डोटेली लवजमै उनले फेवा किनारमा केही वाक्यहरु सुनाए । मन्द गतिमा आएका छालहरु फेवा किनारसम्म आइपुग्थे । अनि उनी पनि छालहरु भन्दा पहिला पुग्थे डोटीको सम्झनामा । उनी सुदुर पश्चिमेली भाषा बुझ्दैनन् मात्र, बोल्छन् पनि । भाषाले मात्र हैन, त्यहाँको रहनसहन, संस्कृति र आतिथ्यताले उनले त्यहाँ आफ्नोपनको अनुभूति गरे । डोटीको मायाको डोरीले यति बाध्यो कि पूराका पुरा तीन वर्ष डोटी मै बिताए। त्यहीँ रमाए, डोटेली माटोमा मज्जाले भिजे । थुप्रै आफन्तहरु बनाए । बुबाहरु बनाए, आमा, दिदी, बहिनी भाई दाई आदि साइनोले उनलाई डोटी आफ्नै घरजस्तो लाग्छ । अनि आफ्नै देश सरहको प्रेम छ नेपालमा ।
ग्यारेट मोरिस । पाँच वर्ष अघि अमेरिकी पिस कोर्सअन्तर्गत स्वयंसेवक बनी पहिलोपल्ट नेपाल आएका थिए उनी । उनले रोजेका थिए, खाद्य सुरक्षा कार्यक्रमको स्वयंसेवी । सगरमाथाको देश, बुद्धको देश, सुरुमा मात्र यति जानकारथियो नेपालबारे उनमा । स्वयंसेवक भएर जान उनीसँग दुईटा रोजाइ थिए, कि डोमिनिकन रिपब्लिक कि नेपाल । उनलाई फरक भाषा, चालचलन र धर्म संस्कृति भएको देश घुम्न र काम गर्न मन थियो । फरकपनको अनुभूति सँगाल्नु थियो । त्यसैले उनको रोजाइमा प¥यो, नेपाल ।
पिस कोर्सबाट नेपाल आउने हरेक स्वयंसेवकले तीन महिनाको तालिम लिनु पर्ने प्रावधान छ । त्यहीँ अनुरुप उनी काभ्रे पुगे । त्यहीँ गाउँमा उनले तीन महिना बिताए। आफूले जाने र पढेका कुराहरु गाउँलेहरुलाई सिकाउन चाहन्थे । तर न भाषा मिल्थ्यो न संस्कृति नै । उनलाई जसरी पनि बुझाउनु थियो । सिकाउनु थियो । यसका लागि मात्र विकल्प थियो, नेपाली भाषा सिक्ने र बुझ्ने । अनि सुरु भयो उनको नेपाली भाषा सिकाइको यात्रा ।
यो यात्रा त्यति सहज त कहाँ थियो र ?नेपाली र अंग्रेजीको वाक्य संरचना नै फरक थियो । जीवनभर सिकेर नसकिने भाषा तीन महिनामा, त्यो सम्भव नै थिएन । तर उनले हार मानेनन् । दैनिक पाँच छ घण्टा उनी नेपाली पढ्न, सिक्न र बुझ्न समय व्यतित गर्थे । इच्छा र रहर भए के सम्भव हुँदैन र ? तीन महिना तालिम अवधि भर उनले तालिम मात्र लिएनन्, सँगै लिए नेपाली संस्कृति, भाषा, चालचलन र परम्पराको धेरथोर ज्ञान । उनको कार्यक्षेत्र थियो सुदुर पश्चिमको डोटी जिल्ला । अनि उनी हानिए सुदूर पश्चिम ।
काभ्रेको भन्दा फरक थियो डोटेली भाषा, त्यहाँको रहनसहन अनि संस्कृति । त्यहीँ चुनौतीलाई अवसरका रुपमा लिएर उनले त्यहीँको रैथाने भाषा र रहनसहन सिक्न थाले । त्यही घुलमिल हुन थाले । डोटी कै माटोमा मज्जाले भिजे उनी । त्यहाँका किसानहरुलाई विभिन्न तालिमहरु सिकाउँथे । उनी सिकाउँथेनन् मात्र, आफू पनि सिक्थे किसानहरुबाट । बिउबिजन उत्पादन देखि त्यसको फल संकलनसम्मका प्रक्रियाहरु उनी सिकाउँथे । सुर्खेतसम्म पुगेर त्यहाँको वन विभागसँग त्यस ठाउँका लागि नयाँ खेतीपातीका विषयमा कुराहरु राख्थे ।
सुरुमा उनको चिनजानी भयो त्यहीँ गाउँमा रहेका विद्यालयका प्रधानाध्यापकसँग । ग्यारेट उनकै घरमा बसें साथी बनेर । त्यहीँ खाने, सुत्ने र बस्ने प्रबन्ध जोह भयो । त्यसका लागि उनले केही न्युनतम खर्च दिन्थे । त्यस परिवारमा घुलमिलिन उनलाई धेरै समय लागेन । त्यतिमात्र हैन, त्यस गाउँभरका मानिसहरु कोही उनका बुबा, आमा, दाजु, भाउजु, दिदी बहिनी बने । ‘म त कति हो कति धनी । एउटा आमा हो र, घरैपिच्छे आमा । घरैपिच्छे बा । सिंगो गाउँ नै मेरो घर, गाउँलेहरु सबै मेरा आफन्त । आफ्नो देश र घरपरिवारसँगको न्यास्रो डोटीले बिर्साइदियो ।’
पिसकर्पले उनलाई मासिक नेपाली रुपैँया बीस हजार दिन्थ्यो, स्वयंसेवक भत्ता । केही हजारका नोट खाना र बस्न छुटाउँथे भने बाँकी आफ्नै खर्चका लागि । अमेरिकामा पठाउने त परको कुरा । उनले पोषणसम्बन्धी ग्रयाजुएटगरेका थिए अमेरिकामा । त्यहीँ पढाइकै विषयमा जागिर नपाएका होइनन् । राम्रो कमाइ पनि हुन्थ्यो । तर उनले स्वयंसेवक भएर नेपालमै केही समय बस्ने योजना गरे ।
डोटीको मायाको डोरी यति बाधिँयो कि उनले दुई वर्षको कार्यकाल सकेपछि फेरि एक वर्ष थप गरे । अर्को एक वर्ष डोटीमै बिताए । त्यहीँ रमाए । अनि त्यहीँ हराए । त्यहाँको प्राकृतिक सुन्दरता, मानिसहरुको आत्मीय र आथित्यताको प्रशंसक उनी । समय कति चाँडै बित्यो, पत्तै भएन उनलाई । तीन वर्ष तीन दिन झैं लाग्यो । गह्रौ मन लिएर बिदाईका हातहरु हल्याउँदै उनी डोटीबाट बिदा लिए । तर मन भने डोटीमै अल्झिरहेको थियो ।
उनलाई तुरुन्त स्वदेश फर्कन मन थिएन । केही समय नेपालमै बिताउन पाए, मनले भनिरहन्थ्यो । त्यसैले उनले रोजे पोखरा । उनी विभिन्न खानाका परिकारका पकाउन सौखिन । पाककलामा राम्रो अनुभव बटुलेको मान्छे उनी । अनि उनले सुरु गरे लेकसाइडमा सेफको काम । उनी हरेक कुरामा रमाउन मान्छे, त्यसैले हरेक काममा रमाए ।
कहाँ डोटीको त्यो बसाइ, अनि कहाँ पोखराको । बिरानो शहरमा उनलाई कोही आफ्नो भइदिए भन्ने नलागेको हैन । सुख दुःखका भावनाहरु सुनिदिने र साथ दिने मान्छे खोजेका थिए । उनी डेरा लिएर बस्ने घरछेउको छिमेममा बस्थिन्, चिनियाँ मुलकी कोको । उनी नेपाली र विदेशीहरुलाई योग सिकाउँथिन् । अझ् भनौं योगा प्रशिक्षक थिइन् उनी ।
उनै कोकोसँगको उनको चिनजान भयो । समयसँगै उनीहरु नजिक भए । चिनजान प्रेममा बदलियो । बिरानो शहरमा दुई फरक देशका मानिसलाई नेपालको मायाले एक बनायौ । अनि सुरु भयो उनीहरुको लिभिङ टुग्यादरको यात्रा । उनीहरु आधिकारिक रुपमा बिहे नै गर्न चाहन्थे तर दुई विदेशीलाई नेपालमा बिहे गर्ने वैधानिकता छैन । त्यसैले उनीहरु हानिएका थिए चीन ।
कोकोको परिवारसँग ग्यारेट पनि नजिकिए । उनीहरु त्यहीँ केही समय बिताए । उनीहरु आधिकारिक रुपमै एक हुन चाहन्थे तर त्यहीँ बेला सुरु भयो कोरोना महामारी । उनीहरुको सपना पूरा हुन सकेन । उनीहरु केही समय चीनमै रोकिए । अवस्था सामान्य भएपछि भने उनीहरु फेरि नेपालमै फर्के ।
कृषिमा एकदमै रुचि राख्ने ग्यारेट । उनी खेतीपाती गर्न एकदम सौखिन । त्यसैले करिब तीन महिना पामेमा रहेको इन्द्रेमी फार्ममा काम गरे । बदलामा खाना बस्ने व्यवस्था दुवैलाई फार्ममा थियो । कोरोना कहरले कोकोको योगा सिकाउने काम रोकियो । दुवै त्यसैमा फार्म मै रमाए । त्यसपछि उनीहरु पामे पारि ब्याक टु नेचर फार्ममा रहे, दुई महिनाका लागि । च्याउ लगायत विभिन्न तरकारीको उत्पादन र नर्सरीमा रमाए दुवै । त्यसैमा सन्तुष्टि मिलिरहेको थियो । त्यसपछि केही समय बेगनास ताल नजिक एक जना साथीको फार्ममा बसे ।
चीनबाट फर्केपछि उनी फेरि केही समयका लागि डोटी पुगेका थिए । त्यतिबेला दसैं र तिहारको रौनकता छाएको थियो । उनले आफ्नै घर फर्केको अनुभूति गरेका थिए । घरै पिच्छे दसैंको तिहार थाप्न पुगे । निधारभरि रातो टिका अनि मनभरि डोटेली माया । तिहारको किस्सा यसरी उनी सुनाउँछन्, ‘दिदी बहिनी पनि थुप्रै थिए । भाइटीकाको दिन त घाँटीभरि मालैमाला । निधारभरि सप्तरंगी टीका । दिनभर लागेको थियो टिका लगाउन पनि । सबै दिदी बहिनीलाई दक्षिणा दिदाँ राम्रै खर्च पनि भएको थियो । तर त्यो भन्दा ठूलो कुरा, त्यो अमूल्य पलहरु नै थियो, जुन जति पैसा खर्चे पनि कहिल्यै किन्न सकिँदैन ।’
आधिकारिक रुपमा अमेरिका कि चीनमै यो सम्बन्धलाई बिहेमा परिणत गर्ने उनीहरुको सपना थियो । बिहे गर्ने अनि नेपाल फर्कने । यतै बस्ने । यतै रमाउने । महत्वाकांक्षी सपनाहरु बोकेका छैनन् उनीहरुले । लाखौं पैसा कमाएर भवन ठडाउने कल्पना गरेका छैनन् । बस्, ग्यारेट अर्गानिक कृषिमा लाग्ने र कोको योगा सिकाउने । सरल र सहज जीवन निर्वाह गर्ने । तर समस्या उही न हो, भिषाको । पर्यटन भिषामा हरेक दिन ५/५ डलर तिरेर बस्न पनि त गाह्रै छ नि । उनीहरु चाहन्छन्, नेपाल सरकारले केही सहजता बनाओस् । नेपालमै केही गर्न चाहनेहरुलाई नीति नियम खुकुलो बनाइदिए, उनी चाहन्छन् ।
फरक भूगोल र फरक भाषीका दुई अपरिचित मानिसहरुलाई नेपाली मायाले एक बनायो । न त सीमाले बाध्यो न भूगोलले नै । प्रेमलाई बाँधेर बाध्न सकिँदो रहेनछ । यो एक उदाहरण थियो । नेपालमै केही गर्न चाहने विदेशीहरुलाई सरकारले केही हेरिदिए, कति जाति हुँदो हो । फेरि आफैंलाई प्रश्न गर्न मन लाग्छ, साच्चै नेपालमा पनि सरकार छ र ?





