बागलुङ/ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमा कट्टर हिन्दुवादी र इशाइकरणका कारण गणतन्त्रमाथी खतरा बढिरहेको बताएका छन् ।
हिन्दुवादीले राजा ल्याउन खोज्ने र इशाइकरणमार्फत् अमेरिकी हस्तक्षेप बढ्दा देशको राष्ट्रियता खतरामा परेको उनको जिकिर छ । पहिला भारतमार्फत् हस्तक्षेप गरेको अमेरिकाले अहिले सिधै नेपाल आएर आफ्नो हस्तक्षेप बढाइरहेको सिंहले दाबी गरे ।
बागलुङ आएको मौका छोपेर शनिबार प्रगतिशील पत्रकार संघले आयोजना गरेको भेटघाट कार्यक्रममा सिंहले अमेरिकाले अहिले इन्डो प्यासिफिक रणनीतिमा लागेर हस्तक्षेप बढाइरहेको बताए । अमेरिकाले नेपालमा हस्तक्षेप बढाउन एमसीसी पास गराएको उनको जिकिर छ । एमसीसी विकास निर्माणको बहानामा भएको हस्तक्षेप बताउँदै उनले अमेरिका सिधै सैन्य अभ्यासमा आउन खोजेको सिंहले आरोप लगाए । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत् नेपालका राजनीतिक दल र व्यवस्थालाई नै हस्तक्षेप गर्ने र राज्य व्यवस्था कमजोर पार्ने काम सुरु भएको उनको टिप्पणी थियो ।
नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले केही दिनदेखि अमेरिकी साम्राज्यवादबिरुद्ध मेची महाकाली अभियान संचालन गरेकै अवसरमा आएका सिंहले अमेरिकाले भारतमा खम्पा र दलाइ लामाका मानिस लुकाएर राखेको आरोप लगाए । अमेरिका र भारतले गरिरहेका क्रियाकलाप चीनविरुद्ध भएपनि नेपाल त्यसको रणभूमि हुने खतरा बढेको उनको भनाइ थियो । यस्ता अभियानले चीन विरोधी गतिविधि बढ्दा शक्ति राष्ट्रको रणभूमिमा नेपाल परेको र नेपालको राष्ट्रियतामाथि नै गम्भीर संकट आइलागेको उनले बताए ।
सिंहले नेपालको जनमत बुझेरभन्दा गलत अभियानले पनि बढ्ने गरेको दाबी गरे । २०१७ सालमा बीपी कोइरालाको सरकार च्यूत भएपछि महेन्द्रको पक्षमा जनमत देखिएको दृष्टान्त दिँदै उनले लोकतान्त्रिक व्यवस्था र दललाई त्याग्दा ३० वर्ष निरंकुशतामा बस्नुपरेको स्मरण गरे । लोकरिझ्याइँको राजनीति गरिरहेको रास्वपाको पक्षमा देखिएको जनमतले पनि त्यस्तै संकट ल्याउने उनको तर्क थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने पार्टीको स्पष्ट धारणा भएपनि यो मौका छोपेर निरंकुशताबादी उठ्ने अवसर आएको भन्दै दलका नेता सचेत बन्नुपर्ने बताए । अर्को प्रसंगमा सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र र धर्मनिरपेक्ष विरोधी नेताको आरोप लगाएका थिए ।





