पोखरा/ शुक्रबार मुख्यमन्त्रीको सपथ लिँदै गर्दा सुरेन्द्रराज पाण्डेको बेञ्च प्रदेशसभामा प्रतिपक्षबाट सत्तापक्षमा हुनेछ । यसका लागि उनले ११० दिन कुर्नुप¥यो । उनकै शब्दमा भन्ने हो भने उनी यो समयसम्म डिफेन्डर थिए, अब स्ट्राइकर बन्नेछन ।
पौष २९ गते प्रदेशसभामा तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत माग्दै गर्दा पाण्डेले भनेका थिए, ‘..राजनीतिक दाउपेच, लुछाचुँडीबाट नै अगाडि बढ्न प्रयत्न गर्छ भने सत्तापक्षमा पनि नेशनल खेलाडी नै आउनुभएको छ । यति पनि याद गर्नुहोस डिफेन्डर पनि नेशनल खेलाडी नै छ । त्यसकारण गोल त गर्नुहोला र फल नखेल्नुहोला । यति चाहिँ म आज भनि नै हाल्छु ।’
आफूलाई नेशनल डिफेन्डरको संज्ञा दिएका पाण्डेले अब गण्डकीको मुख्यमन्त्री बनेर प्रदेशका लक्ष्य प्राप्तिको लागि स्ट्राइकरको भूमिका निभाउनेछन । त्यसमा उनी कति सफल हुन्छन त्यो भने हेर्न बाँकी नै छ । अघिल्लो सरकारमाथि प्रतिपक्षी बनेर उठाएका प्रश्न, प्रदेशका अधिकारका विषय र चुनौतीहरु अब उनीमाथि नै फर्किएका छन ।
मंसिर ४ को चुनावी गठबन्धन कायमै रहेको भए उनी सुरुदेखि नै मुख्यमन्त्री हुनेथिए । बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त गोरखाबाट आफू उमेदवार बन्दै गर्दा सुरेन्द्रराज पाण्डेलाई भावी मुख्यमन्त्रीको रुपमा नै चिनाउँदै मत मागिदिएका थिए ।
प्रचण्डले पनि जिते, पाण्डेले पनि जिते । तर, चुनावमा मिलेको कांग्रेस र माओवादी सहितको गठबन्धनबाट प्रधानमन्त्री बन्ने संकेत नदेखेपछि प्रचण्ड एमालेसहितको गठबन्धनमा मिसिए । पुष १० गते उनी प्रधानमन्त्री पनि भए । प्रचण्डले गठबन्धन फेर्दा त्यसको असर भने पाण्डेलाई प¥यो ।
मुख्यमन्त्री बन्ने भनेरै प्रदेशसभामा चुनाव लडेका पाण्डे मुख्यमन्त्री बनेनन, प्रमुख प्रतिपक्षी दलको नेता बन्न पुगे ।
केन्द्रमा प्रचण्ड प्रधानमन्त्री भएकै दिन पोखरा झरेका पाण्डेले भनेका थिए, ‘यो घटना मेरा लागि अनपेक्षित थिएन । तर, पोखराबाट काठमाडौं आउँदा प्लेन त ल्यान्ड भयो, तर राजनीति क्र्यास भयो । म सकुसल अवतरण भएँ, तर म आइपुग्दा राजनीति चाहिँ क्र्यास भयो ।’
उनले क्र्यास भयो भनेको राजनीति बिहीबार सुध्रिएको छ । यसको लागि भने राष्ट्रपति निर्वाचन कारक बन्न पुग्यो । प्रधानमन्त्री बन्नको लागि एमालेसँग सहकार्य गरेका प्रचण्ड राष्ट्रपति निर्वाचनमा भने पुरानै गठबन्धनमा फर्किए । उनै प्रचण्ड पुरानो गठबन्धनमा फर्किएपछि गोरखा २ ले प्रधानमन्त्री पायो, गोरखा २ (ख) ले गण्डकीको मुख्यमन्त्री पाएको छ ।
उनलाई मुख्यमन्त्री बन्न कति हतार थियो भन्ने कुरा शनिबारको कुराले पुष्टि गर्दछ । शनिबार निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत मागे । तर, पाउन सकेनन । उनले विश्वासको मत नपाउनासाथ संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठुलो संसदीय दलको नेताको हिसाबले आफूलाई मुख्यमन्त्री नियुक्त गर्नको लागि प्रदेश प्रमुखकोमा सन्देश पु¥याए । यहाँ यो उपधारा अनुसार मुख्यमन्त्री नियुक्त गर्दा लुम्बिनीमा गठबन्धनको मुख्यमन्त्री फुत्किन्छ भन्ने कुराको हेक्का पनि उनले राखेनन ।
त्यतिमात्रै होइन, उपधारा ३ अनुसार नै मुख्यमन्त्री नियुक्त गर्नुपर्छ भन्दै उनले सांसदहरुलाई काठमाण्डौमा डेलिगसन गर्न बोलाए ।तर, प्रचण्ड र कांग्रेस सभापति देउवाले उपधारा (२) अनुसार संयुक्त सरकार बन्ने र सुरेन्द्रराज पाण्डे सुरुमा मुख्यमन्त्री बन्ने सहमति गरेपछि सांसदहरु मंगलबार पोखरा फर्किएका थिए ।
यता माओवादीबाट हरि चुमानले बिहिबार बिहानसम्म पनि मुख्यमन्त्रीको दाबी छाडेका थिएनन । तर, तनहुँमा गठबन्धनका उमेदवार हारेपछि कांग्रेसले माओवादीबाट दबाब बढायो । पाण्डे नै मुख्यमन्त्री बन्ने र त्यसमा माओवादीले समर्थन गर्नुपर्ने विषयमा चुमानलाई शीर्ष नेताहरुले निर्देशन दिए । कति समयसम्म कांग्रेसले मुख्यमन्त्री लिने, कति समय माओवादीले नेतृत्व गर्ने भन्ने विषयमा लिखित सहमति गर्ने भनेर चुमानले पनि सुरुमा पाण्डेलाई मुख्यमन्त्रीमा सघाउन तयार भए ।
माओवादी तयार भएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ (२) अनुसार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरे । उनको सपथ शुक्रबार हुने भएको छ ।
गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङमा जन्मिएका पाण्डे पहिलोपटक प्रत्यक्ष चुनाव लडेका हुन । यसअगाडि उनी राष्ट्रियसभा सदस्य भई कांग्रेस संसदीय दलको नेता बनेका थिए ।
लगातार तीनपटक केन्द्रिय सदस्य जितेका उनी २०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थीकालदेखि नेपाली कांग्रेसको भातृसंस्था नेविसंघमा आबद्ध थिए ।२०३७ सालमा अमरज्योती जनता मावि बाट एसएलसी उर्तिण गरेका पाण्डेको एक छोरा र श्रीमती छन । राजनीतिक संघर्षका क्रममा २०४५ साल देखि २०६१ सम्म पटकपटक गरि उनी ८ महिना जेलजीवन भोगे ।
२०३६ सालमा ने वि संघको सदस्यता लिएका पाण्डे २०३९ सालमा नेविसंघ अस्कल इकाइ सचिव हुँदै २०४५ मा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति बने । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन ।





