पोखरा/ कांग्रेसले सरकारमा दाबी गर्ने तयारी गर्दा माओवादी नेता चुमान भने काठमाडौंतिर लागेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार दलहरुलाई सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन । संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको लागि आह्वान गर्दैगर्दा उनले बिहीबार दिनको ४ बजेसम्मको लागि समयसीमा तोकेका छन ।
तर, गण्डकीमा सत्ताको दाबीको किचलो भने अझै सकिएको छैन । सोमबार मात्रै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबिच गण्डकीको मुख्यमन्त्री सुरुमा कांग्रेसलाई दिने सहमति गरेका थिए । सोमबार नै गण्डकीमा कांग्रेसको सरकार बनाउनको लागि दबाब दिन काठमाण्डौ डेलिगेसन गएका कांग्रेसका प्रदेश सांसदहरुले गण्डकी र लुम्बिनी कांग्रेसले पाउने सहमति भएको सुनाएका थिए । कांग्रेसले संविधानको धारा १६८ उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने दबाब सिर्जना गर्नको लागि कांग्रेस सभापति र प्रधानमन्त्रीलाई संयुक्त भेट गरेका थिए ।
तर, शीर्ष नेताहरुले उपधारा ३ अनुसार सरकार गठनको सट्टा २ अनुसार नै गर्ने र सुरुमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति गरे । उक्त सहमति पश्चात मंगलबार कांग्रेसका अधिकांश सांसद पोखरा फर्किएका छन भने केही सांसद बुधबार फर्किनेछन । उनीहरु फर्किएपछि माओवादी सांसदसहितको हस्ताक्षर लिएर प्रदेश प्रमुखकोमा जाने तयारी कांग्रेसको छ ।
‘बिहीबारसम्मको समय छ, माओवादी साथीहरुसँग बसेर एकपटक छलफल गर्छौँ, त्यसपछि कति बजे जाने भन्ने निर्णय होला,’ कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भने ।
तर, माओवादीले सरकारको नेतृत्वको दाबी आफैले पाउन्ुपर्ने अडान अझै छाडेको छैन । मंगलबार नै माओवादी केन्द्र संसदीय दलको बैठक पनि बस्यो । उक्त बैठकले सरकारको दाबी नछाड्ने र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई भेट्नुपर्ने निर्णय ग¥यो । संसदीय दलको बैठकबाट सोही निर्णय गराएर माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान भने मंगलबार साँझ नै काठमाडांै लागेका छन ।
‘मलाई अध्यक्षज्यूसँग स्पष्ट हुनु छ, दलका नेताहरु बसेर पहिलो पालो हाम्रो भनेर भनेको हो, फेरि अर्को कुरा किन भयो भन्ने क्लियर पार्नुप¥यो । कसरी जाने भन्ने पनि क्लियर गर्नुपर्यो,’ उनले भने ।
सरकार गठनका लागि कांग्रेसले संयुक्त बैठक आह्वान गरेतापनि चुमान भने दलका अन्य नेता सहभागी हुने बताएका छन । ‘अघि साँझ बैठक बसौँ भन्नुभएको थियो, मैले हाम्रा साथीहरु बस्नुहुन्छ भनेको छु,’ चुमानले भने ।माओवादीले दाबी नछाडेतापनि माओवादीकै एक सांसदले भने, ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्ने निश्चित जस्तै हो, एक किसिमको सहमति भइसकेको छ, उहाँ (हरि चुमान) जानुभएको होला, तर अब फरक पर्दैन ।’





