बागलुङ/ जिल्लामा हरेक बर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशत महिलाले मात्रै गर्भावस्थामा नियमित आईरन चक्की सेवन गर्छन् । ४७ प्रतिशत गर्भवती महिलाले अझै पनि नियमित आइरन चक्की प्रयोग नगरेको पाईएको छ ।
गर्भावस्था र सुत्केरी अबस्थामा रक्तअल्पताबाट जोगाउन स्वास्थ्यकर्मीले आइरन चक्कीको प्रयोग गर्न सुझाउने गरेका छन् । गर्भ जाँचको लागि स्वास्थ्य संस्थामा पुग्नेहरुमध्ये अधिकांशले नियमित आइरन चक्कीको प्रयोग गरेको भएपनि अधिकांश गर्भवती समय घर्कीपछि मात्रै आइरन चक्की खान स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।
जनचेतनाको अभाव, हेलचक्राईं र कतिपय परम्परागत सोँचका कारणले सबै गर्भवतीले आइरन चक्कीको प्रयोग नगर्ने गरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए । ‘यो हेलचक्राईं हो, स्वास्थ्यकर्मी र स्वयंसेविकाले पटक पटक सुझाउँदा समेत गर्भवतीले आइरन चक्कीको प्रयोग गर्नुहुन्न’ उनले भने ।
आइरन चक्की मात्रै होईन नियमित गर्भपरीक्षण गर्ने, भिटामिन ‘ए’ खानेहरुको संख्या पनि कमी छ । ४८ प्रतिशत गर्भवतीले भिटामिन ‘ए’को प्रयोग गर्ने गरेको र ५८ प्रतिशतले मात्रै नियमित स्वास्थ्य संस्थामा पुगेर चार पटकसम्म गर्भजाँच गर्ने गरेको तथ्यांक छ ।
‘विश्व स्वास्थ्य संगठनले गर्भावस्थामा आठ पटक गर्भजाँच गर्नुपर्ने प्रोटोकल बनाएको छ, तर चार पटक जाँच गराउनेको संख्या नै कम छ’ शर्माले भने ‘गलकोटमा सबैभन्दा धेरै २४ र ढोरपाटनमा सबैभन्दा कम ५ प्रतिशत गर्भवतीले आठ पटक जाँच गराएका छन् ।’
गर्भावस्थामा मात्रै होईन प्रसुती अबस्थामा समेत गर्नुपर्ने नियमित जाँच नहुने गरेको छ । सुत्केरी अबस्थामा आमा र बच्चाको ज्यान गर्भावस्थामा भन्दा बढी जोखिममा हुन्छ । तर, प्रोटोकल अनुसार सुत्केरी अबस्थामा पनि गर्नुपर्ने जाँचहरु नहुने गरेको तथ्यांक छ । बागलुङ जिल्लाभर सुत्केरी अबस्थामा जाँच गर्नेको संख्या ३० प्रतिशत मात्रै छ ।
‘बच्चा जन्मेको २४ घण्टामा पहिलो पटक, तीन दिन र सात दिनमा एक÷एक पटक तथा ४५ दिन सम्ममा एक पटक आमा र बच्चाको स्वास्थ्य जाँच गर्नै पर्छ, तर, पहिलो २४ घण्टाभन्दा पछि सुत्केरी एकै पटक ४५ दिनमा स्वास्थ्य संस्थामा पुग्ने धेरै छन्’ धौलागिरी अस्पताल बागलुङका स्त्रीरोग बिषेशज्ञ डा. विजय ओझाले भने ‘बच्चा जन्मेपछि बच्चाको ख्याल गर्ने परिवारले आमाको वास्तै गर्दैनन्, यस्तो बेला रक्तश्राव हुने, पाठेघर नखुम्चिने समस्या आउन सक्छन्, समस्या जटिल भएपछि मात्रै अस्पताल आउने प्रचलन छ ।’
बागलुङका अधिकांश स्थानीय तहले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यको क्षेत्रमा कयौं राम्रा कामहरु गरिरहेका छन् । स्थानीय तह, स्वास्थ्य कार्यालय, अस्पताल र प्रदेश तथा संघीय सरकारका कार्यक्रमहरु हुँदा हुँदै पनि नागरिक तहमा रहेको हेलचक्राईं गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्यमा समस्या आउने कारण बन्ने गरेका छन् ।
बागलुङमा सत प्रतिशत संस्थागत सुत्केरी हुन्छन् । तर स्वास्थ्यका मापदण्ड पालनमा कयौं चुनौती रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । परिवार नियोजन, सुरक्षीत मातृत्व तथा नवजात शिशुको स्वास्थ्यको बिषयमा सरोकारवाला सबै गम्भिर हुनुपर्ने बताउँछन् ।
बुद्ध हेल्थ प्रोमोसन एजुकेशनल सेन्टर, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य कार्यालय बागलुङको संयुक्त आयोजनामा आयोजित पत्रकार अन्तरक्रियामा सहभागीले स्वास्थ्य क्षेत्रमा हेलचक्राईं गम्भिर बिषय भएको बताए ।





