विभिन्न अध्ययनको निष्कर्षलाई मान्ने हो भने गाँजा कुनै बेला नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड थियो । अध्ययनहरुका अनुसार, गाँजामाथिको प्रतिबन्ध यति भयावहक बन्यो कि यसले बढाएको गरिबी र अभावले देशमा दशक लामो हिंसात्मक विद्रोहलाई उभिने आधारभूमि खडा ग¥यो ।
पछिल्लो समय सबैको चासोको विषय बनेको छ, गाँजाको उत्पादन, व्यापार र प्रयोगलाई वैधानिकता दिने वा अवैध नै कायम राख्ने । आजको मितिसम्म विश्वका १५ वटा देशमा निश्चित मात्रामा निश्चित उमेर समुहले गाँजालाई मनोरञ्जनका लागि प्रयोग गर्न पाउने प्रावधान बनिसकेको छ । यता औषधीजन्य प्रयोजनका लागि त विश्वका ६५ भन्दा बढी देशहरुले सरकारी निगरानी र नियमनमा रहने गरी गाँजा खेतीलाई खुला गरिसकेको छ ।
सन् १९७३ अघिसम्म नेपालमा यसको उत्पादन, बिक्रीवितरण र प्रयोग सहज थियो । त्यसपछि एक्कासि कसरी नेपालमा यसलाई अवैधानिक ठहरियो ? यस पछाडिको राजनीति र प्रोपागाण्ड के के थिए ? यसबारे बुझ्न इतिहास खोतल्नु पर्ने हुन्छ ।
लामो समय गाँजाको इतिहासमा अनुसन्धानरतबार्ने वार्फले आफ्नो एक रिपोर्टमा लेखेका छन्, गाँजा हजारौं वर्ष पहिला मध्य एसियामा उत्पत्ति भएको विश्वास गरिन्छ, जुन भुभागहरु अहिले मंगोलिया र दक्षिण साइबेरियामा पर्दछन् ।यता साइबेरियामा जलेको गाँजाको बिउ मानव चिहानमा भेटिएको थियो, जुन ३००० बि.सि. पहिलाको अनुमान गरिएको थिया । चिनियाहरुले औषधीका रुपमा हजारौं वर्ष पहिला पनि यसको प्रयोग गरेको खोज अनुसन्धानले पत्ता लागेको थियो ।
पछि २००० बि.सि र १००० बि.सिको अन्तरालमा दक्षिण एसियामा गाँजा आइपुग्यो । छोटो समयमै यो भारत र नेपालमा प्रचुर मात्रामा प्रयोगमा आउन थालेको थियो । संस्कृतमा लेखिएको अथर्व वेदमा पनि यो कुरा वर्णन गरिएको छ कि पाँच महत्वपूर्ण वनस्पतिमध्ये गाँजा पनि एक हो । वेदका अनुसार यसले स्वतन्त्रता, खुसी र एकाग्रता दिन्छ । विभिन्न रोग लाग्दा मानिस र पशुपक्षीलाई गाँजाको पात, फूल र फल खुवाउने प्रचलन पहिले देखि नै नेपालमा थियो ।
त्यसताका फिरन्ते इन्डो युरोपियनहरु विभिन्न व्यापारका शिलशिलामा भारत आएका थिए । विस्तारै उनीहरुसँगै यो रसिया र युक्रेनसम्म पुग्यो । अफ्रिका, दक्षिण अमेरिका हुँदै १९ औं शताब्दीतिर यो उत्तर अमेरिकामा आइपुग्यो । लामो यात्रापछि मात्र २० औं शताब्दीको सुरुवातमा गाँजा अमेरिकामा आइपुगेको थियो ।
संयुक्त राष्ट्रसंघले सन् १९६१ मा ‘द सिंगल कन्मेशन अन नार्कोर्टिक ड्रग्स १९६१’ पारित ग¥यो । जसले गाँजालाई पनि अफिम सरहको कडा खालको लागुऔषध मान्दै यसको प्रतिबन्ध लगायोे । पछि अमेरिकाका राष्ट्रपति रिचार्ड निक्सनले सन् १९७१ ज्ुालाईमा ‘वार अन ड्रग्स’ घोषणा गरी लागुऔषध प्रयोग गर्नेलाई नम्बर वान शत्रुका रुपमा ठानी यसको नियन्त्रणमा ठूलै रणनीति अपनाएका थिए ।
हिप्पी संस्कृति, गाँजा र नेपालः
यता १९६० र १९७० को दशकमा स्वतन्त्रता र प्रेमको नारासहित हिप्पी युगको सुरुवात भएको थियो । युरोपबाट, टर्की, इरान, अफगानिस्तान, भारत हुँदै हिप्पीहरु नेपाल आइपुगेका थिए । रोचक कुरा त के थियो भने करिब ६ हजार माईलको यस यात्रा गर्न छुट्टै बसको समेत व्यवस्था गरिएको हुन्थ्यो । यस रुटमा पर्ने देशहरुमा गाँजाको राम्रो उत्पादन र बिक्री मात्र हुन्थेन, प्रयोग पनि बैध थियो । यता नेपालमा त्यस समय गाँजाको उत्पादन, बिक्री वितरण र प्रयोग खुला थियो । हिप्पीहरु आफुलाई फ्रिक्स भन्न रुचाउँथे । काठमाडौंमा त फ्रिक स्ट्रिट पनि बन्यो, जहाँ सजिलै गाँजा पाइन्थ्यो ।
नेपालमा धेरै हिप्पीहरु गाँजाकै लागि आउन थालेपछि भने सरकारले १९६१ मा नयाँ कानुन ल्यायो । गाँजा बिक्रीका लागि करिब ३० वटा पसलहरुलाई लाइसेन्स दिइयो र त्यहाँबाट कर उठाउन थालियो । जसमध्ये धेरै बसन्तपुरको फ्रिक स्ट्रिट अर्थात झोछें टोलमा थिए ।
यता हिप्पीहरु नेपाल आएसँगै विदेशी डलर त नेपालमा भित्रियो तर सँगै धेरै चुनौतीहरु पनि थपिए । नेपालीहरु अन्य खेती गर्न छाडेर गाँजा खेतीतिर आर्कषित हुँदै गए । खाद्यान्य बालीको उत्पादन घट्यो अनि हरेक खाद्य वस्तुमा महंगी बढ्यो । यसले नेपाली रुपैयाँ अवमुल्यन भयो, जुन चिन्ताको विषय थियो ।
त्यसबेला नेपाल सरकारले गाँजाबाट मात्रै वार्षिक १ लाख डलर कर उठाउँथ्यो । जुन कुरा अमेरिकालाई डाहाको विषय पनि थियो । यता हिप्पी ट्रेल हुँदै त्यसताका हजारौं अमेरिकी युवाहरु नेपालमा गाँजाकै लागि आउने गरेका थिए । कति त दुव्र्यसनमा फसेर यतै लामो समय बिताउने गर्थे । उनीहरुसँगै नेपाल भित्रिएको थियो ठूलो मात्रामा अमेरिकी डलर । यो अमेरिकाको लागि चिन्ताको विषय बन्यो । यता वार्षिक रुपमा टनका टन गाँजाहरु अमेरिका भित्रिन्थ्यो । यसलाई अवैधानिक बनाएपनि गैरकानुनी रुपमा ओसारपोसार गरिनेछ भन्ने अमेरिकालाई पहिल्यै ज्ञान थियो । त्यसमा लागेकाहरुलाई समात्ने, कडा सजाय दिने र पक्राउ गरिएको गाँजालाई औषधीजन्य कार्यमा प्रयोग गर्ने अमेरिकाको अर्को रणनीति थियो भन्ने धेरैको बुझाइ थियो ।
यी विविध कारणहरुले गर्दा अमेरिका नेपालमा गाँजा गैरकानुनी बनाउन चाहन्थ्यो । संयुक्त राष्ट्रसंघको १९६१ को सन्धीमा नेपालले पनि हस्ताक्षर गरोस् भन्ने अमेरिका चाहन्थ्यो । यसका लागि अमेरिकाको अनुरोधमा राष्ट्रसंघले नेपाललाई दबाब दियो । सुरुमा त नेपालले अटेर गर्यो किनकि नेपालले यसबाट राम्रै आम्दानी गर्दै आएको थियो । नेपालले आफ्नो नीतिनियम नमानेको भन्दै राष्ट्रसंघले नेपालको कडा आलोचना ग¥यो । अन्ततः नेपाललाई बाध्य बनाइयो र नेपालले १६ जुलाई, १९७३ मा यस सन्धिमा हस्ताक्षर ग¥यो । अनि नेपालमा बन्यो ‘लागूऔषध नियन्त्रण ऐन २०३३ ।’
जब १९७६ मा नेपालले सो सन्धीमा हस्ताक्षर ग¥यो, तब गाँजाको खेती, भण्डारण, सेवन र बिक्रीवितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो । यता ३० वटा पसललाई दिएको लाइसेन्स पनि खारेज गरियो । जसअनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र दुई हजारसम्म जरिवानाको सजाय तोकिएको थियो । पच्चीस वटा सम्म गाँजाको बोट रोप्नेलाई तिन महिनाको जेल सजाय र तीन हजारसम्मको जरिवाना तोकिएको थियो भने सो भन्दा बढी बोट रोप्नेलाई तीन वर्षसम्म जेल सजाय र पाँचदेखि पच्चीस हजारको जरिवाना निर्धारण गरिएको थियो ।
विभिन्न अध्ययनको निष्कर्षलाई मान्ने हो भने गाँजा कुनै बेला नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड थियो । अध्ययनहरुका अनुसार, गाँजामाथिको प्रतिबन्ध यति भयावहक बन्यो कि यसले बढाएको गरिबी र अभावले देशमा दशक लामो हिंसात्मक विद्रोहलाई उभिने आधारभूमि खडा ग¥यो ।
युएसएडको सहयोगमा सन् २००३ मा रोल्पा, रुकुम लगायतका पश्चिमी जिल्लाहरुमा केन्द्रित भएर गरिएको वेस्टर्न नेपाल कन्फ्लिक्ट एसेस्मेन्टमा भनिएको छ, ‘१९३० को दशकदेखि १९७० को दशकमा गाँजा खेती यो क्षेत्रका मानिसहरुका लागि आम्दानीको मुख्य स्रोत थियो र यसले उनीहरुलाई राम्रो जीवनस्तरको आधार दिएको थियो । त्यसताका विश्व बजारमा माग हुने उच्चकोटीको चरेस र गाँजा यो क्षेत्रबाट नै जान्थ्यो । माग पु¥याउन यति हम्मेहम्मे परेको थियो कि डाँडापाखामा आफैं उम्रिने गाँजा यहाँका किसानहरुले खेतबारीमा समेत लगाएका थिए । हातैहातमा पैसा आउँथ्यो । केटाकेटीले मिठोमसिनो आन पाउँथे । तर जब एक्कासि सन् १९७३ मा गाँजामाथि प्रतिबन्ध
लगाइयो, उनीहरुको जीवनस्तर नमज्जाले खस्कियो ।’
कति त दश वर्षे जनयुद्ध र गाँजाको प्रतिबन्ध बीचको सम्बन्ध गहिरो रहेको समेत बताउँछन् । जब गाँजालाई सरकारले अवैध घोषणा ग¥यो, यसले विशेषगरी पश्चिमी रुकुम, रोल्पा जस्ता पश्चिमी जिल्लाहरुका बासिन्दाको आर्थिक अवस्थामा ठूलो चुनौती थप्यो । त्यहीबेला नै जनयुद्ध सुरु भएको थियो । कति त घरमा बिहान बेलुका छाक टार्न पनि धौ धौ भएकाले बाध्यताले नै जंगल पसेका थिए भन्ने धेरैको बुझाइ समेत रहेको छ ।
नेपालमा गाँजाको प्रयोगको इतिहासः
नेपालमा गाँजाको महत्व र प्रयोग परम्परागत रुपमा नै चलिआएको मानिन्छ । उतिबेला बूढापाकाले शारीरिक पीडा र अनिद्रा हटाउन तथा एक्ला, अशक्त र दुःखद पलहरु बिताउन यसको प्रयोग गर्ने चलन थियो । भजनकिर्तनको आनन्द लिन, विभिन्न चाडपर्व मनाउन, जनावरहरु बिरामी हुँदा औषधी उपचार गर्न र साधुसन्तहरुलाई दानका रुपमा दिन पनि गाँजाकै प्रयोग गरिन्थ्यो र अझै पनि गरिन्छ ।
यसको उत्पतिमा आआफ्नै सिद्धान्तहरु रहे पनि यसलाई हिन्दुहरुले शिवको प्रसाद मानेर सेवन गर्ने चलन अझै पनि छ । अझै पनि शिवरात्री र फागु पूर्णिमा जस्ता पर्वहरुमा यसको सेवनमा भने कुनै रोक गरिएको छैन ।
ठुल्ठुला रोगहरुको उपचार यसबाट सम्भव हुने भएकाले ठुल्ठुला औषधी कम्पनीहरुको कमिसनको कारणले पनि यसलाई लामो समय अवैध बनाइएको भन्नेहरु धेरै छन् । सस्तो र सहज रुपमा पाइने गाँजा सेवनले चुरोट र रक्सीजन्य पदार्थहरु बिक्रि नहुने भएकाले चुरोट र रक्सी कम्पनीहरुले यसलाई अवैध बनाउन ठुलै राजनीतिक चलखेल गरेको धेरैको बुझाइ छ ।
गाँजालाई वैधानिक दिने विश्वका देशहरु :
नेपालमा गाँजा खेती, खरिद बिक्री र प्रयोग गैरकानुनी बनाउन दबाब दिने अमेरिकाले भने अहिले ११ प्रदेशमा मनोरञ्जनका लागि र ३४ प्रदेशमा औषधी उपचारका लागि गाँजा खुला गरिसकेको छ । विश्वमै गाँजालाई वैधानिक बनाउने पहिलो देश हो, उरुग्वे । अहिले उरुग्वेकै बाटो पछ्याउँदै विश्वका कैयौं देशहरुले विभिन्न मापदण्डहरु निर्धारण गरी यसलाई वैधानिकता दिएका छन् ।
सन् २०१९ मा मात्र अमेरिकाको कोलोराडो प्रदेशले वार्षिक रुपमा १ बिलियन डलर गाँजाबाटै आम्दानी कमाएको थियो । यता क्यानाडाको पछिल्लो तथ्यांक अनुसार त्यहाँका क्यानबिस उद्योगहरुले वार्षिक ८ दशमलब १६ मिलियन डलर देशको अर्थतन्त्रमा टेवा पु¥याएको देखाउँछ ।
गाँजाको उर्भर भूमि नेपालः
भनिन्छ, नेपालको जमिन गाँजा उत्पादनका लागि एकदमै उपयुक्त छ । यता नेपालको मध्यपश्चिम पहाडमा यसले दाउराको आपूर्ति समेत गर्छ । यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ । गाँजाको रेसाबाट कपडा, झोला र पातबाट उच्च कोटीको प्रांगारिक मल समेत बनाइन्छ ।
गाँजा – ब्लाक गोल्ड :
नेपालमा पनि कुनै समय परम्परागत रुपमै गाँजाबाट बनाइएको आयुर्वेदिक औषधीहरु प्रयोग गरिन्थ्यो । आयुर्वेदमा गाँजाको विभिन्न औषधीजन्य महत्वलाई आधार मानी यसको ४५ वटा भन्दा बढी नामहरु समेत दिइएको थियो । टि.बी, कुष्टरोग, एचआइभी, अल्जाइमर, टिटानस, अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, लगायत विभिन्न समस्यामा प्रयोग हुने गरेको सिंहदरबार बैद्यखानाको अभिलेखमा अझै पनि भेटिन्छन् । यता सुत्केरी व्यथा लागेका महिलाहरुलाई त्यो पीडा भुलाउन गाँजा दिइन्थ्यो भने गाँजाकै तेलले मालिस समेत गरिन्थ्यो ।
गाँजाको बिउँमा विशेष प्रोटिन तत्व समेत पाइन्छ । अध्ययनले बताउँछ, आमाले जन्मिएको बच्चालाई पहिलोपटक स्तनपान गर्दा दुधका जुन प्रतिरोधात्मक तत्व हुन्छ, त्यही तत्व गाँजामा समेत हुन्छ ।
यता भविष्यमा इन्धन अभाव जस्तो चुनौतीपूर्ण परिस्थितिमा गाँजाको बिउँबाट बायोडिजेल र इथ्यानोल निकालेर इन्धकका रुपमा प्रयोग गर्न सकिने विभिन्न अध्ययनहरुले देखाएको छ । यो वातावरणमैत्री त हुनेनैछ, सँगै यसले जलवायु परिवर्तन नियन्त्रणमा ठुलो टेवा पु¥याउनेमा वातावरणविदहरुको बुझाइ छ ।
आफ्नै देशमा रहेको हिरालाई नचिनेर कोइलाको खोजीमा भौतारिरहेको त छैन कतै नेपाल सरकार ? अमेरिका र युएनको लहैलहैमा लागेर कुनै समय प्रतिबन्ध लगाएको गाँजाको वैधानिकताको पक्ष र विपक्षमा चर्चा र बहस भइरहन्छन् ।
कति त वैध बनाएर नसामा रल्लेर बरालिदै युवाहरु हिड्छन् भनेर विपक्षमै उभिएका छन् । कति भने यसको फाइदाका विविध पक्षहरुलाई नियालेर नेपालमा सरकारको निगरानीमा व्यवसायिक रुपमा गाँजा खेती गरेर विश्व बजारमा गुणस्तर गाँजा विक्री गर्नुपर्छ भन्ने विचार राख्छन् । हुन त २० वर्षभन्दा कम उमेरका बालबालिकाले यसको सेवन गर्दा मानसिक वृद्धिमा ह्रास आउने, स्मरण शक्ति कमजोर हुने र विभिन्न नकरात्मक असरहरु देखिन सक्छन् । तर त्यसभन्दा बढी उमेरका मानिसहरुले निश्चित मात्रामा मनोरञ्जन प्रयोजनका लागि प्रयोग गर्दा पनि कुनै असरहरु नदेखिने विभिन्न अध्ययनहरुले देखाएका छन् । त्यसैले नेपाल सरकारले पनि निश्चित मात्रामा निश्चित मात्रामा प्रयोजनाका खुला गर्ने प्रावधान ल्याउन सक्छ ।
अन्त्यमा,
समृद्धिको लक्ष्य बोकेर हिँडिरहेको नेपाल सरकारलाई गाँजाको व्यवसायिक खेतीले ठूलो सघाउ पुग्ने धेरैको धारणा छ ।





