स्याङ्जा/ जिल्लाकै सबैभन्दा दुर्गम मानिएको कालिगण्डकी गाउँपालिकामा बाटो बनेको छ । ८० प्रतिशत नागरिकको घरघरमा धारा र बिजुली बत्ति पुगेको छ । शैक्षिक एवं स्वास्थ्यको हिसाबले ठूलै फड्को मारेको छ ।
कालिगण्डकी गाउँपालिका–३ का घर भइ आलमदेवीको मन्दिरमा नगरा बजाउने किसान घिलेको दैनिकी भने वर्षौंबाट जस्ताकोतस्तै छ । १३५० सालमा स्थापना भएको शाह वंशीय कुल मन्दिरको अगाडी रहेको सानो घरको कोठामा बस्ने र मन्दिरमा दमाहा बजाउने ६० वर्षीय घिलेको दैनिकीमा कुनै परिवर्तन आएको छैन् ।
१७०८ सालबाट बराजुहँुदै बुवा र बुवाको मृत्युसँगै किसान घिलको काँधमा मन्दिरमा नगरा बजाउने जिम्मेवारी स¥यो । उनले नगरा बजाउन थालेको पनि २१ वर्ष पुग्यो । सरकारी जागिर खाएको भए पेन्सन पाक्थ्यो होला ! सरकारले तोकेको न्यूनतम ज्यालादर कायम भएको भए पनि उनले दैनिक ५७७ रुपैयाँ पाउँथे । तर, उनी भने दैनिक ८२ रुपैयाँ १३ पैसा ज्यालामा काम गर्दै आइरहेका छन् ।
उमेर छँदासम्म कतै नगइ पुख्र्यौली काम सम्हालेको बताउदै घिलेले भने,‘उमेर पनि गयो अब केही गर्न सक्दिन्, जति दिए पनि यही मन्दिरमा काम गर्नुको विकल्प छैन् ।’
बिहान ५ बजे मन्दिरमा नगरा लगाउन पुग्ने घिले घरको काम सकेर पुनः ८ बजे मन्दिर पुग्छन् । पूजा नहुँदा दिउसोि २ बजेपछि घर जाने घिले घाम अस्ताउने बेलामा पुनः नगरा लगाउन मन्दिरमा पुग्नैपर्छ ।
आफन्तको विहे, ब्रतबन्ध, मर्दापर्दा समेत सहभागी हुन नपाउने गरेको पनि उनको दुखेसो छ । उनले उचित पारिश्रमिकको व्यवस्था गरिदन आग्रह पनि गरे । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष प्रित थापाले गुठी संस्थानबाट वार्षिक ८४ हजार र मन्दिरमा गरिने दानबाट उठ्ने रकमबाट मन्दिरको व्यवस्थापन गर्नुपर्ने र त्यसैबाट घिलेको वार्षिक ३० हजार व्यवस्थापन गरिएको स्वीकारे ।





