मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

धर्म परिवर्तनको कारक छुवाछूत प्रथा

धर्म परिवर्तनको कारक छुवाछूत प्रथा


  • माधव चापागाई
  • बैशाख ३१ २०८०, आइतबार

नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक सम्पदाले युक्त देश हो । यहाँ बसोबास गर्ने मानिसहरूका आ–आफ्नै रितिरिवाज र परम्पराहरु छन् । एक अर्कामा परिपुरक जीवनशैली अवलम्बन गर्ने नेपालीहरुमा सामाजिक एकता र सद्भावका अनेकौं भावहरु स्फुरित हुन्छन् । चार जात छत्तीस वर्णको फुलबारी नेपालमा असंख्य जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुले आश्रय लिएका छन् । वर्तमानमा विदेशीहरुको उत्कृष्ट गन्तव्य बन्न सफल यस भुमिलाई स्वर्गीय भूमि पनि भनिन्छ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण यहीँ भुमिलाई जातीय छिद्रताको रोगले नराम्रोसंग गाँजेको छ ।

संसारका प्राणी जगतमा उत्तम र विवेकशील प्राणी मानव हो । त्यहि मानव जातिभित्र महिला र पुरुषको भेद शोभनीय नै थियो । तर यिनै दुई भेदलाई पनि विभिन्न वर्गमा विभाजन गरि जातियताको नाम दिनु नै समाज विखण्डन गर्नु हो । तत्कालीन ऋषिमहर्षिहरुले नेतृत्व गरेको समाजमा यो नै असान्दर्भिक निर्णय थियो । हुनतः जातीय रूपमा भिन्न समुदायलाई सरकारले आरक्षण र अधिक सामाजिक सुरक्षा भत्ता दिएर उल्लेख्य मात्रामा भरणपोषण गरेको छ । तथापि जातका नाममा वैमनस्यता सिर्जना हुनु दुःखद छ । हाम्रो हिन्दु समाजमा मानवीय सत् धर्मै बिर्सिएर हिन्दु हिन्दुहरुका बिच विभेद गरिनु कमजोरी हो । सबै नेपाली नागरिकहरु समान हुनुपर्छ ।

उनीहरु सबैलाई सम्मानपुर्वक बाँच्न पाउने अधिकार छ भनेर संविधानतः उल्लेख भए पनि यो प्रथाले समाजमा नराम्रोसंग जरा गाडेको छ । सामाजिक विखण्डन र धर्म परिवर्तनको कारक छुवाछूत प्रथा हो । त्यसैले यो प्रथाको अन्त्य हुनु अनिवार्य छ । छुवाछूत निवारणका लागि नेपालको कानुनले प्रतिबन्ध लगाउँदै आएता पनि समाजमा भेदभावका विभिन्न स्वरूपहरू देखिनुले देशमा क्षति हुने निश्चित छ । मानिसहरूलाई जात, धर्म, पेसा र लिङ्गका आधारमा गरिने भिन्न व्यवहारलाई छुवाछूत भनिन्छ । नेपाली समाजमा दलित वर्गहरुप्रति अनियन्त्रित रुपमा विभेद गरिदै आइएको छ । यसरी एक मानिसले अर्को मानिसलाई निशेध गरेर मानवेत्तर व्यवहार गर्नु निन्दनीय छ । हाम्रो समाजमा छुवाछूतलाई प्रश्रय दिने कुनै एक समुह वा वर्ग छैनन् । क्षेत्री बाहुन लगायत गैह्र दलितहरु नै यो विभेदका प्रमुख तत्व हुन् । बाहुन जातिले म भिन्न हुँ, शुद्ध छु, भनेर बाहिर बस्नुलाई स्वभाविक ठानौं । किन कि उनीहरुले धर्मको माला लगाएका छन् ।

समाधान यो गरौं कि गैरबाहुन र गैरदलितहरु स्वयंले उत्पन्न गरेको विभेदलाई कसरी साम्य पार्ने ? बाहिर मनपरि खाने, गर्न हुने नहुने सबै कर्म गर्ने भित्र चोखो बन्ने प्रवृत्ति परित्याग गरौं । वास्तवमा पण्डितहरुले परम्परादेखि आफ्नो रोजीरोटीका लागि शुद्ध रुप धारण गर्ने गरेका हुन् । उनीहरुलाई विभेदको कारक यो अपरिष्कृत समाजले बनाएको हो । अन्यथा गैरब्राह्मणले हस्तक्षेप नगरेमा ब्राह्मण स्वतन्त्र हुन्छन् । विभेदको नामोनिशान रहँदैन । जुन व्यक्तिले लौकिक र व्यवहारिक जीवनका शुभाशुभ कर्ममा साथ दिन्छ । उहीँ व्यक्तिलाई कलंकको टीका नलगाउ, ब्राह्मणले कर्म गर्ने र गराउने हो । उस्ले रुप, वर्ण र गोत्रमा भेद गर्दैन । गैरबाहुन र अन्य जातहरुले ब्राह्मणलाई विभेद गर्ने आशंकामा पण्डितहरुले फरक कर्म गर्ने गरेका हुन् ।

अन्यथा बाहुनलाई स्वतन्त्र बनाउ सामाजिक परिपाटी शुद्ध बन्छ । सुनारले सुनको काम गर्नु, सुन पिटेर जीवन चलाउनु, सिकर्मीले फर्निचरका सामान बनाउनु, सुचिकारले कपडा सिलाएर मानिसको इज्जत ढाक्नु÷राख्नु र डकर्मीले ढुंगो माटो, गिटी बालुवासंग खेलेर मानिसलाई आश्रय दिनु, जस्तै पण्डितहरुले पनि कठोर मिहिनेतले विद्या आर्जन गर्दछन् । समाज सापेक्षित मानवीय जीवन र व्यवहारिक पक्षलाई सघाउनु नै कर्तव्य ठान्छन् । पण्डितहरुले यहाँ भेदका लागि विभेद गरेका होइनन् । विभेद त केवल स्वार्थपूर्तिका लागि गैह्र जातीय समुदायबाट भएको छ । दलितहरु स्वयंले दलित नहुनका लागि भन्दा पनि भत्ता र आरक्षणका लागि परिचय लिएका छन् । अन्यथा शुद्ध नै हुन्छन् । सरकारले दलित भनेर शुद्ध भाषामा छुवाछूत र विभेद निम्त्याएको छ । त्यो मर्यादित हुने ? म सानो जात हुँ, भनेर दलितको भत्ता लिएका व्यक्तिलाई दलित भन्न नमिल्ने हुँदैन । यदि सबैलाई शुद्ध बनाउन पण्डित योग्य हो भने पण्डितलाई पण्डित नै मानौं गैरबाहुन, क्षेत्री र दलितहरूलाई सुधारौं छुवाछूत हट्छ । गैरजातीय मानिसहरू जस्तै बाहुन, क्षेत्री र दलित स्वयंले आफ्नो सापेक्षतामा छुवाछूतको बढावा दिएका छन् ।

हाम्रो देशमा वि.सं. २०२० मा जारी भएको मुलुकी ऐनले छुवाछूत प्रथा अन्त्यको घोषणा गरेको थियो । त्यसपछिका तमाम राजनीतिक परिवर्तनले पनि नेपाललाई छुवाछूत नसुहाउने बताए । २०४७ सालको नेपालको संविधान, २०६३ को अन्तरिम संविधान र २०७२ को नेपालको संविधानले समेत यो मुद्दालाई दृष्टिगत गरेका छन् ।

तर पनि सरकारले लक्षित समुदायलाई माथी उठाउन सकिरहेको छैन । छुवाछूतलाई प्रश्रय दिने धार्मिक अन्धविश्वास, कुरिति, आर्थिक असम्पन्नता र सामन्ती सोचलाई छुवाछूतका कारक तत्व मानेको सरकारले दलित समुदायलाई सामाजिक सुरक्षा भत्ता, निशुल्क शिक्षासहित शिक्षित वर्गलाई आरक्षणसमेत प्रदान ग¥यो । छुवाछूतजन्य क्रियाकलापलाई मानवीय अस्तित्व माथीको प्रहार, गैरकानुनी र अमानवीय व्यवहारका रूपमा सामाजिक समस्या मानेर नीति कार्यक्रम सञ्चालन गर्यो । यसरी दलित समुदायलाई स्तर वृद्धि गर्दा समेत सामाजिक सोच परिवर्तन नहुनूले समाज झनै दुर्घटनामा पर्ने देखिन्छ ।

किनकि नेपालीहरुले जबसम्म मानवीय समानता अनुभव गर्दैनन् र एक अर्कामा सहअस्तित्व र सहकार्यको भावना जागृत गर्दैनन् । तबसम्म अन्तर धर्मको बाहुल्यता पनि बढ्ने हुन्छ । नेपालको हकमा छुवाछुतलाई अझै केही समय यही रुपमा स्थापित ग¥यौँ भने, नेपाल क्रिस्चियनहरुको क्रिडास्थल बन्ने छ । यसले गम्भीर सामाजिक असन्तोष र विद्रोह निम्त्याउन सक्छ र सामाजिक अखण्डता तोड्छ । शिक्षित व्यक्तिहरू यो संकीर्ण सोच र दोषपूर्ण दृष्टिकोणका विरुद्ध छन् । युवापुस्ताले उच्च जाति र तल्लो जातको बिचको खाडललाई घटाउनु पर्दछ । अधिकारकर्मी, सामाजिक अभियन्ता र विशेषतः समाजमा गैरबाहुन र गैरदलितहरुले छुवाछूतलाई प्रशय दिने कार्यलाई न्यूनीकरण गर्नुपर्दछ । भने, बाहुन जातिभित्रका विद्वान पण्डित वर्गहरुले सबै मानिसहरूमा समान दृष्टि दिनुपर्ने हुन्छ । यदि यो विषयमा हामीहरुले समभाव जागृत गराउन नसकेमा दलित हिन्दुहरु धर्म परिवर्तनको बाटो रोज्ने छन् । फलस्वरूप नेपालमा अनगिन्ती विसङ्गतिका भाव देखिने छन् ।

यसर्थ हामीहरुले सामाजिक सद्भाव र समानताका लागि एकजुट हुनुका साथै सामाजिक कुरिती, अन्धविश्वास र कुप्रथाहरुलाई हटाएर अघि बढ्नु पर्दछ । छुवाछूतले दलित समुदायका मानिसहरुलाई समान सहभागिताबाट वञ्चित गराइएको छ । वर्तमानमा उक्त समुदायका मानिसहरुमा अपमान र निराशाका भावहरु पैदा भएका छन् । हिन्दु हिन्दुबीचको छोइछिटोले गर्दा स्वधर्मको विरोधमा कथित तल्लो जातिका मानिसहरुले विद्रोह स्वरुप इसाई धर्मको अनुशरण गरिरहेका छन् ।

सामाजिक र आर्थिक प्रगतिमा बाधा उत्पन्न भएको छ । समाजमा विभिन्न धार्मिक झुन्ड, गुट उपगुट निर्माण भएका छन् । सरकारका कामकार्यमा पनि असहजता सिर्जना गरि विभिन्न स्वरूप र नामका आन्दोलन, शत्रुताको भावना र सामाजिक मूल्य मान्यतामा विग्रह निम्त्याइएको छ । राष्ट्रिय एकतालाई धार्मिक र भौगोलिक विभाजनले कमजोर बनाउँछ । नेपालमा कहिले संघीयताका नाममा त कहिले जातीय राज्यका नाममा आन्दोलन चर्काइन्छ । त्यस किसिमका मानवधर्म विरोधी कार्यहरूले राजनैतिक नियतलाई त फाइदा होला तर मानवीय स्वाभिमानमा ठेस पु¥याउँछ । त्यसैले राष्ट्रको उन्नतिका लागि अन्धविश्वासले पुर्ण छुवाछूत, छाउपडी, दाइजो र बोक्सी प्रथाको अन्त्य हुनु जरुरी छ ।

हाम्रो समाजमा व्याप्त यी विभिन्न कुप्रथाहरुको निराकरणका लागि सकारात्मक सामाजिक चेतनाको अभिवृद्धि गराउनु पर्छ । छुवाछूत र यस्ता अमानवीय कार्यबाट उत्पन्न समस्याका बारेमा आम सर्वसाधारणमा स्पष्ट जानकारी दिनु पर्दछ । मनस्थितिमै चोट पु¥याउने यस्ता अस्वभाविक मानवीय क्रियाकलापलाई हटाउनुपर्छ । अहिलेको समयमा सामाजिक संघसंस्था, आमा समुह र अन्य संगठनहरूले सकारात्मक र विभेदरहित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । अन्यथा उपेक्षित समुदायका हिन्दु धर्मावलम्बीहरुले समानताका खातिर इसाई धर्म आड लिनेछन् । जो नेपालका लागि अत्यन्त दुःखद हुनेछ । जस्ले गर्दा घरघर, गाउँ गाउँ र व्यक्ति व्यक्तिमा प्रतिशोधको भावना उत्पन्न हुने छ र धार्मिक युद्ध सिर्जना हुनेछ । यस कारणले पनि यो जातीय प्रथा अन्त्य हुनु जरुरी छ ।

छुवाछूत र यसबाट उत्पन्न समस्या समाधानका लागि जिम्मेवार एवं शैक्षिक नागरिकहरुले धार्मिक अन्धविश्वास, कुरिती, आर्थिक असम्पन्नता र सामन्ती सोचलाई परिवर्तन गरि मानवीय मुल्य कायम गर्नु आवश्यक हुन्छ । समाजका अशिक्षित एवं धार्मिक अन्धविश्वासका कारण अन्धा भएका मानिसहरूले निम्न वर्गीय सूचीमा राखेका मानव समुदायलाई संविधानले प्रदत्त गरेका हक अधिकारको जानकारी गराउनु, समावेशीकरणका विषयवस्तुलाई सामाजिक अभियानका रुपमा प्रचार प्रसार गर्नु र लक्षित वर्गलाई उदात्त चरित्रका साथ ज्युन प्रेरित गर्नुपर्दछ । मानिसहरूलाई नकारात्मक भेदभाव नभएर सकारात्मक अभ्यासबाट विकास र सहभागिताका लागि राम्रो अवसर प्रदान गरिनु पर्दछ । कानुनी संयन्त्र अत्यन्त कठोर र प्रभावकारी बनाउनु पर्ने हुन्छ ।

आजको एक्काइसौ शताब्दीमा पनि हाम्रो समाज पूर्ण रूपमा अन्धविश्वास र अज्ञानताबाट मुक्त हुन सकेको छैन । त्यसैले परम्परादेखि नै अस्तित्वमा रहेका खराब प्रथाहरूलाई समाज विकास, शान्ति र सु–व्यवस्थाका बाधक तत्व मानी त्यस्ता प्रथाहरूको विरुद्धमा लाग्नु आजको आवश्यकता हो । त्यसैले यस्ता प्रथाहरूलाई हटाई सामाजिक एकता, सहअस्तित्व, सहकार्य र सामाजिक सद्भावपूर्ण जीवन यापनको उदाहरण दिनु नै नेपाली समाजको विशेषता हुन्छ । जातिय व्यवस्थामा अन्धविश्वासले युक्त पर्खालहरु भत्काउनु नै समतामूलक समाज निर्माणको मुख्य उपलब्धी हुन्छ ।

छुवाछूतले संसारमा उत्पत्ति भएका सबै प्राणीमा उत्कृष्ट एवं चेतनशील प्राणी मानिसलाई अन्धविश्वास र अज्ञानताको काखमा सुम्पिएको स्पष्ट छ । मानिसहरुले आफ्नै स्वजातीय सम्बन्धलाई नै कथित अछुत भन्नू, मानव मानवमा विभेद र छोइछिटोको व्यवहार गर्नु नकारात्मक कार्य हुन् । यस्तो प्रकारको जघन्य अपराध निराकरणका लागि शिक्षित नागरिक, अधिकारकर्मी र सामाजिक अभियन्ताहरु तीव्र रूपमा लाग्नु पर्दछ । र, यो समाजलाई परिष्कृत समाजका रुपमा स्थापित गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->