बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सँगै हुँदा मीठो , नहुँदा उछितो

सँगै हुँदा मीठो , नहुँदा उछितो


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८०, शुक्रबार

पोखरा/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउँदै गर्दा प्रदेशसभाको बिहीबारको छलफलमा निकै रोचक र घोचक सवालजवाफ भए ।

घोचपेच र खिचातानीको सुरुवात भने मतदानमा तटस्थ बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाटै सुरु हुन पुग्यो । मुख्यमन्त्री पाण्डेले वक्तव्य प्रस्तुत गर्दै विश्वासको मत मागेपछि त्यसमाथिको छलफल सुरु हुन पुग्यो ।

दलीय प्रतिनिधीत्वको हिसाबले सुरुमा नै बोल्न पुगे, राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ । खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री बनेका गुरुङ केन्द्रबाट राप्रपाले सरकारबाट हट्ने निर्णय गर्दा पनि प्रदेशमा भने समर्थन फिर्ता लिएनन । बरु, अधिकारी सरकार टिक्ने बेलासम्म मन्त्री नै बनिरहे । खगराज अधिकारीले विश्वासको मत माग्ने क्रममा ’नेशनल प्लयेर’ भनेर समर्थन गर्ने जनाएका गुरुङले बिहीबार पाण्डेले मत माग्दा भने ‘म्याच फिक्सिङ’ गरेको भनेर माओवादीलाई छेड हान्न पुगे ।

‘कुशल राजनीतिक खेलाडीको रुपमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकारले राम्रो काम गर्दै गर्दा कुनै राजनीतिक पार्टीले सत्ता केन्द्रित राजनीति गर्दा गोल हुन सकेन, गण्डकीमा म्याच फिक्सिङ भयो, अबको सरकारमाथि म्याच फिक्सिङ नगर्नुहोस हार्दिक शुभकामना,’ गुरुङले भने ।तर, विश्वासको मत लिने क्रममा राप्रपा भने उक्त प्रक्रियाको पक्ष विपक्षमा सहभागी भएन ।
राप्रपाका उनै गुरुङपछि बोल्ने पालो थियो, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानको ।

आफ्नो दलमाथि संघीयता विरोधी र प्रदेश संरचना खारेजीको एजेण्डा लिएर चुनावमा होमिएको सानो दलले आरोप लगाएपछि चुमानले त्यसको प्रतिवाद गरे ।

‘नेकपा माओवादी केन्द्र राजनीतिमा स्पष्ट, आफ्नो दर्शन, सिद्धान्त, विचार स्पष्ट भएको पार्टी हो । यसले जे गर्छ, दृढतापूर्वक निर्णय गर्छ । विषयमा कसैको खुसामतले आफ्नो मन फेरबदल गर्दैन । यो पार्टीको नीति अनुसार निर्णय अनुसार नै आफ्नो मत जाहेर गर्ने पार्टी हो,’ उनले भने,‘जसरी शंका उत्पन्न हुनेगरि भनियो, त्यो माओवादी पार्टीमा लागू हुँदैन, हिजो पनि भएन, भोलि पनि हुँदैन ।’

राप्रपातिरै संकेत गर्दै उनले फोहोरी राजनीति गरिरहेको आरोप पनि लगाए । आफूलाई सजिलो पार्न र गर्नका लागि अरुलाई आरोप लगाउने गरेको उनको भनाई छ ।

‘हुन त, कुरा के भन्दाखेरि, म के देख्दैछु भन्दा राजनीति फोहोर भयो भन्ने गरेका छन । हिजो राजनीतिमा आउँदा म फोहोर सफा गर्न राजनीतिमा छु भनेर मैले पनि भनेँ, यहाँहरु अधिकांशले पनि भन्नुभयो होला । तर, व्यवहारमा के देखिन्छ भन्दाखेरि व्यवहारमा जेजे हामीले गरिराखेका छौँ, आफूलाई सजिलो पार्न, आफैंले त्यही काम गर्न सजिलो पार्नका निम्ति त्यस्तै आरोप अर्कालाई लगाइदिने । त्यस्तो खालको फोहोरी राजनीति हुँदै आएको छ, यसबाट हामी बचेका छौँ, तपाइहरु पनि बच्नुहोला,’उनले भने ।

चुमानपछि प्रमुख प्रतिपक्षी दल एमालेका नेता खगराज अधिकारीले बोले । भर्खरै मुख्यमन्त्री गुमाएका अधिकारीको पहिलो निसानामा परे, सभामुख कृष्ण धिताल । सभामुख धितालले अधिकारीको नाम लिएर छलफलमा सहभागी हुन समय दिएका थिए ।

रोष्टममा पुग्नासाथ अधिकारीले भने,‘माननीय सभामुखज्यूले मलाई माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत सम्बन्धमा राख्नुभएको छलफलमा भाग लिन दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । यहीँबाट सच्याउन चाहान्छु, को त्यहाँ हुन्छ (प्रमुख प्रतिपक्षी बेञ्चतर्फ संकेत गर्दै) सभामुखलाई मन पर्छ, पर्दैन, त्यसमा धेरै जरुरी राख्न पर्दैन । म माननीय सदस्य मात्र होइन, संवैधानिक हैसियतले विपक्षी दलको नेता हो । त्यति भन्न पनि सभामुखज्यूले सक्नुभएन । हामी कस्तो परम्परा सुरु गर्दैछौँ, कस्तो संसदीय परम्परा सुरु गर्दैछौँ ?’

संविधानको रक्षाका लागि गठबन्धन बनाइएको भनिएको तर, संविधानको रक्षा नभएको उनले बताए । त्यसपछि उनले मुख्यमन्त्री पाण्डेलाई प्रश्न गरे । ‘माननीय मुख्यमन्त्रीज्यू तपाई संविधानको धारा १६८ (३) अनुसार हुनुपथ्र्यो, तपाईं २ मा नै गोलचक्कर काटिरहनुभयो, ३ अब खारेज गर्ने हो र ?’ उनले प्रश्न गरे ।

संविधानको पूर्ण पालनाका लागि उपधारा २ को सरकार ढलेपछि ३ मा जानुपर्ने उनको जिकिर रह्यो । सुदुरपश्चिमको नजिर देखाउँदै उनले भने,‘एउटै देश, एउटै संविधान, विश्वासको मत राजेन्द्रसिंह रावलले पाउनुभएन, कमलजी मुख्यमन्त्री हुनुभयो ३ बाट । आज तपाई २ बाट हुँदै हुनुहुन्छ । हामी आफ्नो पायक परेको व्याख्या गरेर संविधानमाथि परेड नखेलौँ, संविधानको संरक्षण यसरी हुँदैन ।’

माओवादीकै सहयोगमा १०५ दिन गण्डकीको मुख्यमन्त्री बनेका अधिकारी सबैभन्दा बढि माओवादीमाथि नै खनिए । माओवादीसँगको गठबन्धनबाट मुख्यमन्त्री बनेतापनि आलोपालोको कहिँकतै सहमति नभएको बताए । आलोपालो भन्नु नै अस्थिरताको कारक रहेको उनले बताए ।

यहाँसम्म कि तनहुँ १ को उपनिर्वाचनलाई देखाएर उनले माओवादीको हैसियतमाथि प्रश्न पनि उठाएन ।
चुमानप्रति इंगित गर्दै उनले भने, ‘यहाँ केही साथीले भन्नुभयो, हामी ढुक्कले आफ्नो विचारमा दृढतापूर्वक छौँ भन्नुभयो । मेरो लभ उतै परेको थियो, फ्याट्ट यता आइहालेँ भनेर प्रधानमन्त्री महोदयले भनेको सुनेको पनि छु । अनि त्यो अस्थिरता हो कि होइन, स्पष्ट हो कि होइन ? त्यसैले व्यवहारमा लचिलो हुन सकिन्छ, सिद्धान्त छाड्न सकिँदैन ।’

माओवादीले सिद्धान्त छाडेकै कारण जनताले पत्याउन छाडेको उनको तर्क छ ।‘सिद्धान्तै छाडेर, प्रत्यक्ष कार्यकारी पनि छाड्दै आएको छ, अनि यहाँ भट्याउने अर्कै । यस्ता भट्याउने कुरा जनताले पत्याउन छाडेको त थाहा पाउनु नै भयो । निकै जिताउँछौँ भन्नुभएको थियो, स्वर्णिम वाग्लेले जित्दियो तपाईको क्षेत्रमा, यस्तै अस्थिरताका कारणले हो, सिद्धान्त छाडेकाले हो । २÷२ महिनामा छाड्दै गए हामीलाई मान्छन त,’ अधिकारीले भने ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत माग्दै मंगलबार एमाले संसदीय दलका नेता अधिकारीलाई पत्र पनि पठाएका थिए । त्यसबारेमा जवाफ दिँदै अधिकारीले भने,‘सबैले भोट हालौँ भन्ने हो भने संविधानको रक्षाका लागि पनि विपक्षमा मत नहाली नहुने छ ।’जवाफ दिएका पाण्डेले सुरुमा नै संविधानको व्याख्या गरिएको कि अपव्याख्या भन्नेमा बुझाइको फरक परेको बताए । विश्वासको मत माग्दा चाहिँ अघिल्लो पटक अधिकारी मुख्यमन्त्री हुँदा पनि आफूलाई त्यसरी नै पत्र आएको बताए ।

‘उहाँले जे बाटो देखाउनुभयो, मैले त्यही गरेको हुँ, केन्द्रमा जे भएपनि प्रदेशमा एकैठाउउँमा उभिउँ भन्नुभएको हो, मैले पनि त्यही भनेको हुँ,’ पाण्डेले भने ।सबैले मत दिँदैमा प्रतिपक्षमा बस्न नसकिने भन्ने नरहेको उनको भनाइ छ । ०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारलाई स्मरण गर्न उनले सुझाव दिए । अहिलेको गठबन्धनलाई उनले कोर्ष करेक्सन भएको बताए । ‘म्याच फिक्सिङ त त्यो बेलामा भयो, जुन बेलामा चुनावमा भएको गठबन्धन भन्दा बाहिर गएर सरकार बन्यो, त्यतिबेला म्याच फिक्सिङ भएको हो । अहिले त कोर्ष करेक्सन भयो । डिरेल भएको कोर्ष करेक्सन भएको हो अहिले,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->