगार्नेदेखि बाटाघाटा सरसरफाइसम्म निकै चटारो थियो । म भने पाहुना बन्न पुगेको थिएँ ।
…
भाइटीकाको दिन ।
आकाश छ्याङ्ङ खुलेको थियो । झ्याकोट गाउँ नजिकै भाष्करकी बहिनीको गाउँ रहेछ । टीका थाप्न हामी उनकी बहिनीको घरतिर लाग्यौं ।
झ्याकोट गाउँ नजिक रहेका थापा गाउँ, गैरी गाउँ र काइ गाउँ पनि सुन्दर देखिन्थे । चाडबाडमा टाढा नहुनु, नातागोता, आफन्तजन भेट हुनु भन्छन् । तर, म भने देश चर्हादै नयाँ सम्बन्धहरु गाँस्दै थिएँ । नौलो ठाउँमा बहिनीको हातबाट टीका लगाएँ । बहिनीले आफ्नै दाइलाई जस्तै माया मानेर टिका लगाइदिइन् । त्यहाँ मैले सम्बन्धको नयाँ परिभाषा भेटें ।साँझ अबेर झ्याकोट गाउँ फर्कियौं ।
…
तिहार सकियो ।
यहीँ गाउँपालिकामा अवस्थित गुमनाम पर्यटकीय गन्तव्य हो, ‘जगदुल्ला ताल’ ।
साँझ साथीसँग यही ताल र सेरोफेरो बारे लामै गफगाफ भयो । अनि चार दिने जगदुल्ला यात्रामा निस्किने सुर कस्यौँ । म, भाष्करका दाजुभाई र घोडावाल लाल चन्द मामासहित ४ जना भएर ‘जगदुल्ला’ निस्किने भयौँ ।
भाष्कर साइकलमै जान कस्सिए । त्यो चिसोमा साइकलमा तालसम्म पुग्नु चानचुन थिएन । उनले आँटिहाले । हामीले भने पैदल जाने निधो ग¥यौँ ।धार्मिक, आध्यात्मिक र जैविक विविधताले सम्पन्न ‘जगदुल्ला ताल’को प्रचारप्रसारमा लाग्दा उनले कैयौँ जोडी जुत्ता फटाए । स्थानीय सरकारदेखि प्रदेश सरकारका विभिन्न कार्यालय धाए । तालको प्रचारप्रसार र पर्यटकीय गन्तव्य विकासका एजेण्डाहरु बोकेर कैयौँका ढोका ढकढकाउन पुगे । तर बिडम्बना ! न उनले साथ पाए न हौसला नै ! धेरै पटक रित्तो हात फर्केको अनुभव छ उनीसँग ।
उनले हार मानेनन् । आफ्नै व्यक्तिगत खर्चमा सुर्खेतमा कोरोना महामारीअघि प्रदेशस्तरीय एकल फोटो प्रदर्शनीसमेत गरे । उनले कैद
कर्णालीका जीवन्त तस्वीररहरु मार्फत धेरैले कर्णाली चियाउन पाए । धेरैले उनको यो प्रयासलाई प्रशंसा गरे । उनमा थप हौसला भरिँदै गयो । आजसम्म उनी त्यही हौसला बोकेर लागिरहेका छन् — ‘जगदुल्ला’ चिनाउन ।
कर्णाली प्रदेशका ‘फोक्सुण्डो’ र ‘रारा ताल’मा हुलका हुल पर्यटकहरु पुग्छन् । ‘जगदुल्ला ताल’मा अझै किन पर्यटकहरु आउँदैनन ?भाष्करलाई खड्किइ रहन्छ — ‘त्यता जसरी यता पनि पर्यटक कहिले आउँलान् ?’भाष्कर त्यसै रोकिएनन् । तालकै प्रचारप्रसारका लागि आफ्नै ज्यानको बाजी लगाएर आँटेका थिए, ‘राइड टु जगदुल्ला ताल ।’
..
बडो जोखिमपूर्ण छ तालसम्म पुग्ने बाटो ।
कल्पना गर्नुस् त, घोडा खच्चड हिँड्ने बाटो ।
कतैकतै त नाकै ठोक्किने खाले उकालो थियो । साइकललाई पिँठ्युमा बोकेर हिड्दा थाक्नुपर्ने हो । तर, उनमा त्यो थकान पटक्कै देखिएन । खुट्टा अडिन नसक्ने बाटोमा साइकल ?साइकलमा उनलाई देख्नेहरु जिब्रो टोक्थे । ‘साइकल त जगदुल्ला ताल पुग्न सक्छ भने हिँडेरै हामी किन नपुग्ने ?’ उनीहरु सोच्दा हुन् ।
हो, भाष्कर पनि यहीँ सन्देश साझा गर्न हिँडेका थिए । पर्यटक माझ पु¥याउन उनले यो दुश्साहस गरे ।
‘झ्याकोट गाउँ’बाट सुरु भएको यात्रा ‘हुरीकोट’ कटेर उकालो लाग्यो । ओखरका बडेमानका रुखहरु भएका जंगल छिचोल्दै अघि बढ्यौं । ‘जगदुल्ला नदी’ छिनछिनमै तर्नु पथ्र्यो। त्यहाँका काठे पुल पनि कम्ता कलात्मक थिएनन् ।माथि पुलबाट निराकर ‘जगदुल्ला नदी’ नियाल्दा त्यो उकालो बाटो सजिलै उक्लिन्छु झैँ लाग्थ्यो ।
..
पहिलो दिनको हाम्रो गन्तव्य ‘टाङटुङे ओढार’ बन्यो ।
गाईवस्तु लिएर लेक उक्लदा गोठालाहरु रात काट्ने ठाउँरहेछ त्यहाँ । ‘यार्सा’ बटुल्न ‘जगदुल्ला सेरोफेरो’ उक्लदा बर्खामा त्यहीँ ओढारमा गाउँलेहरु बास बस्दा रहेछन् ।
ओढार मुनि हामीले ‘टेन्ट’ टाग्यौं ।
दाउरा बटुलेर बेलुकाको खाना पकायौं । आगोको रापमा मार्सी चामल र सिमीको दालको स्वाद कति मीठो थियो ! स्वाद चाख्न त तपाईं पनि एकफेर ‘जगदुल्ला’ पुग्नैपर्छ ।दिनभरको थकान भागिसकेको थियो ।निकैबेर कुराकानी गरेर हामी त्यो रात निदाएछौँ ।
..
बिहान ठिहि¥याउने चिसो थियो । छेउमा कलकल बगिरहेको ‘जगदुल्ला नदी’को मधुर संगीतले हामी तृप्त भयौँ । सामान ‘प्याक’ गरेर पछ्यायौँ उकालै उकालो बाटो ।
‘टाङटुङे ओढार’बाट पाँच घन्टा उकालो लागेपछि अलि समतल परेको ‘तुङतुङ पाटन’ पुग्यौं । करिब ४ हजार मिटरको उचाइमा अवस्थित यो पाटन बर्खायाममा भेडी गोठहरुले भरिन्छन् । फाँटमा अझै दुई ओटा चौंरी गोठहरु थिए । तिहार मनाउन गाउँ झरेका गोठालाहरु भने अझै गोठ उक्लेका थिएनन् । हामी दुई गोठहरु मध्ये एक गोठमा दुई रात काट्ने भयौँ ।
पाटन पुगेर झोला बिसाउँदा मध्यान्हको एक बज्दै थियो । खाना खाएर हामी फाँट घुम्न निस्कियौं ।
वैशाख लागेपछि लाल चन्द मामा गाईभैंसी धपाएर यतै उक्लन्छन् । सिजनमा यार्सा बटुल्ने र अन्य समय गोठ धन्दा गरेर उनी पाँच महिना लेकमै बिताउँद रहेछन् ।दसैं अघि गाउँ झर्दा रहेछन् ।बिहानै सखारै ताल उक्लने योजना बुन्दै हामी दोस्रो रात त्यहीँ गोठमा बितायौं ।
..
यात्राको तेस्रो दिन ।
‘जगदुल्ला ताल’ पुगेर बास बस्न त्यहीँ फाँट फर्कनुपर्ने थियो । बिहानै ७ बजे फाँट छोड्ने तरखरमा थियौं ।उकालो लागेपछि उचाइसँग चिसो पनि बढ्दो थियो । बाटोभरि थुप्रिएका हिउँले माथि अझै चिसो बढ्न सक्ने संकेत दिन्थ्यो । हिउँमा पनि भाष्करले साइकल गुडाउन छाडेनन् । कतै कतै साइकलको पाङ्ग्रा चिप्लिएर उनी झन्डै पछारिन्थे । उत्तिखेरै सम्हालिन्थे ।
बाफ्रे ! जहातहीँ हिउँकै साम्राज्य । थकाई मार्ने ओभानो ढुंगा कतै थिएन । त्यसमाथि झोला जति उकालो उक्लिदै जान्थ्यौँ, त्यति त्यति गह्रौं बन्दै जान्थ्यो । घडीमा ११ बज्दै थियो । कस्सिएर हिँडे १ घण्टामा ‘राक्क्ष दह’ पुग्नेपर्ने थियो तर पाइलाहरु माथि सर्न मान्दैनथे । माथि उक्लिन ज्यानलाई सकस भएको थियो ।ताल पुग्नु अघिको अन्तिम उकालो अत्यासलाग्दो थियो । मोबाइलमा ‘अल्टिमिटर’ले उचाई ४६०० मिटर देखाउदै थियो । सास फुलेर पाइला सार्नै गाह्रो भइरहेको थियो ।
अन्तत ः ‘जगलुल्ला ताल’ पुग्यौँ ।
‘यो पो हो त स्वर्ग !’
म बेस्सरी चिच्याएँ ।
बर्खामा पिँधसम्म देखिने निलो ताल, अहिले पानी जमेको थियो । जमेको तालमाथि ठमठम हिड्न मिल्थ्यो ।
हामी पानी जमेको ‘जगदुल्ला ताल’माथि बेस्सरी उफ्रियौँ ।
सुर न ताल बिना नाँच्यौँ ।
भष्करको साइकलमा चार, पाँच फन्को मा¥यौँ ।
खासमा, को के गरेर खुसी हुन्छ ?
हामीले त्यही त्यही ग¥यौँ ।
पोज पोजका फोटो, भिडियो पनि खिच्यौँ । हामी सक्दो रमाइरहेका थियौँ ।
झल्यास्सँ,‘गोक्यो ताल’मा विदेशी पर्यटकले ‘स्किइङ’ गरेको सम्झिएँ । पानी जमेर ‘स्किइङ’ गर्न जगदुल्लामा पनि मिल्ने हो । कुनै दिन विदेशी पर्यटकहरु तालमाथि ‘स्किइङ’ गर्दै रमाउँदै ‘कासी डाल्फा हिमाल’ हेर्न आउँछन् होला ! मैले भाष्करलाई सुनाएँ ।
‘केही पर्यटक आइस स्केटिङमा रमाइरहेका, केही तालमाथि मस्त स्किङ गरिरहेका त केही हाइ एल्टिच्युड साइकलिङ प्रतियोगितामा पाउदानी मारिरहेका । हजारौं पर्यटक भित्र्याउन सकिने प्रचुर संम्भावनाहरु बोकेको छ जगदुल्ला सेरोफेरोले,’ भाष्करको सपना अझ रहरलाग्दो सुनिन्थे । तर, वास्तविकता भिन्न थियो । ‘जगदुल्ला ताल’ अझैँ गुमनाम छ ।
‘जगदुल्ला ताल’को बेग्लै इतिहास पनि छ ।
तालकै किनारमा चिया उमाल्यौँ । चियाको चुस्की लिदै भाष्कर बखान गर्दै थिए, ‘यो आफैंमा एक पवित्र तीर्थस्थल एवं धार्मिक गन्तव्य हो । साउन पूर्णिमाका दिन यहाँ तीर्थ भर्न डोल्पा जिल्लाका मात्र नभई विभिन्न जिल्लाका तीर्थालुहरु आउँछन् ।’
‘गाँचेन मेरी राल्वा’ हिमालको काखैमा अवस्थित यस पवित्र तालबाट बगेको जगदुल्ला नदीले कैयौं भूभागहरु सिञ्चित गरेको छ ।यही तालमा आश्रित छन् कैयौं जगदुल्लाबासी ।
भाष्करले सिभिल इन्जिनियरिङमा तीन वर्ष बालाजु इन्जिनियरिङ कलेजमा पढे । अहिले भने पर्यटन विषयमा उच्च शिक्षा हासिल गर्ने र यसै विषयमा रहेको ‘प्यासनलाई प्रोफेसन’मा बदल्ने उनको सपना छ । ‘जगदुल्ला ताल र सेरोफेरो समेटेर बुकलेट र ब्रोसर’ तयार पार्न सके पनि धेरै हुन सक्थ्यो झैँ लागेको छ, भाष्करलाई । ‘नेपाल पर्यटन बोर्ड’, ट्रेकिङ कम्पनी एवं विभिन्न पर्यटनसँग आबद्ध संघसंस्थालाई ‘जगदुल्ला ताल’सम्म आउन निमन्त्रणा गरेर ताललाई पर्यटकीय गन्तव्यका रुपमा ‘ब्रान्डिङ’ गर्ने उनको सोच रहेछ ।
यी सपनाहरु यर्थाथमा बदल्न सके जगदुल्ला गाउँपालिकाको मात्र नभई सिंगो कर्णाली प्रदेशको मुहार फेरिन्छ नै !
डोल्पामा लुकेर रहेका कैयौं यस्ता पर्यटकीय गन्तव्यहरुको खोज, अध्ययन र प्रचारप्रसार गर्न सकिए दुर्गम डोल्पा जिल्लाले कोल्टे फेर्नेमा कुनै दुई मत छैन । पर्यटकलाई तालसम्म पुग्नका लागि पदयात्राको तालिका गाउँपालिकासँग सहकार्य गरेर तयार पार्दै रहेछन् उनी । से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग अनुमति लिएर ठाउँठाउँमा टि हाउस र होटलहरु सञ्चालनमा ल्याइनुपर्छ । जगदुल्ला ताल र सेरोफेरो कुनै समय विश्व पर्यटन बजारमा नामी गन्तव्य बन्नेमा कुनै दुई मत छैन ।
अभाव र गरिबीमा पिल्सिएका जगदुल्लाबासीले पनि देशी विदेशी पर्यटकलाई स्वागत गर्न पाउनेछन् । पर्यटन व्यवसायले उनीहरुको जनजीवन फेर्छ । जगदुल्लालाई विश्वले चिन्छ । त्यसदिन कर्णालीभर उनकै बाटो पछ्याउँदै कैयौं भाष्करहरु जन्मिसक्नेछन् । त्यहीँ दिन ‘समृद्ध कर्णाली’ को नारा साकार बन्नेछ ।
जय कर्णाली ! जय पर्यटन !





