मानवजीवनको अपरिहार्य सेवाभित्र स्वास्थ्य सेवा पर्दछ । मानिसका आधारभूत आवश्यकतामध्ये उत्कृष्ट सेवामा यसलाई लिन सकिन्छ । स्वस्थ जीवन नै मानिसको धन हो । तसर्थ मानिसका स्वास्थ्य र शारीरिक पक्षका सेवा सुविधालाई सरकारले महत्वको विषयमा समेटेको हुन्छ । अस्पताल भन्नाले रोगीहरुको आश्रयस्थल एवं आरोग्यताको पवित्र घर भनेर चिनिन्छ । यो रोगले दुखी बनेका मानिसको दुखलाई परोक्षमा धकेलेर सान्त्वना प्रदान गर्ने गृह हो । यस घरको स्पर्श मात्रैले पनि धेरै बिरामीहरुले नयाँ जीवन पाउँछन् । यहाँ बिरामीहरुले भगवानरुपी डाक्टर र साक्षात् देवीको रूपमा नर्सहरुको माया र स्नेह पाउँछन् । जस्का कारण सरलदेखी जटिल प्रकृतिका रोगहरु निको हुन्छन् ।
अस्पताल त्यस्तो स्थल हो जहाँ बालक, युवा, वयस्क र वृद्धवृद्दाहरुको समस्यामा समसाथको भावना पैदा गर्दछ । जहाँ दैनिक जसो सयौंको संख्यामा बिरामीहरु आउँछन् । उनीहरुले रोगलाई निर्मुल पारेर स्वस्थ्य जीवन लिएर घर फर्किने सौभाग्य पाउँछन् । हो हजारौं बिरामीलाई आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर बनाउने अस्पतालको नाम धौलागिरी अञ्चल अस्पताल हो । बागलुङको इतिहासमा वि.सं. २०१६ सालमा सामान्य रुपमा सञ्चालन भएको यो अस्पतालले २०३३ सालदेखि जिल्ला अस्पतालको मान्यता पाएको थियो । निरन्तरताको दोस्रो नाम बागलुङ जिल्ला अस्पतालले धेरै मानिसलाई नयाँ जीवन मात्रै दिएको छैन । बागलुङबासी कैयौं आमाबुबाका आँसु पुछ्न सफल भएको छ । यो अस्पतालले सेवाको करिब ७ दशक नजिकको यात्रा गरिरहँदा कैयौं नारीको सिन्दुर त कैयौं पुरुषहरुको घर गृहस्थीको संरक्षण गरेको छ । यस अस्पतालले विद्यमान समयमा आइपुग्दा आधुनिक स्वास्थ्योपचारको प्रर्वद्धनात्मक रुप पाएको छ भने सर्वसाधारणको शारीरिक एंव मानसिक स्वास्थ्यमा सवलता प्रदान गर्दै आएको कुरा पनि सर्वविधितै छ ।
जिल्ला सदरमुकाममा निर्मित यस अस्पतालले २०६७ सालदेखि अञ्चल अस्पतालको नयाँ स्वरुप पाएलगत्तै धौलागिरी अञ्चल अस्पताल बागलुङको नामले परिचित छ । अञ्चल अस्पतालको नामाकरणसंगै विशेषज्ञ सेवाको समसाथ पाएको हस्पिटलले वर्तमानमा आइपुग्दा दर्जन बढी विशेषज्ञ डाक्टरको सुविधा उपभोग गरिसकेको छ । यस अस्पतालबाट साविक धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जनता स्वास्थ्य सेवाबाट लाभान्वित हुने गरेका छन् ।
पछिल्लो समय अस्पतालमा स्वास्थ्य बिमाको कार्यक्रमले समेटेका बिरामीहरुले अत्यधिक मात्रामा सेवा लिने गरेका छन् । यहाँ प्रारम्भकालिन समयमा सामान्य बिरामीहरुको मात्रै स्वास्थ्योपचार गर्ने गरिएको भएता पनि अहिले अत्याधुनिक प्रविधिको प्रयोगसहित सबै प्रकार र रोगका बिरामीको सबल रूपमा उपचार हुने गरेको छ । कोरोना महामारीको सुरुवातमै बागलुङ जिल्ला आतंकित र भयभित भएको थियो । अञ्चलमै पहिलो पटक बागलुङ बजारमा संक्रमण देखिएपछि
स्वास्थ्य मापदण्डका साथमा महामारीको प्रमुख उपचार केन्द्र बनाइएको यो अस्पतालमा उल्लेख्य स्रोत र साधनको बन्दोबस्त गरिएको थियो । जुन सामाग्रीले बिरामीहरुको वर्तमान चापलाई थामीरहेको छ ।
स्वच्छ र शान्त पर्यावरण, सफा सुग्गर भवनकै अगाडि पुष्प बाटिका, पेरिफेरीमा बस्न मिल्ने सिडीहरु, हेर्दै मनोरम लाग्ने अनि बिरामीको रोगै बिर्साउन सक्ने दृश्य अस्पतालमा रहेकोे छ । स्वागत भन्ने शब्द प्राय खुशीमा व्यक्त गरिने भए पनि अस्पतालको गेट नजिकै राखिएका कुर्सीहरुले बिरामीलाई स्वागत गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेको बोध हुन्छ । अस्पतालको प्रारम्भ विन्दुमै राखिएको शुद्ध खानेपानीको ट्याङ्कीले बिरामीहरुलाई यहाँको बसाई शुभ रहोस् भन्ने भाव सदावहार अभिव्यक्त गर्दछन् । निजी हस्पिटल र क्लिनिकहरुले स्वास्थ्योपचारका लागि सर्वगुण सम्पन्न मापदण्ड बनाइरहँदा सरकारी स्वामित्वमा सञ्चालित यस अस्पतालले बिरामीमैत्री वातावरण सिर्जना गरेर नयाँ अस्तित्व र परिचय कायम गरेको छ ।
अस्पतालले बिरामीको रोग निदानमा महत्वपूर्ण भुमिका खेल्दछ । हस्पिटलको व्यवस्थापन, उपचार कक्ष, वरपरको वातावरण, डाक्टर, नर्स र कर्मचारीहरुको माया, सद्भाव र निगरानीले पनि बिरामीको रोग निर्मुल पार्न अत्यधिक सहयोग गर्छ । बिरामीहरुले दुखको भारी बिसाउने उपयुक्त पात्र डाक्टर हुन् । अस्पताल घर हो । जहाँ व्यक्तिगत जीवनमा निहित विभिन्न समस्याहरु खुलस्त प्रस्तुत गरिन्छ । तसर्थ यहाँ बालबालिका, वृद्ध, अपाङ्ग र विशेषतः रोगी मानिसहरुलाई अस्पताल भित्रको परिवेशले मात्रै पनि केही मात्रामा सञ्चो गराउने अनुभव गर्न सकिन्छ ।
हस्पिटलका अत्याधुनिक प्रविधिमा बाहिरबाट देखिने भौतिक सम्पत्तिमा लिफ्ट, अक्सिजन प्लान्ट र भवनहरु निर्माण गरि उपयोग गरिरहेको छ । साथसाथै उपचार पद्धति र उपचारका लागि अत्यावश्यक प्रविधिहरुको पुर्णता पनि यहाँ भेटिन्छ । आफ्नो जीवनकालमा यति धेरै क्षमताको अस्पताल देख्ने नसोचेका वृद्धवृद्दाहरुले बिरामीको वेड वरिपरि विशेषज्ञ डाक्टर घुमेको र बिरामीका समस्यासंग साक्षात्कार गरेको देख्दा खुशी लाग्ने बताउँछन् । बिरामीका वेड बेडमा अक्सिजनका पाइपलाइन पुगेको देख्दा अनौठो मान्छन् । सास रहुन्जेल आस रहन्छ भन्ने उक्तिको चरितार्थ बुझेका मानिसहरुले तिनै अक्सिजनका पाइपलाइनलाई पाएपछि निर्धक्कसंग उपचार गराउने गरेको अनुभव गर्न सकिन्छ ।
विशेषतः अस्पतालमा आवश्यक स्रोत साधन, खानेपानी, सरसफाइ र शौचालय व्यवस्थापनले छुट्टै पहिचान बोकेको हुन्छ । हो यहाँ सम्पुर्ण व्यवस्थापनसहित विशेषज्ञ डाक्टरको उपचार पद्धति पाइन्छ । बागलुङ बजारको बीच भागमा अवस्थित धौलागिरी अञ्चल अस्पतालले पुरानो भवनकै आडमा नयाँ नयाँ भवनहरु बर्सेनि थप्दै सेवा प्रवाहलाई थप मजबुत बनाउँदै गएको छ । परम्परागत भवनबाट स्वास्थ्य सेवा सुरु गरेको यस अस्पतालमा २०६९ सालमा पक्की भवन निर्माण भएको थियो । लगत्तै २०७६ सालमा दोस्रो भवन अर्थात् बि ब्लक निर्माण गरेर सुविधा थप गरेको अस्पतालले सि ब्लक र पुर्वी भागमा पर्खाल निर्माण गरिरहेको छ । अहिले निर्माण भइरहेका कार्य पूरा भएमा अस्पताल गण्डकी प्रदेशमै गणनिय बन्ने छ ।
अस्पतालले चौविसै घण्टा इमर्जेन्सी सेवाको सुविधा सञ्चालन गर्दै आएको छ । अस्पतालमा २ जना विशेषज्ञ (एमडी) डाक्टरहरुसहित करिब दुई दर्जन एमबिबिएस डाक्टरहरुले नियमित सेवा प्रदान गर्दै आएका छन् । अस्पतालमा आउने साना–ठूला समस्याका बिरामीहरुलाई निरन्तर रूपमा सघन उपचार गरेर सन्तुष्टि प्रदान गरिएको छ । आफ्ना हजारौं समस्याको बलि चढाएका डाक्टर, नर्स र कर्मचारीले ३६५ दिननै बिरामीको उपचारमा निरन्तर खटिएर अस्पतालको
गरिमा बढाउन सफल भएका छन् । हरेक आधा १ घण्टाको अन्तरालमा नर्स र अत्यावश्यक समयबाहेक ३ देखि ४ घण्टाको अन्तरालमा प्रदान गरिने विशेषज्ञ डाक्टरको परामर्शले बिरामीले थप सुधारको महशुस गर्दछन् ।
यस अस्पतालमा बिरामी र कुरुवालाई समय सापेक्षित अत्याधुनिक सुविधाअन्तर्गत लिफ्टको व्यवस्थापन गरेर सरलदेखी जटिल किसिमका कामलाई छिटोछरितो बनाइएको छ । अस्पतालमा ८ जना मेडिकल अधिकृत, ४ जना जनरल फिजिसियन, जनरल सर्जन, डेन्टल सर्जन, हाडजोर्नी तथा नशा रोग विशेषज्ञहरु क्रमशः दुई÷दुई जनाको दरले नियुक्ति पाएका छन् । त्यसैगरी नाक कान घाँटी, बाल रोग, स्त्री तथा प्रसुती रोग, एनेस्थेसियोलोजिष्ट, रेडियोलोजिष्ट र डर्माटोलोजिष्ट एक÷एक जना गरी यहाँ जम्मा २४ जना डाक्टरको दरबन्दी छ । गाउँले परिवेश र भूगोलको अस्पतालमा यतिका विशेषज्ञ सेवा पाउनु धौलागिरीबासीको सौभाग्य नै हो । यत्रतत्र सरुवाका प्रक्रियाले डाक्टरहरुको अनुपस्थितिलाई स्वीकार्य मान्नुपर्छ । अन्यथा उपचार र सहजीकरणका कामले अस्पताल पुर्ण नै मान्नुपर्छ । अस्पतालमा केही मेडिकल अधिकृत र सुपरिटेन्डेन्ट डा. को साथमा अन्य डाक्टरको दरबन्दी भएकाले जुनसुकै रोगको निदानका लागि विशेषज्ञको सहयोग उपलब्ध छ ।
अस्पतालमा प्रसुती विभागका अलावा दैनिक दुईदेखि चार जनासम्मको सफल अपरेशन हुन्छ । बागलुङको दक्षिणी भेगमा धुल्लुबासकोट र बरेङ पश्चिमका बुर्तिबाङ र ढोरपाटनसम्मका बिरामीहरुले यहाँबाट सुविधा लिने गरेका छन् । त्यसैगरी बागलुङ जिल्लाका १० ओटा पालिका छिमेकी जिल्ला एवं साविक धौलागिरीबासी म्याग्दी, मुस्ताङ र पर्वतको उत्तरी भेगका मानिसले यहाँबाट उपचार सुविधा लिन्छन् ।
वर्तमानसम्मको समयावधिको समिक्षा गर्दा सुक्ष्म जनशक्ति र प्रविधिबाट प्रारम्भ भएको अस्पतालको उपचार सेवाले अहिले पुर्णतः बृहताकार पाएको छ । भौतिक सम्पत्तिको संरक्षण र प्रविधिको सहि परिचालन गर्न सकेमा अस्पतालले सर्वसाधारणको तर्फबाट थप हौसला र माया पाउने छ भने मृत्युको संघारमा पुगेर जीवन मृत्युसंग लडेका बिरामीले नयाँ जीवन पाउने छन् । सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छन् ।
धौलागिरी अस्पतालमा धेरै सकारात्मक पक्ष हुँदाहँुदै पनि बिरामीहरुको चापलाई थाम्न सक्ने नीति अवलम्बन गरिएको पाइदैन । अस्पतालमा देखिएका समस्याहरुमा दैनिक जसोको भिड, अनियन्त्रित कार्यशैली, कर्मचारीको ढिलासुस्ती जस्ता पक्षहरुमा कमजोरी देखिन्छ । दरबन्दीमा रहेका विशेषज्ञ डाक्टरहरुले खाइनखाइ चौविसै घण्टा सेवा प्रदान गरे पनि दैनिक अस्पतालमा उपस्थित हुने बिरामीहरुको मागलाई सम्हाल्न सक्ने स्वास्थ्यकर्मी र कर्मचारीको अभावले असुविधा थपिदै गएको छ । एउटा सानो काम र समस्यालाई पनि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्नु नै सञ्चालक समिति, अस्पताल प्रशासन र स्थानीय सरकार सफल हुनु हो । अस्पतालको उन्नयनका लागि पुर्वोक्त तीन पक्षको सक्रिय उपस्थिति र थप सरोकारवाला निकायको नियमित अनुगमन अनिवार्य रहन्छ । आशा गरौं सरकारी अस्पतालमा अझै सबल उपचार पद्धति बनोस् । बिरामीहरुले सहजता पाइरहुन् ।





