रगत हाम्रो शरीरको लागि यति आवश्यक पदार्थ हो कि रगतको मात्रामा थोरै कमी आएपनि हामी बाँच्न सक्दैनौं । एक स्वस्थ र वयस्क व्यक्तिको शरीरमा करीब ५–६ लिटरसम्म रगत हुन्छ । यसको मात्रा उमेर अनुसार फरक हुन्छ । यदि हाम्रो शरीरमा भएको रगतको मात्रामा २० प्रतिशत मात्र कमी आयो वा १ लिटरमात्र पनि रगत कारणवश खेर गयो भने हामी बेहोस हुन्छौं र हाम्रो शरीरले पर्याप्त काम गर्न सक्दैन र मर्न सक्छौं । हाम्रो शरीरको रगत नै हाम्रो सम्पूर्ण शरीरलाई जोड्ने तन्तु हो । रगतबाट नै हाम्रो सारा शरीरका कोष, तन्तु, अङ्ग तथा प्रणालीहरूजोडिएका हुन्छन् ।
शरीरका सबै कोष, तन्तु, अङ्ग तथा प्रणालीहरूलाई बाँच्नको लागि खाद्य पदार्थ तथा अक्सिजन चाहिन्छ । जसको आपूर्ति रगतले गर्दछ भने ती अङ्गबाट उत्पादन हुने अनावश्यक विकार पदार्थहरू शरीरबाट बाहिर फ्याँक्न समेत रगत नै चाहिन्छ । रातो रगतमा हुने हेमोग्लोबिन भन्ने तत्वले अक्सिजन ग्रहण गर्दछ र शरीरका सबै भागमा अक्सिजन पु¥याउँछ । रगतले नै हाम्रो शरीरभर सञ्चारको काम समेत गरेको हुन्छ । यति महत्वपूर्ण रगतको कामका साथै अर्को महत्वपूर्ण काम भनेको रगतमा रहेका सेता रक्तकणहरू हाम्रो शरीरका लागि सुरक्षा कवच हुन् । यी रगतले हाम्रो शरीरमा कुनै बाहिरी हानिकारक किटाणुहरू प्रवेश गरेमा त्यसलाई नष्ट गर्ने काम गर्दछन् । त्यस्तै, शरीरमा सामान्य चोटपटक लाग्दा पनि रक्तश्राव हुनेगर्छ । यसरी हुने रक्तश्राव रोक्ने पनि रगतमै हुने प्लेटलेटले गर्दछ । यसरी रगतमा ४५ प्रतिशत रक्तकणसहित ठोस पदार्थ र बाँकी ५५ प्रतिशत पानी (प्लाज्मा) रहेको हुन्छ । यो हाम्रो शरीरलाई निरन्तर क्रियाशील बनाउने, सबै अङ्ग, तन्तु, कोषहरू आदिलाई बचाउने र पूर्ण सुरक्षित गराउने महत्वपूर्ण तत्व हो ।
हाम्रो शरीरमा रगत बन्ने क्रम गर्भावस्थादेखि नै सुरु हुन्छ । गर्भावस्थामा छँदा फियोले रगत बनाउँछ भने पछि लामो हाडभित्र हुने मासीबाट रगतको उत्पादन हुन्छ । जुन जीवनभर शरीरले बनाइराखेको हुन्छ । रगत एकपटक बनेपछि निश्चित दिन पछि मर्न थाल्छ । रगत मर्ने क्रम र बन्ने क्रम पनि निरन्तर शरीरमा भइरहेको हुन्छ । कहिलेकाहीं रगत अत्यधिक मर्न थाल्यो भने रगतको कमी हुन्छ र जण्डिस रोग समेत देखापर्नसक्छ । प्रत्येक रक्तकणको आफ्नो आयू हुन्छ । जस्तैः रातो रक्तकण १०० देखि १२० दिनसम्म बाँच्छ र मर्छ । यसैगरी सेतो रक्तकण १३ देखि २० दिनसम्म मात्र बाँच्छ भने प्लेटलेट चाहिं ८ देखि ९ दिनसम्म मात्र बाँच्छन् अनि मर्दछन् । यसरी मरेका रक्तकण फियो तथा कलेजोमा जम्मा हुने र शरीरले बाहिर फ्याँक्ने काम गर्दछ । सबै रक्तकण एकैपटक बन्ने र एकैपटक मर्ने हुँदैनन् । निरन्तररुपमा बन्ने र मर्ने क्रम जारी रहेको हुन्छ । त्यसकारण हाम्रो शरीरमा रगतको कमी हुँदैन ।
कहिलेकाहीं औलोरोग, डेङ्गु ज्वरो, सिकल सेल एनिमिया हुँदा शरीरमा रगतको मात्रामा कमी हुन्छ । त्यस्तै हैजा, झाडापखाला लाग्दा, जलेमा, लु लागेमा पनि रगतमा भएको पानीको मात्रामा कमी आउँछ र रगतको मात्रा कम हुनपुग्छ । यसैगरी दुर्घटनामा परेर वा चोटपटक लागेर, महिलाको महिनावारी हुँदा, सुत्केरी हुँदा, गर्भपतन हुँदा, नाथ्री फुट्ने जस्ता घटनाहरूमा रक्तश्राव भएर शरीरमा रगतको मात्रामा कमी आउँछ। यदि शरीरमा यस्ता घटना भएको बखत तुरुन्तै नयाँ अन्य व्यक्तिको रगतले रगतको मात्रा परिपूर्ति गर्न सकिएन भने उक्त बिरामीको तुरुन्तै मृत्यु हुनसक्छ । रक्तदान नै जीवनदान हो भन्ने गरिन्छ । वास्तवमा यो त्यत्तिकै भन्ने गरिएको चाहिं होइन । यस्तो बेलामा आफ्नै शरीरले रगत उत्पादन गर्ने क्रम त अरु समयमा भन्दा बढी नै हुन्छ तर अत्यधिक मात्रामा रगत कमी भएमा अन्य व्यक्तिकै रगत चाहिन्छ ।
रगतका ४ वटा समूह हुन्छन् र ती ४ वटा समूहका थप २÷२ वटा उप समूह हुन्छन् । कसको कुन समूह वा कुन उप समूह हो भन्नेकुरा रक्तपरीक्षणबाट पत्ता लाग्छ । सबै व्यक्तिको रगत सबै व्यक्तिको लागि उपयुक्त नहुन सक्छ । समूह र उपसमूह मिलाएर मात्र रगत चढाउने काम गरिन्छ । यदि यसरी समूह मिलाउन सकिएन वा झुक्कियो भने उक्त व्यक्तिको रगत बीच नै लडाईं भई प्रतिक्रिया उत्पन्न हुन्छ र व्यक्तिको मृत्यु हुन्छ । त्यसकारण आफ्नो रक्त समूह कुन हो भन्ने कुरा पहिल्यै जँचाएर राखेमा अति इमर्जेन्सी अवस्थामा सजिलो र छिटो हुन्छ । रगतका विभिन्न समूह मध्ये अधिकांश व्यक्तिमा (३८ प्रतिशतमा ) ओ पोजिटिभ रगत पाइन्छ, त्यसपछि ए पोजिटिभ (३४ प्रतिशतमा) रगत पाइन्छ भने सबैभन्दा दुर्लभ रगत एबी नेगेटिभ रगत जम्मा १ प्रतिशत व्यक्तिमा मात्र पाइन्छ । सबै व्यक्तिलाई मिल्ने नेगेटिभ रगत पनि ७ प्रतिशतमा मात्र पाइन्छ । यसरी हेर्दा अति दुर्लभ रक्तसमूह हुने व्यक्ति र सबैलाई मिल्ने रगत हुने व्यक्ति निकै महत्वपूर्ण रक्तदाताको सूचीमा पर्दछन् । जुन व्यक्तिहरूले त अरुले भन्दा बढी पटक रगत दिएर धेरै व्यक्तिहरूको ज्यान जोगाउने पुण्य कार्य गर्नुपर्दछ ।
रगत यति महत्वपूर्ण तत्व हो कि यसले कसैको गुम्नै लागेको जीवन पनि बचाइदिन्छ । कहिलेकाहीं अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा तत्कालै रगत दिन सकिएन भने व्यक्तिको छिटै मृत्यु हुन्छ । यदि त्यस्ता व्यक्तिलाई तुरुन्तै रगत दिने व्यवस्था गर्न सकिएको भए अकालमा जाने ज्यान बचाउन सकिन्थ्यो । त्यसकारण कसैलाई पनि कुनैबेला जिन्दगी र मृत्युको यस्तो दोसाँधमा रहेको अवस्था आउन सक्छ, जहाँ रगतको भूमिका अति अतुलनिय रहन्छ । यस्ता व्यक्तिको लागि आफूले मरेर खेर जाने शरीरको रगत दान गर्नु आफैंमा कति पुण्य काम होला हामी कल्पना गर्नसक्छौं । संसारमा हामीले दिने गरेका विभिन्न दान दातव्यहरूमध्ये रगत नै त्यति महत्वपूर्ण दान हो जुन शब्दमा वर्णन गर्न समेत सकिंदैन ।
हाम्रो देश वा भनौं गाउँघरमा समेत रगतको महत्व यति धेरै बुझेका मान्छेहरू छन् कि जसलाई अमूल्य रगत दान गर्नुपर्छ भन्ने समेत हेक्का छ । तर जब रक्तदानको बेला आउँछ त्यतिबेला डराउने, शरीर काम्ने, चिडचिड पसिना छुटाउने गरिन्छ र रक्तदान जस्तो पवित्र कर्मबाट पछि हटिन्छ । यसो हुनुका पछाडि रक्तदान सम्बन्धी केही भ्रमहरू हामीमा रहेका छन् । ती भ्रमहरू के के हुन् र वास्तविकता के हो त भन्नेकुरा यदि हामीले बुझ्यौं भने पक्कैपनि हामी रक्तदान गर्न हिच्किचाउने छैनौं । वास्तवमा रक्तदान सम्बन्धी मुख्य भ्रम र तथ्यहरू यसप्रकार छन् ।
१. रक्तदान गर्दा रगतको मात्रा आफ्नो शरीरबाट घट्छ र कमजोरी भइन्छ भन्ने भ्रम ।
वास्तवमा हामीले १ पिण्ट् रक्तदान गर्दा हाम्रो रगतमा भएको पानीको मात्रा वा सम्पूर्ण प्लाज्मा पूर्ति हुन २४ घण्टामात्र लाग्दछ । राता रक्तकणहरू पूर्ति हुन ४ देखि ६ हप्ता मात्र लाग्दछ भने सम्पूर्ण रगत पूर्ति हुन ८ हप्ता मात्र लाग्दछ । त्यसपछि हामी पुनः रक्तदान गर्न योग्य हुन्छौं, तैपनि १२ हप्ता सम्मको अधिकतम अवधिमा अर्कोपटक रक्तदान गर्न सकिन्छ, कमजोर भइँदैन ।
२. मुटु रोगीले वा मोटा व्यक्तिले रक्तदान गर्नुहुँदैन भन्ने भ्रम ।
वास्तवमा रगत बाक्लो हुने, हर्ट अट्याक हुने र रगतको मात्रा बढी हुने व्यक्तिले समेत रक्तदान गर्न हुन्छ । यसबाट त्यस्ता खाले रोगहरूमा कमी आउँछ र आफ्नो जीवन समेत सुरक्षित हुनपुग्छ । त्यस्तै मोटा व्यक्तिले पनि रक्तदान गर्दा फाइदा हुन्छ किनकि आफूले दिएको रगत पूर्ति हुने समय सम्ममा केही मात्रामा क्यालोरीको समेत खपत हुन्छ र तौल नियन्त्रण हुनसक्छ । तर मोटा व्यक्तिले रक्तदान गरेमा झन् मोटाइन्छ भन्नु गलत धारणा हो ।
३. हामीले दिएको रगत मिल्दैन कि त्यत्तिकै खेर फाल्छन् कि भन्ने भ्रम ।
हामीले दिएको रगत जुनसुकै समूहको भएपनि त्यो ब्लड बैंकमा सुरक्षित साथ तापक्रम व्यवस्थापन गरेर राखिन्छ । तर हामीलाई हेपाटाइटिस, एच आई भी तथा अन्य रगतबाट सर्ने रोगहरू लागेका रहेछन् भनेमात्र त्यो रगत खेर जान्छ अन्यथा हामीले दिएको रगत ४२ दिनसम्म डेट जाँदैन । यसबाट हामीलाई अर्को फाइदा के छ भने हामीलाई गम्भीर खालको रोग लागेको समेत रक्तपरीक्षण गरिने हुँदा पत्ता लाग्छ ।
४. रक्तदान गर्दा दुख्छ भन्ने भ्रम
हामीले सूई देख्दा वा अरुलाई लगाएको देख्दा मात्र दुख्ने अनुभव गर्ने हो । अन्यथा आफूले रक्तदानका लागि सूई लगाउँदा माथिल्लो पाखुराको नदुख्ने रक्तनलीबाट रगत निकालिने भएकोले कुनै दुखाईको अनुभव नै हुँदैन, यो एउटा भ्रम मात्र हो ।
५. कस्ता व्यक्तिले रक्तदान गर्नु हुँदैन ?
यहाँ हामीले जुनसुकै कुराहरू लेखिएतापनि वास्तवमा निकै कम तौलका कुपोषित व्यक्ति, रक्तअल्पता भएका व्यक्ति, रगतबाट सर्ने कुनै रोग भएका व्यक्ति, रक्तचाप परीक्षण गर्दा उच्च वा अति न्यून रक्तचाप पाइएका व्यक्ति, महिनावारी भएको अवस्थामा बढी नै रक्तश्राव भइरहेका व्यक्ति, जलवियोजन भएका व्यक्ति, कम उमेरका व्यक्ति, कुनै रोगले ग्रस्त भइ भरखरै निको भई आराम गरिरहेका व्यक्ति आदिले रक्तदान गर्नुहुँदैन । यी बाहेक सबै व्यक्तिको लागि रक्तदान गर्न छुट हुन्छ, भ्रममा पर्नु पर्दैन ।
रक्तदान दिने ईच्छा भएपछि रक्तदाताले केही नियमको पनि अनुसरण गर्नु उचित हुन्छ । जस्तैः सन्तुलित खाना खाने, खानामा सकभर आईरनयुक्त पदार्थ खाने, अघिल्लो दिन मस्त निदाउने, रक्तदान गर्नु १ घण्टा अगाडि अलि बढी झोलिलो खाना वा पानी खाने, जाँड रक्सी नखाने आदि । रक्तदान गरिसकेपछि कसै कसैलाई हल्का चक्कर लाग्ने, वाकवाक लाग्ने, थकाई लागेजस्तो हुने आदि लक्षण देखापर्न सक्छन् । यस्तो भएतापनि आत्तिनुपर्दैन । रक्तदानपछि केही समय सुतेरै आराम गर्ने, प्रशस्त झोलिलो पदार्थ, सुप वा फलफूल खाने, केही दिन सन्तुलित आहार खाने, २४ घण्टा सम्म घाममा नजाने र कडा काम नगर्ने आदि गरेमा केही समयपछि पूर्णरुपमा निको हुन्छ । यसरी कसैको जीवन बचाउन दिइने रगत दिंदा आफूले पनि केही ख्याल गर्नैपर्छ ।
यसै शिलशिलामा हाल रगतको निकै बढी माग भइरहेको हामीले विभिन्न माध्यमहरूमा सुन्दै आइरहेका पनि छौं । अहिले रगतको निकै माग भएको अवस्थामा रक्तसङ्कलन ठूलो मात्रामा गर्नुपर्ने भएकोले रक्तसङ्कलन गर्ने कार्यक्रममा इच्छुक रक्तदाता रक्तदान केन्द्रमा वा नेपाल रेडक्रस सोसाइटीद्धारा आयोजना गरिएका रक्त सङ्कलन केन्द्रमा उपस्थित भई रक्तदान गर्नुहुन हार्दिक अपिल पनि गरिएको छ ।रगतको महत्वलाई बुझेर खेरजाने रगतकोदान गरी पुण्य कमाउन अनुरोध समेत छ । किनकि कसैको जीवन बचाउनु भन्दा ठूलो पुण्य काम अरु के नै हुनसक्छ र ? अतः निर्धक्कका साथ रक्तदान गरौं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं, पुण्य कर्म गरौं, पुण्य कमाऔं । अस्तु
कावासोती–८, नवलपुर
(लेखक ने.रे.सो. कावासोती उपशाखाका कार्यकारी सदस्य, जिल्ला रेडक्रस नवलपुरका रक्तसञ्चार उपसमिति सदस्य, प्राध्यापक, जीवनशैली सम्बन्धी विद्यावारिधि शोधार्थी तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक पनि हुन्)





