पोखरा/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भइसकेका छन् । शनिबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त नगरेसँगै उनी पदमुक्त भएका हुन् । गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका खगराजको बहिर्गमनसँगै यहाँ नयाँ सरकार बनाउने कसरत सुरु भएको छ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे र माओवादी केन्द्रमा संसदीय दलका नेता हरिबहादुर चुमान मुख्यमन्त्रीको दौडमा छन् । तर, सत्ता साझेदारी गर्ने सहमति गरेका यी दुई दलमध्ये कसको नेतृत्वमा सरकार बन्ने टुंगो लागेको छैन ।
दलहरुबीच सहमति जुटेसँगै उनीहरुले सरकार गठनको लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नेछन् । दुबै दल यतिबेला आन्तरिक र द्धिपक्षीय छलफलमा जुटेका छन् । यस्तैमा गण्डकी प्रदेशको चालु अधिवेशन भने अन्त्य भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजो पदमुक्त भएका खगराज अधिकारी नेतृत्वको सरकारको सिफारिस बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । सरकारले विश्वासको मतको प्रक्रिया टुंगिएसँगै प्रदेश सभा अन्त्य गर्ने निर्णय गरिसकेको थियो ।





