पोखरा/ गएको कात्तिक १३ गते मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
कारण थियो,मनाङले दिएको अभिव्यक्ति । उनले ‘निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ…३० लाखमा नेपालमा चुनाव जित्छ यार…मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्ति ।
आयोगले उनको अभिव्यक्तिको श्रव्यदृष्य प्राप्त भएको जनाउँदै बिल तिरेको भए बिल बुझाउन र कति खर्च लाग्ने हो त्यसको विवरण पेश गर्न भनेको थियो । निर्वाचन आयोगले मनाङ प्रदेशसभा निर्वाचनको लागि एउटा उम्मेदवारले २३ लाख खर्च गर्न पाउने सीमा तोकेको थियो। मनाङे मंसिर ४ को निर्वाचनमा त्यस क्षेत्रबाट निर्विरोध निर्वाचित भएका थिए ।
त्यसैलाई आधार बनाएर स्पष्टीकरण सोधेको निर्वाचन आयोगलाई सोमबार उनै मनाङले चुनावमा जम्मा २३ हजार खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
मनाङले आयोगलाई बुझाएको तथा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको विवरण अनुसार उम्मेदवारी दर्ताको क्रममा उनको ५ हजार रुपैयाँ खर्च भएको छ ।गोष्ठी–अन्तरक्रिया र खाना–खाजामा उनले जम्मा १८ हजार रुपैयाँ खर्च गरेका छन् । आयोगलाई उनले ती दुबै शीर्षकको नगदी रसिद तथा सक्कल बिल पेश गरेको जानकारी गराएका छन् ।
यस्तै गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङबाट संघीय सांसदको चुनाव लड्दा २१ लाख ९७ हजार रुपैयाँ खर्च भएको जिकिर गरेका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङमा पेश गरिएको र सोमबार सार्वजनिक गरिएको खर्च विवरण अनुसार उनले यातायातमा ६ लाख ५० हजार, कोण सभामा १ लाख १२ हजार रुपैयाँ, खाना तथा आवासमा ५ लाख २५ हजार, निर्वाचन प्रचारप्रसार छपाइमा ३ लाख, निर्वाचन प्रतिनिधि आवास खानामा २ लाख ४० हजार, मतदाता नामावली फोटोकपीमा १ लाख २० हजार रुपैयाँ र पालिकास्तरीय बुथका लागि २ लाख ५० हजार रुपैयाँ खर्च भएको जानकारी गराएका छन् ।
एमालेका उम्मेदवार उनी गएको मंसिर ४ को चुनावमा विजयी भएका छन् । यस्तै, स्याङ्जा क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित एमाले सांसद सुधीर पौडेलले आफ्नो चुनावी खर्च ८ लाख ८५ हजार ६६८ रुपैयाँ भएको जानकारी गराएका छन् । उनले खाना र खाजा एवं आवासमा सबैभन्दा बढी २ लाख ६५ हजार ३ सय खर्च भएको जिकिर गरेका छन् ।





