मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नेता गिज्याउने गोरेटो बाटो दब्ल्याङको !

नेता गिज्याउने गोरेटो बाटो दब्ल्याङको !


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०८०, आइतबार

एक्काइसौं शताब्दीमा गोरेटो बाटो नपाएका अभागी जनताभन्दा अनौठो मान्नुहोला । जनताले वर्षेनी बग्ने पहिरोका कारण ६ महिना सुविधा पाउँछन् । अर्को छ महिना गाउँको गाउँमा शहरको शहरमा बस्छन् । सडकविहिन गाउँबाट नगरपालिकालाई खुसी जीवनको शुभकामना भन्ने जनता बागलुङका हुन् । जिल्ला सदरमुकामदेखि करिब ४ किलोमीटर दुरीमा पालिकाको नजर नपुग्दा जनताले दुख पाएका छन् ।
बागलुङ नगरपालिकाको वडा नं. १० भकुण्डेस्थित दब्ल्याङमा बगिरहेको पहिरोले पटक पटक गरेर भिमकाय स्वरुप लिएको छ । उक्त पहिरोले बर्खाको समयमा बागलुङको दक्षिणी क्षेत्र जोड्ने मुल सडक खण्डनै अबरुद्ध गराइ आवागमन रोकिने गरेको छ ।

पहिरोले जिल्लास्थित बागलुङ नगरपालिकाका–१०, ११, १२ र १३ वडा, समग्र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका जनतालाई सास्ती दिएको छ । हरेक समयको सानोठुलो वर्षामा समेत सडक अबरुद्ध भई रहदा सदरमुकामदेखि बलेवा, कुस्मीशेरा, दमेक, धुल्लुबासकोट, बरेङहुँदै शान्तिपुरसम्मका सवारी साधन र यात्रुहरु अलपत्र पर्ने गरेका छन् । पहिरोकै कारण सरकारले राष्ट्रिय गौरवको आयोजनामा सुचिकृत निर्माणाधीन कालीगण्डकी करिडोरको निर्माण कार्यसमेत अवरुद्ध बन्दै आएको छ । बागलुङदेखि बुटवलसम्म सडक संजाल जोडिएकोमा स्थानीय जनता खुशी थिए । तर त्यो खुशी हिउँदको ६ महिनादेखि बढी टिक्न सकेन । मुख्य सडक नै बन्द भएपछि निराश भएका नागरिकहरु यतिबेला राजनैतिक नेतृत्वसँग आक्रोशित बनेका छन् ।

विशेषतः विकासका पूर्वाधार भन्नाले शिक्षा, स्वास्थ, यातायात, खानेपानी र सिँचाईलाई बुझिन्छ । देशको उन्नतिका लागि सबै पुर्वाधारको अस्तित्व समान रहेको हुन्छ । अहिले नेपालका आयोजनाहरुमा यातायातलाई प्राथमिकता दिएर सडक निर्माणलाई प्रमुख मानिएको छ । संघ सरकारदेखि पालिकाका वडाहरुको विकास योजनामा नछुटाइने र छुट्नै नहुने शीर्षक पनि सडक नै हो । त्यसैले तीनै तहका सरकारले सडकलाई मध्यनजर गरेर योजना तर्जुमा गर्नु अनिवार्य छ । तर दब्ल्याङको पहिरोको हकमा भने त्यो भएको छैन । बागलुङ बजारदेखि अन्तर जिल्ला र पालिकालाई जोड्ने प्रमुख सडक निरन्तर अवरुद्ध बन्दा समेत उपयुक्त निकास दिइएको छैन । वैकल्पिक बाटोको समेत अध्ययन नथालिनु अझै दुःखद् छ । यस्तो विषम परिस्थितिमा बागलुङ नगरपालिकालाई प्रदेश र संघिय सरकारले सघाउनु पर्छ ।
जनताको मतले सरकार सञ्चालनको जिम्मा पाएका दर्जनौं नेताहरुको जन्मभुमी पुग्ने बाटो यहीँ हो । तथापि उक्त पहिरोले हरेक वर्ष जनतालाई दुख दिइरहदा नेताहरु मुकदर्शक बनेका छन् । यस भेगबाट राजनैतिक नेतृत्व गर्ने नेताहरु नेपाली राजनीतिमा अब्बल छन् । तर आफ्नो क्षेत्रको विकास र प्रगति अनि जनताको खुशीले कहिल्यै शुद्धीकरण भएनन् ।

यस क्षेत्रबाट २०७९ को निर्वाचनमा सत्ताधारी दलहरूले बाम लोकतान्त्रिक गठबन्धन बनाएर चुनाबमा होमिए र उल्लेख्य सफलता पनि पाए । संघतर्फ समानुपातिक उमेदवार बनेर पार्टीको अभिमत पाएका दिनानाथ शर्मा र बलावती पौडेललाई कस्ले प्रश्न गर्छ ? हुनतः उनीहरुलाई छुट्कारा छ होला, न उनीहरुले जनतालाई विकासको सपना देखाए न भोट कबुल नै गरे । भोट माग्दा माग्दै पराजित भएका नेकपा एमालेका डा. सुर्य पाठक र हिरा केसीको जिम्मेवारी के रहला ? बा.न.पा १२ अमलाचौरमा जन्मिएर बागलुङको क्षेत्र नं. २ बाट संघिय सांसद बनेका सत्तासीन माओवादीका देवेन्द्र पौडेललाई जनताको गुनासो नरहला तर राजमोका चित्रबहादुर केसीलाई अवश्य रहन्छ । उमेरले ८ दशक नजिक पुगेका पाका र भिन्न विचार लिएका नेता केसीलाई भोट माग्न जाँदाको बाटो पक्कै याद होला ।

गण्डकी प्रदेश प्रतिनिधि सभातर्फ बागलुङ क्षेत्र नं. १ (क) मा कांग्रेसका दिपेन्द्र थापाले विजय हासिल गरे । वर्तमानमा उनी गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

पर्यटन प्रवर्द्धनकै नारा लगाउने सरकारले पर्यटकलाई बलेवा कालभैरव पुर्याउने उद्देश्य राखे तत्कालै सडक बन्छ । क्षेत्र नं. १ (ख) मा सर्वाधिक मत प्राप्त गरि विजय हुने नेपाली कांग्रेसकै युवा नेता डिल्लीराम सुवेदीको घर पुग्ने मार्ग पनि यहीँ हो । यहि पहिरो तरेर घर पुग्ने नेताहरुमा गण्डकी प्रदेश समानुपातिकतर्फ एमालेका कृष्ण पाठक र लिलाबहादुर थापा प्रदेश प्रतिनिधि सभा सदस्य भएका छन् । जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन मेयर र बरेङ गाउँपालिकामा राजमोका कृष्णप्रसाद शर्मा अध्यक्ष छन् । जैमिनीका उपमेयर हरिहर शर्मा र बरेङका उपाध्यक्ष दिलिप कुमार पुन कांग्रेसकै हुन् । यता बागलुङ नगरपालिकामा मेयर बसन्त कुमार श्रेष्ठ र उपमेयर राजु खड्का क्रमशः कांग्रेस र माओवादीका भए पनि सत्ता समीकरण उनीहरु निकट नै छ ।

वडातर्फ बा.न.पा १० भकुण्डेमा सत्तासिन समाजवादीका तिलबहादुर थापाको नेतृत्व छ भने ११, १२, १३ र १४ मा नेपाली कांग्रेसका क्रमशः ज्ञानेन्द्र गौतम, कोपिलामणि शर्मा, नारायण पौडेल र चक्रबहादुर खत्री अध्यक्ष छन् । के केन्द्रदेखि स्थानीय तहसम्म एउटै गठबन्धनको शासन चल्दा समेत जनताले सुख पाउदैनन् ? जनताका अत्यावश्यक सुविधा पूरा गर्न कस्तो संरचना र दलिय व्यवस्थाको परिकल्पना गर्ने ? जुन जोगी आएनी कानै चिरेको भन्याझै दिन फेरिए, वर्ष फेरिए, नेता कार्यकर्ता फेरिए पुराना अनुहार नयाँ अनुहार आए तर जनताको दुख जहाँको तहि के जनताले यहीँ दिन देख्नलाई भोट दिएका हुन् ? यहि परिस्थिति हुने हो भने नागरिकले नगरपालिकामा कर तिर्न कुन बाटो हिंड्ने ? पालिकाका नाममा मनग्य राजश्व निर्धारण गरेको नगरले के जनतालाई सुखसंग तिर्ने वातावरण बनाउन सक्दैन ? बर्खे भेल तर्काउन दैनिक डोजर खुमाउन लाखौं बजेट खर्चिने पालिकाले सुख्खा समयमा बाटो मर्मत गर्न सक्दैन ?

यसरी जिल्ला र अञ्चल सदरमुकामको मुखमै सडक अवरुद्ध बन्दा कुनै एउटा निकायले त माया देखाउनु पर्छ नि ! तर निर्दोष सडकलाई गाली गरेर मात्र के गर्नु जनता र देशको अग्राधिकार ठानिएका नेताहरुले सडकको सेवा कहिल्यै नगरेपछि सडक स्वयं लज्जित भएको छ । बागलुङको राजनैतिक इतिहासमा नेताहरुले आफ्नै जन्म घर पुग्ने बाटो निर्माण गर्न सकिरहेका छैनन् भने दुर्गम भूगोलका अनकन्टार ठाउँमा बस्ने जनताले के आशा गर्ने ?

वैशाखको ३१ गते करिब एक घण्टाको अविरल वर्षाले बाटो पुरै क्षतविक्षत भयो । अब अनुमान गरौं हिउँदे पानीले त बाटो अवरुद्ध बन्छ भने बर्खाको समयमा के होला ? यस कारण पनि पहिरोका कारण जनताले अकल्पनीय सास्ती खेप्नुपर्नै गरेको कुरा सर्वविदितै छ । पैदल हिंड्न समेत असहज हुने गरि बर्खाको समयमा सडक पुर्ण रूपमा अवरुद्ध हुन्छ । हिउँदमा बागलुङ नगरपालिकाले बाटो खुलाए पनि बाह्रै महिना बाटो सञ्चालन नहुँदा जनतालाई प्रशासनिक कामका लागि सदरमुकाम पुग्न कठिनाइ हुने गरेको हो । बिरामीहरु अञ्चल अस्पताल पुग्न नसक्ने र अकालमै मृत्युको सिकार बन्नुपर्ने जटिल समस्या उत्पन्न भएको छ । बलेवा क्षेत्रका मानिसहरु दैनिक उपभोग्य वस्तुको खरिद बिक्रीका लागि पर्वतको सदरमुकाम कुस्मा बजारमा आश्रीत भए पनि अन्य स्थानका मानिसहरुलाई सहज छैन ।

पहिरो नियन्त्रणका लागि यस क्षेत्रका वडाध्यक्षहरुले आफ्नो पालिकालाई दबाब दिन सकिरहेका छैनन् । प्रभावित क्षेत्रका अन्य पालिकाहरुले पनि उपयुक्त निकासका लागि पहल कदमी नदेखाउनु दुःखद छ । जनताको हितका लागि नेता बन्या हो भनेर सामाजिक अभियन्ता र समाजसेवी बनेर दोहोरो टीका लगाएका नेताहरुको उदासिनताका कारण हरेक बर्खामा जनजीवन असहज हुने गरेको हो । नगरपालिकाले सुख्खा समयमा पहिरो नियन्त्रणलाई चासो नदिने तर बाटो अबरुद्ध भएपछि मात्र एकतर्फी खुलाउने नियतले झनै त्यस क्षेत्रमा समस्या उत्पन्न भएको छ । पहिरोले हिउँद बर्खा बाह्रै महिना जोखिम सिर्जना हुने भएकाले त्यस क्षेत्रका जनतामा न दिनमा भोक न रातमा निद्रा छ ।

नगरपालिकाले नगरभित्र नगर बस सञ्चालन गर्नुपर्नेमा एम्बुलेन्ससमेत हिंड्न नमिल्ने सडक हेरेर बस्नु दुःखद छ । बाह्रै महिना निजी सवारी साधनले मनपरी भाडा लिएर जनताको ढाड सेकिरहेका छन् । संघियताको बिल्ला भिरेर रसिला पोषिला भएका समाजसेवी नेताहरुको घैटोमा घाम कहिले लाग्ने ? राजनीति भन्दैमा सत्ता साझेदार मेयर उपमेरलाई मात्रै दोष लगाउनु न्यायोचित नहुन सक्छ, किनकी प्रभावित क्षेत्रका जनताको मतले शुद्ध भएका र प्रतिपक्षको तक्मा लाएका नेताहरुको जिम्मेवारी के हुन्छ ?

स्थानीय सरकारका जनप्रतिनिधिहरुले जनतालाई सेवा दिन निरन्तर खट्नुपर्छ । विकास निर्माणका काममा तदारुकता देखाउनु पर्छ । उनीहरुका देवता मतदाता हुन् । भगवानरुपी जनतालाई देवत्व हराएको स्वरुप देखाउनु नेताको अवगुण ठहर्छ । उचित अनुचित काम छुट्याएर जनतामैत्री सेवा प्रवाह गर्नु उनीहरुको दायित्व हुन्छ । जनतालाई खुशी बनाउनु नै धर्ती मातालाई प्रसन्न पार्नु हो । नेता त जे जस्तो जुन काममा पनि मेरो दायित्व हो भनेर सदासयता प्रकट गर्ने हुनुपर्छ । स्वजन र परजनमा विभेद देख्नु भनेको आततायी पापको भागिदार बन्नु हो । त्यसैले सबैलाई समान दृष्टि दिनुपर्छ । प्रतिपक्षको दायित्व समाज र नागरिक सापेक्षित कार्य भए नभएको निर्क्योल गरि खबरदारी गर्नु हो । विपक्षी नेता कार्यकर्ताहरु उदासीन भए सत्तासीन जनप्रतिनिधिहरुले आफुलाई परिचालन गर्ने बाटै पाउदैनन् । अन्ततः जन्मभूमिको रक्षा सम्भव हुदैन भन्ने उक्ति परापुर्वकालका राजा महाराजाहरुले गर्थे । तर, अहिले कलियुगका नेताहरूले मपाईंत्व बाहेक केही धारण गर्दैनन् यो नै प्रगतिको बाधक हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->