पोखरा/ गण्डकीमा कांग्रेस संसदीय दलको नेता बन्न कांग्रेसबाट सुरेन्द्रराज पाण्डे र भोजराज अर्यालले प्रतिष्पर्धा गरे । पाण्डे संस्थापन समूहबाट र अर्याल शेखर गगन समूहका उमेदवार थिए । पाण्डेसँगै संस्थापन समूहबाट कास्कीका विन्दुकुमार थापा पनि आकांक्षी थिए । इतरबाट अर्याल र नवलपुरबाट चुनाव जितेका महेन्द्रध्वज जिसीको आकांक्षा थियो ।
अन्तिममा थापा र जिसी ब्याक भए । पाण्डे र अर्याल प्रतिष्पर्धा गरे । गण्डकीमा कांग्रेसका २७ सांसद छन । ती मध्ये पाण्डेले १८ जनाको मत पाए । अर्यालले ८ मत पाए भने एक मत बदर भयो ।
पुस १३ गते संसदीय दलको नेता बनेका पाण्डे तीन महिनापछि वैशाख १४ गते गण्डकीको मुख्यमन्त्री बनेका छन । मुख्यमन्त्री नियुक्त भएकै दिन पाण्डेले प्रदेशमा मन्त्रालयको संख्या नबढ्ने बताएका छन । कृष्णचन्द्र नेपाली नेतृत्वको अघिल्लो सरकारमा रहेका १२ वटा मन्त्रालय खगराज अधिकारीले ७ मा झारेका थिए । त्यही सात मन्त्रालय कायम रहँदा पाण्डेले सत्ता साझेदार माओवादी केन्द्र र उनलाई समर्थन दिएका स्वतन्त्र निर्वाचित ९पछि नेकपा एकीकृत समाजवादी० प्रवेश गरेका दीपक मनाङेको पनि चित्त बुझाउनुपर्ने हुन्छ ।
माओवादीले यहाँ तीनवटा मन्त्रालयमा दाबी गरिरहेको छ, जबकी उसले खगराज अधिकारी नेतृत्वको सरकारमा दुइवटा मन्त्रालय लिएको थियो ।मनाङे तत्कालै मन्त्री बन्ने सम्भावना छैन । माओवादीलाई अघिल्लै सरकारमा पाएका दुइवटा मन्त्रालय मात्रै दिने रणनीतिमा कांग्रेस हुनेछ । आफ्नो रणनीतिमा सफल भएको खण्डमा कांग्रेससँग मुख्यमन्त्री बाहेक चार मन्त्रालय भागमा पर्छन ।
त्यही चारवटा मन्त्रालयमा कांग्रेसका बाँकी २६ जना सांसदको आँखा छ । भूगोल देखि लैगिक, साम्प्रदायिक सन्तुलन मिलाउने चुनौती पनि पाण्डेलाई छ । त्यसमाथि अर्को चुनौती हो, इतर गुट ।
संसदीय दलको नेतामा भिड्दै गर्दा त्यतिबेलाको हिसाबमा संस्थापनसँग १४ र इतर समूहसँग १३ मत रहेको आँकलन गरिएको थियो । तर, पाण्डेले चारमत थपे । फरक समूहबाट आएको मतलाई सम्बोधन गर्न पनि उनीहरुलाई मन्त्री बनाउनुपर्ने अर्को चुनौती छ ।
शुक्रबार मुख्यमन्त्रीको सपथ लिँदैगर्दा कांग्रेसबाट को मन्त्री बन्लान भन्ने आम चासोको विषय बनेको छ । यसै सन्दर्भमा मन्त्रीको लागि दबाब दिन कांग्रेसभित्रका गुट सक्रिय बनेका छन । बिहिबार साँझ नै इतर समूहका आठ जनाको छुट्टै भेला बसेको छ । यो समूहबाट संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेका अर्याल देखि महेन्द्रध्वज जिसी, डिल्लीराम सुवेदी, कल्पना अर्याल तिवारी, प्रकाश बराल मन्त्री बन्ने लाइनमा छन ।
सांसद बराललाई कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्माले नै मन्त्री बनाउन दबाब दिएका छन । एक सांसदका अनुसार कांग्रेसको भागमा पर्नेमध्येका दुइवटा मन्त्रालयमा यो समूहले दाबी गर्नेछ । सम्भव भएसम्म शुक्रबार मुख्यमन्त्रीले सपथ लिँदैगर्दा यो समूहले आफ्नो एकजना मन्त्री पनि पठाउने बारेमा सहमति गर्नेछ ।
संस्थापन समूहको भेला भने शुक्रबार बिहान राखिएको छ । यो समूहबाट पनि मन्त्रीका आाकांक्षीको लर्को छ । लमजुङका टकराज गुरुङदेखि कास्कीका विन्दुकुमार थापा, सरस्वती गुरुङ, बागलुङका दीपेन्द्रबहादुर थापा, जीत शेरचनलगायत यो समूहबाट मन्त्रीका आकांक्षी छन ।
यी दुवै समूहमा भने तीनजना सांसदहरुलाई बोलाइएको छैन । मुस्ताङका दुई सांसद र पर्वतका रेखा गुरुङलाई दुवै समूहले छलफलमा बोलाएका छैनन । इतर समूहले आफ्नो पक्षमा भनेतापनि संसदीय दलमा यी सांसदहरुले पाण्डेलाई मत दिएका थिए । कांग्रेसका नेता रोमी गौचनले संसदीय दलको चुनावमा सहयोग गरेको हुँदा रेखा गुरुङलाई मन्त्री बनाउन दबाब दिइरहेका छन ।





