बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

युवालाई आकर्षण गर्न नमूना युवा सांसद अभ्यास

युवालाई आकर्षण गर्न नमूना युवा सांसद अभ्यास


  • ढोरपाटन संवाददाता
  • असार १ २०८०, शुक्रबार

पोखरा/ युवाहरुलाई संसदतर्फ आकर्षित गर्ने लक्ष्यका साथ गण्डकीमा प्रदेश नमूना युवा सांसद अभ्यास आयोजना गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा प्रदेशभित्रका ११ जिल्लाका युवा प्रनिधिहरुलाई चार दिनसम्म निर्वाचनदेखि संसद, नीति तथा कार्यक्रम, बजेट विनियोजन बारेमा नमूना अभ्यास गराइएको हो । संसदीय अभ्यासको बारेमा १० जिल्लाका ३० बढी युवालाई संसदीय अभ्यासको तरिकालगायतको प्रशिक्षण दिइएको थियो ।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले नागरिकले संसदलाई खाली टुक्रे योजना बनाउने व्यक्तिको रुपमा मात्रै बुझ्दा समस्या भएको बताए । उनले नागरिक, बौद्धिक वर्गले समेत सांसद विकाससँगै ऐन कानून निमार्ण गर्ने व्यक्ति भएको कुरा भुल्दा अहिले संघीयताप्रति गलत अपवाह फैलिएको बताए । नमूना युवा सांसद अभ्यास कार्यक्रममा प्रवेश गर्दै गर्दा साँच्चिकै संसद भवनमा प्रवेश गरेको अनुभुति भएको सुनाउँदै उनले युवाहरुलाई त्यसरी संघीयताप्रति गलत सोँच विचार नराखी सकरात्मक भावता प्रेरित गर्न आह्वान गरे ।

पछिल्लो समय राजनितिमा विकृति बढ्दो र विश्वास घट्दो भएकाले प्रदेश संरचना बारेमा सबैले गहिराइबाट बुझ्न आवश्यक रहेको उनकोभ भनाइ थियो । उनले संविधानले व्यवस्था गरेअनुसारको कानून समेत निमार्णदेखि संशोधन नगर्दा निकै समस्या आएको धारणा राखे । ‘देशले नयाँ कानून पाएको छ । हामी संघीयतामा छौं तर पनि हाम्रो कानुन भने पुरानै छ । अहिले नागरिकले खाली सामान्य बाटोघाटो विभिन्न समूहको भवन निर्माणका लागि मात्रै सांसदलाई बजेट हाल्न
दबाब दिन्छन्,’उनले भने, ‘यहाँ किसानलाई बाँदर आतंकले सताएको छ, हामीसँग बादर मार्ने वा नियन्त्रण गर्ने ऐन छैन, मदिराजन्य पदार्थ जतिबेलापनि खुल्ला छ त्यो नियन्त्रण गर्ने ऐन छैन ।’

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले व्यक्तिमा विकृति हुँदा पूरा सिस्टम दोषी देखिएको बताइन् । उनले राजनीतिलाई सकरात्मक बनाएमा मात्रै देशको विकास हुने सुनाउँदै युवाहरु त्यसको लागि तयार हुनुपर्नेमा जोड दिइन् । उनले गण्डकी प्रदेशमा युवालाई राजनीति तथा नेतृत्वतर्फ आकर्षित गर्न नमूना युवा परिषद् गठन गराउने बताइन् । उक्त कार्यक्रममा सहभागी भएकी प्रशिक्षार्थी जुना तामाङले संसद र प्रदेशसभा बारेमा जानकारी दिने उदेश्यले आयोजना गरेको नमुना अभ्यासले धेरै कुरा सिकाएको सुनाइन् । उनले विग्रदै गएको राजनीतिलाई सुधार्नका लागि यस्ता कार्यक्रमले धेरै सहयोग पुग्ने बताइन् । अर्का सहभागी अशोक ढकालले प्रदेशसभा संचालन के कसरी हुन्छ भन्ने कुरा प्रयोगात्मक तरिकाले गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले सिकेको कुरा आफ्नो ठाउँमा पुगेर सिकाउने र प्रशिक्षण लिएका सबैलाई पनि सिकाउन अनुरोध गरे । सत्तापक्ष प्रतिपक्षबारे केही थाहा नभएको र नमूना अभ्यास कार्यक्रमबाट सबै कुरा सिकेको उनको भनाइ थियो ।

उनीहरुले प्रशिक्षणका दौरान सांसदको नक्कल गर्दै शिक्षा, स्वास्थ्य, रोजगार तथा उत्पादनलाई जोड दिदैँ महत्वपूर्ण कुराहरु उठाएका थिए । जेठ २९ गतेदेखि संचालन भएको नमूना युवा सांसद अभ्यास कार्यक्रम बिहीबार सम्पन्न भएको हो । सामाजिक विकास मन्त्रालयका सचिव वद्रीनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषदका सुरेन्द्र बस्नेत, सामाजिक विकास मन्त्रालयका उपसचिव घनश्याम पौडेल, प्रक्षिक विवेक त्रिपाठी लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->