मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नेपालीलाई सस्तो ठुठीबारी बजार

नेपालीलाई सस्तो ठुठीबारी बजार


  • माधव शर्मा
  • बैशाख २४ २०८०, आइतबार

नेपाल कृषि प्रधान देश हो । यहाँ जडिबुटी उत्पादनदेखि, फलफुल, तरकारी, अन्नवाली र पशुपालनका कामहरु गरिन्छ । देशको उर्जाशिल जनशक्ति वैदेशिक रोजगारीका लागि दैनिक १५०० को हाराहारीमा विदेश पलायन भएका छन् । यसरी विदेशिएका गरिब जनताको रेमिट्यान्सले देश चलेको छ । यहाँ यो वा त्यो सरकारले दिनहुँ समृद्धिको नारा लगाइरहेका छन् । तर रातदिन काम गर्दा समेत छाना, माना र नानाका आधारभुत आवश्यकता पूरा गर्न नसक्ने जनशक्ति पनि अत्यधिक छ । त्यसो त यहाँका जनता सबै निरीह एवं दरिद्र भने छैनन् । यहाँ दैनिक रुपमा दिन दुई गुणा र रात चौगुणाका दरले धनसम्पत्ति कमाउने मानिसहरु पनि छन् । त्यसैगरी यहाँ आफ्ना परिवारको हातमुख जोड्न नसकेर आत्महत्या सम्मको प्रयास गर्ने अकिञ्चन जनता पनि छन् । यिनै दुखी जनताका बिचबाट नेपालमा खाएर विदेश चुठ्न जाने प्रभावशाली नेता, कार्यकर्ता र उद्योगपतीहरुको उपस्थिति पनि उल्लेख्य नै छ ।

नेपाल प्राकृतिक सौन्दर्यले भरिपुर्ण देश हो । यहाँ बसोबास गर्ने मानिसहरुमा अन्योन्याश्रीत सम्बन्ध त छदैछ । प्राणी जगतमा प्रकृती, मानव र वातावरण बिचको सम्बन्धले थप उर्जा थप्ने काम गरेका छन् । हिमाली भेगमा कृषि, जडिबुटी, फलफूल र पशुपालनका कार्यहरू गरिन्छ । पहाड पशुपालनलाई नै उपयुक्त भुमी हो । कृषि, नगदेबाली र अन्य स्थानीय उत्पादनले गर्दा पहाडी क्षेत्रका मानिसहरुलाई जीवन ज्युने आत्मविश्वास थपिएको छ । तराई अन्नको भण्डार हो । यहाँ थोरै समयको लगानी र पारिश्रमकले अन्नबाली उत्पादन गर्न सकिन्छ । नदि तटीय क्षेत्र भएकाले पाँगो माटोमा त्यहाँ जुनकुनै खेती गर्न सकिने कुरा स्पष्ट छ । त्यसमाथि खुल्ला सिमाना उपभोग्य वस्तुको सहज आपूर्ति र समथर भुभाग भएकाले सबै किसिमका कामहरुबाट मानिसहरु सन्तुष्ट हुने गरेका छन् ।

नेपाल पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको छ । पुर्वदेखि दक्षिणहुँदै पश्चिमको केही भुभाग तराई क्षेत्रले ओगटेको छ । त्यसभन्दा माथिल्लो भाग पहाडी इलाका हो भने बाह्रै महिना जसो हिउँ पर्ने उच्च हिमशृंखला भएको स्थान हिमाली क्षेत्र हो । यहाँ बसोबास गर्ने विभिन्न जातजाति भाषाभाषी, धर्म संस्कृती र सम्प्रदायका मानिसहरुमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना छ । विविधतामा एकता भएको हाम्रो देशमा विगतदेखि वर्तमानसम्म आउँदा धेरै परिवर्तन भए । कति राष्ट्रप्रेमी नागरिकहरुले जन्मभूमिको रक्षार्थ जीवनकै बलिदानी गरे । कति नेपालीहरुको नेपालको स्वाभिमान बचाइ राख्न रगत र पसिनाले यो भुमि सिञ्चित गरे । ब्रिटिशसंगको युद्ध, भारतिय विस्तारवाद र सिमा विवादका विविध विषय र परिवेशमा कति जनताले अस्तित्वको लडाइ लड्दा लड्दै आफू अपाङ्ग बनेको समेत पत्तो पाएनन् । जनताले राष्ट्रको हित र देशको स्वाभिमानलाई बचाइ राख्ने जमर्को विगतदेखि वर्तमानसम्म अविराम गरि रहे । तर, विडम्बना नेपालमा शासन गर्ने शासकहरुमा निर्दयीपनबाहेक जनताले अरु केही पाएका छैनन् ।

नेपाल भूमि जहाँ पू्र्खाहरुको पसिना र रगतले सिन्चित भएर वर्तमानको एक्काइसौं शताब्दीमा प्रवेश पायो । पहिलेका शासक एवं नेताहरुले आफू लडेर प्रजालाई लड्न र आफूलाई सहयोग सघाउन अपिल गर्थे । अहिलेका शासकहरुले जनतालाई लडाएर आफूले फाइदा लिने अवसर खोज्छन् । जनताका पिर व्यथालाई पैताला मुनि राखेर शासन गर्ने अहिलेका अन्र्तमुखी नेताहरूको शक्तिका कारण जनताले खुशीको श्वास फेर्न पाएका छैनन् । देशको समृद्धि त कहाँ हो कहाँ दैनिक उपभोग्य वस्तुको मुल्यले अठ्याएर जनता निशासिने अवस्थामा छन् । सरकार आफ्नो स्वार्थपुर्तिको बाटोमा लागेपछि देश आर्थिक संकटको भुमरीमा फस्छ । हो त्यहीं निराकार प्रकृतिको आर्थिक विचलनमा नेपाल फसेको छ । जहाँ जनताहरु कमजोर बनेका छन् भने सत्ता सम्पन्न शासकहरु प्रफुल्लित बनेको आभास हुन्छ ।

देशमा दैनिक जसो करोडौं रुपैयाँ रेमिट्यान्स भित्रिएपछि सम्पन्नताको दिशा समाउँला भनेर बसेको सरकार पछिल्लो समय निर्यातको तुलनामा आयातको अन्तर चुलिदै गएपछि गन्तव्यविहिन बनेको छ । संघिय संरचनामा तिनै तहका शासक (नेता) र कर्मचारीतन्त्रको व्ययभार धान्ने अवस्थामा सरकार छैन । आफ्नो आर्थिक कारोबारलाई सुदृढ पार्न फराकिलो कर (राजश्व)को दायरा बनाएको सरकारले उहीँ देशमा बसोबास गर्ने नागरिकहरुलाई समान आयस्रोतको प्रतिशत लिन नसक्ने कुरा यहाँनेर देखिएको छ । किनकी तराई भेगको खुला सिमानाका कारण लाखौंको चलखेल त्यस क्षेत्रमा हुन्छ नै, एकातर्फ मिनेट भरको यात्रामा बिक्री मुल्यमा आकाश पाताल अन्तर हुनु देशको दुखदायी स्थिती हो ।

नेपालको भूगोलमा करिब १७५१ किलोमीटर दुरीको खुला सिमाना भारतसँग जोडिएको छ । पारवहन सन्धी एवं व्यापार सम्झौता भएका ३५ ओटा नाकाको औचित्य कमजोर बन्दै गएको अवस्थामा छ । नेपालमा आयात र निर्यातलाई केन्द्रमा राखेर करिब ९÷१० ओटा नाका खुला राखेर आवागमन संचालन गरिएको छ भने अन्य नाकाहरु अवैधानिक बन्दै गएको कुरा स्पष्ट छ । सिमा सुरक्षाका लागि नेपाल र भारत दुवैतर्फ स्थापित स्वागत गेटहरुमा आआफ्ना देशका सशस्त्र सुरक्षा बल खटाइएको छ । जस्का कारण सीमाक्षेत्रमा बसोबास गर्ने जनताले सहजता पाएको घोषणा गरिएको छ ।

नेपालसंग सिमा जोडिएका तराईका २०÷२२ वटा जिल्लासहित बेलाबखत अन्य जिल्लाका मानिसहरु पनि वस्तु विनिमयका लागि भारतको उत्तरप्रदेशका धेरै बजारमा पुग्छन् । नेपाली बजारमा उपभोग्य वस्तुको मूल्य चर्को हुनु र सिमापारि भारतीय बजार पुग्दा बित्तिकै सस्तोमा सामान खरिद गर्न पाइने भएकाले नेपालका मानिसहरु दोस्रो बजारको यात्रामा निस्किनु स्वभाविक रहन्छ । नेपाल र भारत सरकार बिच व्यापार र पारवहन सम्झौतामा दुवै देशका जनताले जुनसुकै समयमा घरायसी सामान विनिमय गर्न पाउने व्यवस्था छ । तथापि सिमा क्षेत्रका मानिसहरुले दैनिक जसो भारतीय बजारबाट सस्तोमा सामान किनेर नेपाली बजारमा महंगो मुल्यमा बेच्ने गरेको स्पष्ट छ । उदाहरणको लागि नवलपरासी पश्चिमस्थित पालिनन्दन गाउँपालिका वडा नं. १ महेस्पुरको सिमानामा ठुठीबारी नाका सुक्ष्म रुपमा संचालनमा छ । त्यहाँ नेपाल भारतका जनताहरु स्वतन्त्र रुपमा उपभोग्य वस्तुको किनबेच गर्दछन् । मिनेटभरमा नेपालको सिमा अन्त्य गरेपछि भारतीय सिमा सुरक्षा बलको प्रवेशद्वारमा पुगिन्छ । एक दुईवटा वस्तुलाई मात्र आधार मानेर विश्लेषण गर्दा पनि नेपाली बजारभन्दा भारतीय बजार निक्कै सस्तो छ । नेपालको भूगोल कटेर भारतिय बजार टेकेको मिनेट भरमा नेपालमा रु. १७६÷– मा पाइने पेट्रोल रु. ३० रुपैयाँ सस्तोमा पाइन्छ ।

सरकारले दैनिक उपभोग्य वस्तु र अत्यावश्यक सामाग्रीलाई सर्वसुलभ दरमा बिक्रीवितरण गर्ने नीति लिएको बताउँदै आएको छ । संविधानका पानाहरुमा लेखिएका सबै नीति, विधि र प्रक्रिया अक्षरसः कार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिबद्ध रहेको सुन्नमा आउँछ । तर, नेपालका समग्र स्थान एवं ठुला बजारहरुमा ९५ देखि १०० रुपैयाँ सम्ममा किनबेच हुने चिनी सिमाक्षेत्रमा १५÷२० रुपैयाँ सस्तो भएर रू. ८० मा पाइन्छ । त्यसैगरी त्यहीं चिनी भारतिय बजार प्रवेशसंगै १६ रुपैयाँ सस्तो भएर भा. रू. ४० अर्थात् ने. रू. ६४ रुपैयाँमा किनबेच भएको पाइन्छ । यसरी तराई भेगका सिमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने जनतालाई भारतीय बजारले सहज बनाएको छ । तर, समग्र देशमा त्यो मूल्य र विनिमय प्रणाली नभएकाले पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने जनतालाई कठिनाइ हुने गरेको छ । देशका समग्र भुभागमा अत्यावश्यक सामानमा एउटै विनिमय दर कायम गर्न नसक्नु सरकारको कमजोरी हो । सिमाक्षेत्र खुला हुनुले नेपाली भुभागको क्षयिकरणसंगै भारतीय विस्तारवादको सुक्ष्मरुप पटकपटक उत्पन्न हुने गरेको कुरा विभिन्न कालखण्डमा सिर्जना हुने सिमा विवादले उद्घोष गरिरहेका छन् । भने, नेपालको आर्थिक समृद्धिमा मुख्य बाधक पनि खुला सिमाना नै बन्न पुगेको छ । भारतिय बजारको प्रवृत्ति र मूल्य हेर्दा गरिखाने लक्षित नेपाली जनतालाई हित भने अवस्य भएको छ । तर, आर्थिक समृद्धिका नारा चर्काएर सत्ता प्राप्तीको बाटो समाउने शासकहरुको दाँतमा ढुंगा भने अवस्य लाएको छ ।

नेपाल र भारतका बिचमा अनगिन्ती नाका भएर वस्तुहरु आयात र निर्यात हुन्छन् । राजस्व कार्यालयका कर्मचारी र प्रहरी प्रशासनका विषयमा विभिन्न समयमा उत्पन्न शुभाशुभ समाचारहरु जायज हुन भन्ने प्रमाण ठुठीबारी नाकाको चहलपहलले बताउँछ । दैनिक जसो हजारौं गाडीहरु दुवै देशका सिमा सुरक्षा वलको निगरानीमा ओहोरदोहोर गर्छन् । त्यसभित्र के कति भद्र भलाद्मीपन प्रस्तुत होलान् प्रायः सबै नेपाली जनताले अनुमान गर्ने कुरा रह्यो । त्यसमाथि दोस्रो बाटो भएर सामानको चोरी निकासी कति होला ? यसको अनुमान १० औंलाको सहायताबाट गर्न सकिदैन । सिमापार गरेर १२÷१३ लिटरको मोटरसाइकलको ट्याङ्की भरेर मात्र ल्याउँदा पनि करिब १ दिनको ज्याला उठ्छ भने स्वतन्त्र रुपमा ल्याउन पाइने सामानहरुको परिणामले फाइदा नहुने कुरै भएन । सरसर्ती हेर्दा सिमा क्षेत्रमा विनिमयको काम गर्न सक्ने मानिसहरुले महिनौं दिनको झन्झटिलो प्रक्रिया जागिर खानू पर्दैन । त्यसमाथि नाकाबन्दी, कोरोना महामारी र कालो बजारीमा यो व्यवसाय झनै मौलाउने देखिन्छ । समय समयमा बजारमा सिर्जना हुने कृतिम अभावले पनि खुल्ला सिमानाको फाइदा प्रशस्त रूपमा लिन्छ नै, यो धन्दा देशको विषम परिस्थितिमा झनै अवसर बन्ने गरेको कुरा नेपालमा छ ।

यसरी नेपाल र भारत बिचको खुला सिमाना र स्वतन्त्रपुर्वक ल्याउन पाइने सामानको व्यापारबाट जनतालाई केही हदसम्म फाइदा अवस्य भएको छ । सदियौंदेखि महंगीले बास बसेको नेपालको सिमानामै यति विधि सस्तो बजार पाउनु राम्रो कुरा हो । तर यो अवस्थाले देशको आर्थिक वृद्धिदरमा अस्वाभाविक विचलन आउने निश्चित छ । यी र यस्ता गतिविधिले देशमा आर्थिक संकट उत्पन्न हुँदैन भनेर परिकल्पना गर्नु गम्भीर भुल हुन्छ । सिमाक्षेत्रमा भएका यस्ता गतिविधिले राजस्व तिरेर ल्याइएका सामानहरुले बजार पाउदैनन् । व्यवसायी र व्यवसाय चौपट हुन्छन् । विचौलियाहरुको बोलवाला चल्छ । उपभोक्ताहरु दैनिक जसो क्रयबिक्रयमा झुक्किन्छन् । सामान खरिद गरेर कुनैपनि जनता सन्तुष्ट हुन सक्दैनन् । स्थानीय बजार भनेर सामान खरिद गर्ने प्रचनले सरकार व्यापार घाटामा जान्छ । आयात र निर्यात दुवै क्रियाकलापमा सरकारको आयस्रोत घट्दै जान्छ । तसर्थ सिमा विवादसंगै खुल्ला सिमानाका विविध समस्याहरु समाधान गरेर देशमा अमनचयन कायम गर्नु संघिय, प्रदेश र स्थानीय तिनै तहका सरकारको दायित्व रहन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->