नेपालमा योजना र कार्यक्रम पनि रमिता रमिताका आउँछन् । सरकारले खान पाएर अस्वस्थ भएकालाई व्यायामशाला भन्दा खान नपाएर स्वस्थ रहन नसकेका जनतालाई हेर्नुपर्छ । गरिब जनता गाँस, बास, कपासका आवश्यकता पूरा नभए दुखी छन् । उनीहरुले हातमुख जोर्नै दसतिर ज्युज्यु गर्नुपर्ने । ठुलाबढाका भलाद्मी सोखहरु सधैं अधुरा रहने । सरकारले ल्याउने विकासका नीतिमा गाउँले जनता कहिल्यै खुशी बन्न पाएनन् । गाउँका जनता सधैं धुलोमैलोमा रुमलिनु पर्ने । सरकारले उनीहरुको जीवन हेर्नै नसक्ने ? वर्तमानमा शहरीकरणले सबैलाई छोएको छ । वृद्धवृद्धाहरु गाउँमा टोलाउँदा युवावर्ग शहरमा रमाउने प्रवृत्ति बढ्दो छ । यहि अवस्थामा शहर बजारका मानिसमा मात्र लक्षित कार्यक्रम स्थानीय सरकारले सञ्चालन गर्ने गरेका छन् । अन्धकार रातमा काम गर्दा कैयौं किसानहरुका शरीर कमजोर भए । शहरका मानिसलाई रातमा हिंड्ने बाटो समेत उज्यालो चाहिन्छ । गाउँमा त्यो सुविधा कहाँ पाइन्छ । गाउँका जनताले हिंड्ने बाटो नपाएर दुख छ । स्वास्थ्यको नाम गाउँमा पुगेकै छैन । हाम्रो बिडम्बना शिक्षा, स्वास्थ्य, यातायात र अन्य सुबिधाहरुले पनि गाउँ जाने बाटो पाएनन् । दुखी जनता १÷२ दिन बजार आउँदा अनगिन्ती आश्चर्यका भाव संगाल्न पाउँछन् । यसलाई पनि राम्रै मान्नुपर्ला ।
गाउँ घरमा बिहान सबेरै उठ्यो । नुवाइधुवाई सन्ध्या बन्धन गर्यो । गाई भैसीको भकारो फालेपछि दूध दुहेर घाँसपात गर्यो । दैनिकजसो खेतबारीमा १५÷१६ घण्टा काम गर्यो । शरीर तन्दुरुस्त बन्छ । दिनभरि काम गरेपछि बेलुका निद्रा नपर्ने कुरै भएन । भोलिपल्ट शारीरिक स्फुर्ती कति हो कति, ब्रह्मा मुहुर्तमै निद्रा देवीले छोडी हाल्छिन । दुध, दहिको सोख पूरा हुने नै भयो । मोही, मकै, आटोपिठो, ढिडो र रोटी प्रसस्त पाइन्छ । उत्पादन र उपभोगको तालमेल मिलाउन सके ज्यानलाई भोजनले सधैं खुशी राख्न सकिन्छ । बिहानै बेलुकी भुँडी देवीलाई आवश्यक अनाज अर्पण गरेर मानिसहरुले भाग्यलाई सौभाग्य ठह¥याएका हुन्छन् । साहित्यकार भैरव अर्यालले भने झै हाम्रो जीवन ‘येन केन प्रकारेण उदरम् परिपुरयेत्’ अर्थात् जसरी हुन्छ भुँडी देवीलाई प्रसन्न तुल्याउन कसरत गर्नै पर्नेमा रहेको छ । भुँडीलाई खुशी बनाएपछि दिनरात शरीरको धर्म चल्छ । हरेक दिन बिहानदेखि साँझसम्मका दिनचर्याले मानिसहरुलाई निरोगी र पहलमान बनाउँछन् । यता शहरमा बस्ने जनतालाई शारीरिक सन्तुलन दिलाउन नयाँ नयाँ प्रविधिले साथ दिएका छन् । गरिब जनताले हातमुख जोर्न नपाउँदा शहरिया जीवनशैली अपनाएका मानिसलाई कुकुर प्यारो भएको छ । मानिसहरू गाउँमा खेती गर्ने जग्गा नपाएर विचलित हुन्छन् । यसको विपरीत शहरियाहरु कुकुर घुमाउने ठाउँ नपाएर दुखी बनेका छन् । त्यसैले त नेपाल नेपालको स्वरुप भन्दा भिन्न भएको छ । गाँउले जीवन चटक्कै भुलेका मानिसहरू शहर पसेर सयौं रोगका शिकार बनेका छन् ।
गाउँले दुख र धुलोमैलोले नछोएको स्थानीय सरकारलाई शहरमा सुख काटेका जनताका रोगले छोएको छ । त्यसैले त गाउँमा घाँस दाउरा गर्ने बाटो नहुँदा शहरले यावत् सुविधा पाएको छ । वर्तमानमा बढ्दो शहरीकरण र अव्यवस्थित बसोबासले मानिसहरूलाई नराम्रोसंग पिरोलेको छ । दिनभरिको उर्जाविहिन कर्ममा मग्न मानिसहरूलाई ज्यानको माया लाग्नु स्वभाविक रहन्छ । परन्तु अविच्छिन्न संघर्षको जीवन ज्युने मानिसहरुलाई यो सरल नै हो । अहिले बजारमा बसोबास गर्ने आम सर्वसाधारणहरुको साँझ बिहान १÷२ घण्टा हावा खाने, मर्निङ–इभिनिङ वाक गर्ने प्रवृत्ति बढ्दो छ । जानी नजानी फाइदा हुन्छ या हुँदैन पत्तो नभई अहिले हामीकहाँ देखासिकी गर्ने फेसन चलेको छ । जुन प्रयोजनका लागि खुल्ला व्यायामशाला निर्माण गरेर उदाहरणीय कार्य बागलुङ नगरपालिकाले गरेको छ । सरकारका रचनात्मक कामले जनतालाई सधैं खुशी राख्न सकूँन् भन्दै शुभकामना दिन चाहान्छु ।
नेपालका विभिन्न पालिकाहरुले देशैभरी डब्लुएचओ र आयुर्वेदालयको आर्थिक सहयोग र समन्वयमा खुल्ला व्यायामशाला निर्माण कार्यक्रम सञ्चालन गरेका छन् । यसरी पालिकाहरुले व्यायामशाला निर्माणको कसर गरिरहँदा बागलुङ नगरपालिकाले पनि यो कार्यक्रम ल्याउन निक्कै पहल गर्यो । अन्ततः आयुर्वेद विभागको समन्वयमा खुल्ला व्यायमशाला स्थापना गर्न सफल भयो । बागलुङका पर्यटकीय स्थलहरुमा कालिका भगवतीको दर्शन पश्चात् बाङ्गेचौर अदुवाबारी पुलमा पुगिन्छ । जहाँबाट कालीगण्डकीको निर्मल, निश्चल भावसंगै प्राकृतिक सौन्दर्यतासहित पुलको अवलोकन गर्न सकिन्छ । पुलको पुर्वी यात्रामा दायाँतर्फ निर्मित व्यायामशालाले प्रारम्भमा स्थानीयसहित आगन्तुकहरुको मन तान्यो । तर, अहिले त्यहीं स्थानले सहिद स्मृति पार्कको सुन्दरतामा बाधा पुर्याएको छ ।
धौलागिरी अञ्चलभित्र समेटिएका पर्यटकिय गन्तव्यमा पर्वतको सदरमुकाम कुस्माका बन्जी पुल, यान्त्रिक पुल, त्रिभुजाकार शैलीमा निर्मित कुस्मा–कैया, कैया–मुडिकुवा, मुडिकुवा–कुस्मा झोलुङ्गे पुल र गुप्तेश्वर गुफा, बागलुङ कालिका मन्दिर, बाङ्गेचौर÷अदुवाबारी झुलुङ्गे पुल, पन्चकोट, श्री रंगवेङ्कटेश मुक्तिनारायण मन्दिर, श्री श्रीधराचार्य शालग्राम संग्रहालय एवं तिरुपति बालाजीधाम (शालिग्राम संग्रहालय) कुँडुले फेदी र म्याग्दीको गलेश्वरहुँदै मुक्तिनाथ पुग्ने धार्मिक यात्रु एवं पर्यटकहरु यहाँ आउने गर्दछन् ।
बाह्रै महिना आन्तरिक र बाह्य पर्यटकहरुको उत्कृष्ट गन्तव्य बनेको यस क्षेत्रमा दैनिक हजारौंको संख्यामा पर्यटकहरुको उपस्थिति रहन्छ । बागलुङ नगरपालिकाको अघिल्लो स्थानीय सरकारले निर्माण सम्पन्न गरेको नेपालकै अग्लो झोलुङ्गे पुल गण्डकी गोल्डेन बृज (गण्डकी स्वर्णिम झुला) वर्तमानमा पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । पर्यटकको उल्लेख्य उपस्थितीलाई देखेर महत्वाकांक्षी बनेको पुर्व स्थानीय सरकारले पुलमा टिकटको व्यवस्था गरेर विवादित समेत बनेको थियो । वर्तमान स्थानीय सरकारले पुलकै नजिक खुल्ला व्यायामशाला बनाएर खुल्ला नै छोडेको छ । निर्माण कार्य सम्पन्न भई नसक्दै उद्घाटनको तयारीमा जुटेको नगरपालिकाले उद्घाटन गरि सक्दा व्यायामशाला अस्तव्यस्त बनेको छ । लाखौं रुपैयाँ लगानी रहेको सन्दर्भ सामाग्री र निर्माणकार्य उपयुक्त ढंगबाट सम्पन्न नहुँदै सर्वसाधारणलाई खुल्ला गर्नु नगरले गरेको खुल्ला विशेषताले युक्त खुल्ला व्यायामशाला भएर होला । अन्यथा पुर्व स्थानीय सरकारले शुल्कै उठाउने जमर्को गरेको ठाउँमा के यो सरकारले आफ्नै उपलब्धीलाई संरक्षण गर्न सक्दैन ? हामी जनता अन्धा छौं । देखेको बोल्न नसक्ने तर चुनावको बेलामा बोलेको बुझ्न सक्ने जनताले खबरदारी गर्न सके यस्तो अवस्था आउने थिएन होला । अञ्चल, जिल्ला र नगर सदरमुकाम समेत रहेको बागलुङमै यो अवस्था भएपछि कसरी अन्यत्रको विकासको परिकल्पना गर्ने ? जुनसुकै निकायको भए पनि सकारात्मक उपलब्धिलाई सर्वमान्य रुप दिन नसक्नु जनताबाट हुने फोहोरी राजनीतिको विकृत रुप हो । तर, सर्वसाधारण बिहानै बेलुकी मर्निङ र इभिनिङ वाक गर्ने ठाउँमा नै यत्तिका कमजोरी हुनु निन्दनीय नै मान्नुपर्छ । जस्का लागि निर्माण गरिएको हो उनैले सदुपयोग गर्न जानेनन् जनताको दोष छ । तर, संरक्षणका लागि उचित संयन्त्र निर्माण नगर्नु पालिकाको पनि कमजोरी रहन्छ ।
सर्वसाधारणलाई लक्षित गरेर निर्माण गरिएको व्यायामशालाले समुचित प्रयोगको अपेक्षा राख्छ । तर, सरकारले नागरिकको आलस्यता दुर गरी शारीरिक र मानसिक स्फुर्तीलाई बढावा दिने हेतुले संरचना तयार गरिए पनि संरचना क्षणिक बन्दा जनता दुखी छन् । जनताको विडम्बना जुन प्राप्तिले जनताको स्वास्थ्यमा हित गर्ला भनिएको थियो । त्यहि संरचनाले देशभर पालिकाको गरिमामा क्षयिकरणको भाषा एवं नकारात्मक सन्देश प्रवाह गरेको बुझिन्छ । नेपालको सन्दर्भमा अघिल्लो आर्थिक वर्षदेखि नै डब्लुएचओको आर्थिक सहयोग एवं आयुर्वेद औषधालयको समन्वयमा खुल्ला व्यायामशाला निर्माणको श्री गणेश गरिएको थियो । बागलुङमा पनि त्यही नीति अनुरुप करिब १५ प्रकारका व्यायामका साधनहरु निर्माण गरेर नगरपालिकाले खुल्ला व्यायमशाला स्थापना गरेको हो ।
झोलुङ्गे पुल, व्यायामशाला, कालीगण्डकी वरपरको पर्यावरण र सहिद स्मृति पार्कको एकमुष्ट दृश्यावलोकन गर्न सकिने त्यस ठाउँमा सर्वसाधारणहरु बिहान बेलुका घुमफिरका लागि पुग्छन् । व्यायामशालामा दैनिक हजारौं पर्यटकहरू ओहोरदोहोर गर्ने स्थानमा निर्माण सम्पन्न भएको छ । तर पर्यटकहरुको मनमा स्थानीय सरकारप्रति वितृष्णा पैदा हुने अनुमान व्यायामशालाको वस्तुस्थितिले जनाएको छ । नहेर्नु देखिन्छ, हेर्नू पार्टपुर्जा भेट्न गाह्रो अवस्था सिर्जना भएको छ । पर्यटन प्रवर्द्धन गर्ने नीति लिएका तिनै तहका सरकारले समयमै आफ्ना पालिका भित्रका पर्यटकीय गन्तव्य चुन्नु पर्ने हुन्छ तर जिल्ला सदरमुकाममै अवस्थित सहिद पार्क र खुल्ला व्यायामशालाको यो दृश्यले पर्यटकलाई उर्जा होइन छिछिः गर्ने वातावरण उत्पन्न गराएका छन् ।
व्यायामका सामाग्रीहरु महिना दिन नहुँदै टुट्फुट हुनु, कति सामाग्रीहरु तत्कालै जिर्ण बन्नु, कति सामानको स्वरूप नै अस्तव्यस्त हुनु, व्यायाम सामाग्री नै हराउनु जस्ता कुराले सर्वसाधारणको लापरबाही र नगरपालिकाको गैह्र जिम्मेवारीपन बुझ्न सकिन्छ । राजनैतिक पराक्रमका लागि सहिदहरुका प्रतिमामा फुलमाला लगाउन र भाषण गर्न नेताहरु उद्दत हुन्छन् । संघिय र प्रादेशिक रुपमा बागलुङबाट प्रतिनिधित्व गर्न्ने नेताहरु दर्जन बढी हुँदा समेत सहिदहरुप्रती सम्मान गर्न नसक्नु ठूलो कमजोरी हो । जस्को बलिदानीले आमूल परिवर्तन र देशको यात्रा तय भएको छ । तिनै सहिदको पार्क (घर) सफा र स्वच्छ राख्न नसक्नुले बागलुङको परिचयमा आघात पुगेको छ । सहिद स्मृति पार्कको वस्तुस्थिति हेर्दा स्थानीय सरकारले स्मृति पार्क भनेर नाम राखे पनि विस्मृती पार्कका रुपमा हेरिएको आकलन गर्न सकिन्छ । पार्कमा यत्रतत्र छरिएका मिनरल वाटरका बोत्तल, मःमः, चाउमिन, चाउचाउ, आइसक्रिम र अन्य फलफुलका खोल र बोक्राहरुले पर्यटकलाई गिज्याउने गरेका छन् । त्यसमाथि शौचालयको दुर्गन्ध, नाली र आसपासका क्षेत्रमा देखिने फोहोरमैलाका कारण सर्वत्र चासोको विषय स्मृति पार्क बनेको छ । कतिपयले नगरपालिकाले बागलुङको प्रमुख पर्यटकीय गन्तव्य बनेको गण्डकी गोल्डेन बृजको आडमा खुल्ला व्यायामशाला खुल्ला रुपमै निर्माण गरेर आगन्तुक पर्यटकहरुलाई नै गिज्याउने बाटो बनाएको आरोप लगाएका छन् । उता निर्माण कार्य सम्पन्न गरेका नियामक निकाय एवं संघ संस्थाहरु व्यायामशालाको वस्तुस्थितिमा आमूल परिवर्तन भएर जिर्ण बनी सक्दा समेत उदासिन देखिएका छन् । यहीँ अवस्था रहिरहे सहिद पार्क र व्यायामशालाको भविष्य खुल्ला खर्कमा परिवर्तन हुनेछ ।
नेपालमा संघियताले समेटेका पालिकाहरुले राजस्वका नाममा गरिब जनतासंग महंगो शुल्क उठाउने गर्दछन् । निर्यातमा शुन्यता अनि आयातित सामनमा निर्भरता रहेको देशमा पालिकाहरुले जनताको रगत र पसिनाको मुल्यलाई आफ्नो मुख्य आयस्रोत बनाएका छन् । त्यही आम्दानीलाई पालिकाहरुले आफू खुशी उपभोग गर्दा जनता दुखी छन् । प्रजा सम्पन्न बने देश सम्पन्न हुन्छ भन्ने पुरानो उक्ति वर्तमानमा हराएको छ । जनता नै असन्तुष्ट रहेका कार्य सफल नहुने निश्चित प्रायः छ । तसर्थ स्थानीय सरकारले जनता सापेक्षित कार्य गर्नु अनिवार्य छ । नेपालमा जनताको अगाडि भ्रम छर्नका लागि महत्वाकांक्षी नाराहरु लगाउने प्रवृत्ति जल्दोबल्दो छ । सबै कार्यक्रम र सेवासुविधामा नाटकीय शैली अपनाउने पालिकाहरुले दीर्घकालीन नीति लिन सकेका छैनन् ।
भरसक आफ्नो कार्यकालमा एक दुईवटा कार्यक्रम सञ्चालन गर्यो । फुलमाला लगायो । ८/१० मिनेट सर्वसाधारण जम्मा गरेर भाषण ठोक्यो । सिधासाधा जनतालाई ताली पिट्न लगायो । सामाजिक संजालमा फोटाहरु पोष्ट्यायो । अनि हिंड्यो । नेताहरुले आफ्नो कार्यकाललाई अर्को चुनावी नारामा सिमित गराएका छन् । हुनुखानु केही छैन एकमुष्ट रकम छुट्याएर एउटा काम पुर्ण गर्ने प्रचलन नेपाली समाजमा रहेन, सधैभरी एउटै कामलाई भाग लगायो शीर्षककै पिच्छे बजेट छुट्यायो अनि रकम अपुग हुन्छ । काम पूर्ण हुँदैन । अन्ततः काम अस्तव्यस्त छोड्यो र अर्को कार्यकालको नारा बनायो । हो, नेताहरुका यी र यस्ता विशेषताले नै नेपाल बिग्रेको हो ।





