विश्वका धेरै देशले विश्वव्यापीकरणमुखी उदार अर्थतन्त्रलाई प्रशय दिएको पाइन्छ । नेपालमा पनि अहिले संघियताले निर्धारण गरेका प्रदेश र स्थानीय तह खारेजीका मागहरु यत्रतत्र आउन थालेका छन् । सरकारले विकेन्द्रीकरणका आधारमा जनतालाई सहज सेवा प्रदान गर्ने बताउँदै आएको छ । तर संघियताको आर्थिक बोझले जनतालाई नराम्रोसंग थिचेको छ । तसर्थ सर्वसाधारण त्यसको विपक्षमा उभिन थालेका हुन् । नेपाल यसभन्दा अगाडि नै पाँच विकास क्षेत्र, चौध अञ्चल र पचहत्तर जिल्लामा विभाजित थियो । त्यस माथी दुई जिल्लाको विभाजन र सात प्रदेश निर्माण गरेर राजनैतिक दल र दलका प्रतिनिधि पाल्ने कार्य भईरहेको छ ।
जनताका सेवालाई मध्यनजर गर्ने हो भने पुर्ववत् संरचना नै जायज थिए । यो संघियताले भित्राएको स्थानीय तह विश्वव्यापीकरणको विपक्षमा हुने भएकाले एक्काइसौं शताब्दीमा पनि स्थानीय प्रभावले जनतामा थप चुनौती थपिएको छ । एकातर्फ सामाजिक सेवाका नाममा प्रदेश र पालिका प्रमुख उपप्रमुख, जनाप्रतिनिधी र चर्को सेवा शुल्कका मन्त्रीहरु पाल्नु पर्ने भएको छ । अर्कोतर्फ भौतिक संरचनाहरुको निर्माण र स्थानीयस्तरको तडकभडकमा अनगिन्ती रुपैयाँ खर्चिनु पर्ने देखिन्छ । आफ्ना दैनिक आवश्यकता पूरा गर्न असमर्थ गरिब जनताको करबाट यतिका खर्च धान्न नेपाललाई गाह्रो छ ।
संघियताको प्रमुख उपलब्धि बनेको स्थानीयकरणले हाम्रा जुनसुकै कुरालाई सुक्ष्मातिसुक्ष्म क्षेत्रमा सीमित गराउँछ । मानिसलाई सानो घेरामा परिबन्द गर्दछ । भाषा, संस्कृती, स्थानीय रितिरिवाज र मूल्य मान्यताले जनतालाई सहज बनाए पनि सर्वव्यापी उन्नत जीवनयापन र स्वतन्त्रतालाई प्रतिस्पर्धाको दुनियाँबाट परोक्षमा धकेल्छ ।
संसारका कुनै पनि देश र मानवका सोच विचार, उर्जा, उत्पादित वस्तु, पुँजी र प्रविधि विश्वभर फैलिने अवस्थालाई विश्वव्यापीकरण भनिन्छ । यस युगमा मानिसले प्राप्त गरेका उपलब्धीहरु कुनै पनि देशको निश्चित सीमा नाघेर चर्चामा आउँछन् । मानिसका सिर्जना, विचार र वस्तुहरुले विश्व बजारमा स्वतन्त्रतापुर्वक विनिमय प्रणालीमा सहभागिता जनाउने अवस्थालाई विश्वव्यापीकरणको अनुकुलता मान्न सकिन्छ ।
स्थानीयकरणले जातजाति, भाषा, धर्म संस्कृति, परम्परा र भौगोलिक क्षेत्रका आधारमा मानिसलाई विभक्त गर्दछ । विश्व बजारले जातजाती, वर्ण, धर्म, वर्ग, लिङ्ग, क्षेत्र र सम्प्रदायका आधारमा विभेद गर्न जान्दैन । स्थानीयस्तरमा आर्थिक रुपमा सम्पन्न वा विपन्न भनेर चर्को असन्तुष्टि पैदा हुन्छ । मानिस मानिसका बिचमा भेदभाव र वैमनस्यताका अनगिन्ती खाडलहरु सिर्जना हुन्छन् । फलस्वरूप समाजमा द्वन्द्व निम्तिन्छ । सुकिला कपडा लगाउने शासकहरुबाट जनता शासित बन्दछन् । पुख्र्याैली वंश परम्परा र अहमताका नकारात्मक चरित्रबाट गरिब जनता पीडित बन्छन् । मानिसहरूले सम्पन्नताको आडमा गरिब दिनदुखी र असहाय अवस्थाका मानवमाथी मानवेत्तर व्यवहार गर्ने गर्छन् । समाजमा राजनैतिक छत्रछायाँमा बाँचेका सामन्तीहरु निकटस्थको उदयसंगै नेपालमा बाघ बन्ने प्रचलन छ । यसरी संघियताले स्थानीय स्तरमा टाठाबाठा र बदमासहरूको लागि टीका प्रसादसहित आशीर्वाद दिएको छ । जस्का कारण जनता राणा शासनभन्दा भिन्न शासनको परिकल्पनाबाट बाहिर निस्कन सकिरहेका छैनन् । अझै पछिल्लो समयमा त चुनावी खर्च उठाउन नेताहरूलाई कोसेलीपातसहित दक्षिणाको भोग लगाउने प्रथाले प्रश्रय पाउने गरेको छ । सत्तामा पुगेपछि आफ्ना आफन्त, इष्टमित्रको उद्दारमा जुट्ने प्रवृत्ति जल्दोबल्दो छ । यिनै विविध कारणले स्थानीयकरणलाई अनुदार अर्थतन्त्रको आश्रयस्थल मान्न सकिन्छ ।
स्थानीय बजारमा लगानीका अवसरहरू धेरै नहुने र फाट्टफुट्ट प्राप्त अवसरमा पनि स्थानीय शासनहरुको हस्तक्षेप बढ्ने हुँदा पुँजीको परिचालनमा असहजता प्रकट हुन्छन् । अन्ततः सोझासाझा मानिसहरूले अनुत्पादक क्षेत्रमा लगानी गर्न पुग्छन् । कतिपयले विलासिताका वस्तुमा रुपैयाँ खर्च गर्छन् । जो कहिल्यै फिर्ता हुँदैन । त्यसैले स्थानीयकरणको अर्थतन्त्र तत्कालीन अवस्थामा निर्वाहमुखी हुन्छ । स्थानीय बजारले राम्रो र स्वास्थ्यवर्धक वस्तु विनिमयलाई निकृष्ट नजरले हेर्छ । जहाँ उत्पादित ताजा वस्तुहरुले मूल्य पाउदैनन् । बाह्य बजारमा रहेका वस्तुहरुले सस्तो मुल्यमा प्रतिस्पर्धात्मक बजारमा अधिकार जमाउँछन् ।
अन्ततः स्थानीय उत्पादकहरु पलायन हुन्छन् । धनी मानिसहरुले आफ्नो हैकमवादी प्रवृत्ति र रवाफ देखाउँदा गरिब जनताको मनमा त्रास उत्पन्न हुन्छ । यी दुवै वर्गका बीचमा उत्पन्न वर्गीय विषमताको खाडलले विकराल रुप लिन्छ । यता विश्व बजारमा धनी, गरिब, ठुलो, सानो, होचो, अग्लो भनेर विभेद हुँदैन । मानिसका क्रियाकलाप र उनीहरुका रचना, सोचविचार, श्रम र उत्पादित वस्तुहरु निष्पक्ष रुपमा संसारभरी फैलिन सक्छन् । टेक्नोलोजीको विकास र विस्तारले विश्व परिवेश र त्यसभित्र घटित घटनाहरु जान्न, सुन्न र अनुभव गर्न सकिन्छ । विश्व भूगोलमा रहेका सबै स्थानमा बसोबास गर्ने जातजाति, भाषाभाषी, धर्म संस्कृति र रहनसहनका बारेमा पनि नजिकबाट जान्न सकिन्छ । आजको एक्काइसौं शताब्दीका मानिसहरुमा रहेका असीमित इच्छा र आवश्यकताहरूको माग धान्न सिमित क्षेत्रमा परिबन्दित स्थानीय बजारले सक्दैनन् । त्यसैले ती सबै मागहरूको परिपूर्ति एउटै देश र भूगोलबाट असम्भव छ । यसर्थ पनि आजको युगमा विकेन्द्रीकरणका नाममा भएका यावत् क्रियाकलापहरु सह्य हुँदैनन् ।
विश्वव्यापीकरणको तुलनामा स्थानीयकरणमा हामीहरुलाई नै अत्यावश्यक वस्तु, प्रविधि, ज्ञान विज्ञान, पुँजी र श्रम आदिको अभाव छन् । दक्ष जनशक्तिको प्राचुर्यतामा उद्योगधन्दाको अभाव हुनु र उद्योगधन्दा कलकारखानाले अधिक मात्रामा जनशक्तिको माग राख्ने ठाउँमा जनशक्तिको अभाव हुनु नै स्थानीयकरणको नकारात्मक पक्ष मान्न सकिन्छ । स्थानीय स्तरमा उत्पन्न बेरोजगारीका समस्याले समाजमा चोरी, डकैती, हत्या, हिंसा, आतंक र बलात्कार जस्ता कार्यहरू सिर्जना हुन्छन् । समाजमा उत्पन्न यस्ता खराब तत्वहरुलाई निरुत्साहित गर्न विश्वव्यापीकरणको आवश्यकता रहन्छ ।
स्थानीयकरणको विकल्पमा अनगिन्ती नेपालीहरु विश्व बजारमा पुगेका छन् । सामान्यदेखि उच्च कामदार र बौद्धिक एवं प्राविधिक क्षेत्रमा नेपाली श्रमिकले मनग्ग मुल्य पाएका छन् । विदेशी भुमिमा नेपालका ठुल्ठुला उद्योगपति, व्यापारी र लगानीकर्ताहरुको वर्चस्व बढ्दै गइरहेको छ । धेरै नेपालीहरू संसारका विभिन्न देशमा स्थापित हुँदै गएका छन् । जसका कारण आज नेपालको कुल आम्दानीको एक चौथाइभन्दा बढी हिस्सा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले धानेको छ । त्यसैले नेपाल र नेपालीहरुको उन्नयनका लागि विश्वव्यापीकरण आवश्यक छ । यो खुल्ला परिवेशमा संसारभरका मानिसहरुको प्रतिभाले मौलाउने मौका पाउँन् । मानिसमा भएको अथाह क्षमताको वृद्धि र विकासका लागि विश्व बजार फराकिलो धरातल हो । विश्वव्यापीकरणमा संसारभरका मानिसका लागि बोल्ने, हिंड्ने, व्यापार व्यावसाय गर्ने र आफुमा रहेको अन्तर्निहित क्षमता प्रदर्शन गर्ने स्वतन्त्रता हुन्छ ।
विश्वव्यापीकरणमा अर्थतन्त्रको उदारता पाइन्छ
यस्तो बजारमा मिहिनेती, पराक्रमी, दक्ष र प्रतिभाशाली मानिस संसारको जुनसुकै ठाउँमा इज्जतपूर्वक ससम्मान बाँच्न पाउँछ । स्थानीयकरणमा जस्तो भेदभाव हुँदैन ।
मानिसहरु खुशी र प्रसन्नता लिएर बाँच्न उस्का आवश्यकता परिपुर्ति हुनुपर्छ । विश्व बजार नै हो त्यस्तो उचित ठाउँ जहाँ मानिसका सम्पुर्णताहरु पुर्ण हुन्छन् । तब मानिस सुखी भएर बाँच्न सक्छ ।
विश्वव्यापीकरणमा धेरै किसिमका उद्योगधन्दा कलकारखानाहरु हुन्छन् । जहाँ लाखौं मानिसले रोजगारी पाएका हुन्छन् । स्थानीयकरणमा जस्तो सिप र जाँगर हुँदाहुँदै पनि बेरोजगार बस्नु पर्दैन ।
विश्वव्यापीकरणका बजारहरु पुर्ण प्रतिस्पर्धात्मक हुन्छन् । यहाँ उपभोक्ताहरूले आवश्यक मात्रामा वस्तुहरु रोजेर सर्वसुलभ मुल्यमा किन्ने अवसर पाउँछन् । बजारमा स्वास्थ्यबर्धक, सस्तो र गुणस्तरिय वस्तुको माग बढ्छ । एकाधिकार बजारमा जस्तो एकपक्षीय मुल्यमा उपभोक्तालाई दबाउने अवस्था रहदैन । विश्वव्यापीकरणले कमजोर मनस्थितिका विचौलियाहरुको व्यापारलाई निरुत्साहित गराउँछ । लगत्तै बजारमा कस्ले सस्तो, राम्रो र गुणस्तरीय वस्तु उत्पादन गर्ने भन्ने प्रतिस्पर्धा सिर्जना गराउँछ ।
विश्वव्यापीकरणको प्रभावसंगै अल्पविकसित देशका जनताहरु आर्थिक रूपमा बलिया हुँदै जान्छन् । देशको समग्र अर्थतन्त्र बलियो बन्छ । यसले गर्दा अविकसित र कमजोर अर्थतन्त्रका कारण विश्व बजारमा आफ्नो नाम परिचित गराउन असमर्थ देशहरूले पनि छोटो समय मै सम्पन्नताको परिचय पाउँछन् । उच्च विकसित मुलुकहरूले सञ्चालन गरेका उद्योगधन्दा कलकारखानाहरुले अविकसित देशहरूको कच्चा पदार्थ र श्रम प्रयोगमा ल्याउँछन् । त्यसकारण विश्वव्यापीकरणको दुनियाँ हाम्रो जस्तो अल्पविकसित र भुपरिवेष्टित मुलुकमा अधिक लाभदायक हुन्छ ।
विश्वव्यापीकरणमा कवि, कलाकार, साहित्यकार, शैक्षिक जनशक्ति, अभिनेता, खेलाडी जस्ता प्रतिभाहरू फुल्ने फक्रिने मौका पाउँछन् । प्रसस्त पुँजी भएर पनि लगानी गर्ने उपयुक्त अवसर नपाएर अलमलिएका लगानीकर्ताहरुलाई सीमित स्थानमा नभएर संसारभर फैलने अवसर मिल्दछ । मानिसहरु एकआपसमा सम्बन्ध विस्तार गर्ने र सकारात्मक बानी व्यवहारको विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
वस्तु विनिमयसंगै संसारका मानिसहरूमा भएको विद्वताको अन्तरघुलनले सद्भावपुर्ण समुदायको निर्माण हुने, एकाअर्कासंग परिचित हुने, आर्थिक लगायतका सामाजिक चुनौतीको सामनामा सहयोग मिल्ने र मेलमिलापपुर्ण जीवनशैलीको निर्माण हुने गर्दछ । स्थानीय रूपमा उत्पन्न हुने मानिस मानिस बिचमा रहेको वर्गीय असमानता र असमजदारीपनको नामोनिशान नभेटिने, सामाजिक रूपमा एक मानिस वा एक समुदायले उत्पन्न गरेका नकारात्मक दृष्टिकोणबाट कोहि पनि पीडित बन्नुपर्ने अवस्थ रहदैन ।
यसर्थ हामीहरुले विश्वव्यापीकरणको अवलम्बन गर्दै राष्ट्रको उन्नति र मानव समुदायको उत्थानका लागि परिवर्तनशिल विश्व परिवेशसंग साक्षात्कार गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ । वर्तमानको एक्काइसौं शताब्दीमा हामीहरुले स्थानीय वस्तुको मूल्य र मानवीय क्रियाकलापलाई मात्र आत्मसाथ गरेमा यथास्थितिवादी दृष्टिकोणका कमजोर चरित्र हामी बन्ने छौं । विश्वव्यापीकरणको आडमा संसार सुनौलो बन्दै गइरहेको छ । यहीँ पृष्ठभूमिमा हामी नेपालीहरुले पनि सुख, शान्ति र समृद्धिको बाटो अवलम्बन गर्नु आवश्यक छ ।





