मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

स्थानीय पाठ्यपुस्तक : जिवनोपयोगी शिक्षामा जोड

स्थानीय पाठ्यपुस्तक : जिवनोपयोगी शिक्षामा जोड


  • माधव चापागाई
  • असार ३ २०८०, आइतबार

बागलुङ नगरपालिकाले शैक्षिक सत्र २०८० को लागि आफ्नो छुट्टै पाठ्यपुस्तक तयार गरेको छ । नगरले स्थानीय पाठ्यक्रम २०७८ मा आधारित भएर व्यवहारोपयोगी शिक्षाको थालनी गरेको हो । पाठ्यपुस्तकको नाम ‘हाम्रो सुन्दर बागलुङ’ रहेको छ । पुस्तकले स्थानीय तहका सम्पुर्ण विषयवस्तु समेटेर व्यवहारोपयोगी शिक्षाको परिकल्पना गरेको छ । यसर्थ पठनपाठन पश्चात् यस वर्ष कक्षा १ मा अध्ययनरत विद्यार्थीहरु स्थानीय विषयवस्तुको ज्ञानले पुर्ण बन्ने अपेक्षा राख्न सकिन्छ ।

आकर्षक पृष्ठभुमिमा तयार पारिएको यो पुस्तकको बाहिरी पृष्ठमा एकातर्फ बागलुङका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको चित्र समेटिएको छ । अर्कोतर्फ बालबालिकाहरुले आफ्नो देश, जिल्ला र नगरपालिका चिनुन् भनेर नेपालको नक्साका साथमा बागलुङ जिल्ला र नगरपालिकाको नक्सा छापिएको छ । नेपाल सरकार र अन्य स्थानीय तहहरुले शैक्षिकसत्र प्रारम्भ भएको २÷३ महिनासम्म विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउन सकिरहेका छैनन् । तर बागलुङ नगरपालिकाले समयमै स्थानीय पाठ्यपुस्तक निर्माण गरि विद्यार्थीको हात हातमा पुर्याएको छ । पालिकाको यो सह्रानिय कार्यका लागि नगरप्रमुख ज्यु, नगर शिक्षा अधिकारी ज्यु लगायत पुस्तक प्रकाशनमा सहयोग गर्नुहुने आदरणीय व्यक्तित्व ज्युहरुप्रति साधुवाद छ ।

स्थानीय विषयवस्तुले पुर्ण यो पुस्तकको अध्ययनबाट स–साना बालबालिकालाई मात्र फाइदा नभई समग्र पालिकाका नागरिकहरुलाई फाइदा हुने छ । पुस्तक १२ ओटा एकाइ र २७ ओटा पाठमा संरचित छ । १०१ पेजको आकारमा रचना गरिएको पुस्तक निकै आकर्षक र रङ्गिन परिवेशमा देख्न सकिन्छ । पहिलो पृष्ठमा बागलुङ नगरपालिका सहि नगर प्रमुख र उपप्रमुखको तस्बिर देख्न सकिन्छ । परिचयको शिलशिलामा तयार गरिएको यो पृष्ठबाट बालबालिकाहरुले पालिका स्थापनाको इतिहास, पालिका रहेको स्थान र प्रमुख उपप्रमुखलाई चिन्नेछन् । त्यसपछि क्रमशः हाम्रा वडाहरु शिर्षक राखेर बागलुङ नगरपालिकाका १४ वटै वडाहरुको नाम, वडा भित्रको प्रमुख गन्तव्य स्थानहरुलाई सचित्र वर्णन गरिएको छ । जस्का सहायताले विद्यार्थीहरुले आफ्नो पालिकालाई नजिकबाट पहिचान गर्ने छन् । पुस्तकमा हाम्रो कला र संस्कृतीको संरक्षण र सम्बर्द्धनमा विशेष जोड दिइएको पाइन्छ । पालिकाभित्र हुने साँस्कृतिक नाचहरु लाखे, हनुमान, धान, मारुनी, तरवार, जोगी र धान नाचको परिचयसहित नाचका दृश्यहरुलाई पाठकवृन्दले हेर्न र तत् सम्बन्धि ज्ञान बोध गर्न सकिने छ ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक सम्पदाले युक्त देश हो । यहाँ बसोबास गर्ने हरेक जातजाति र भाषाभाषीका छुट्टाछुट्टै रहनसहन र परम्परा हुन्छन् । कति संस्कृतिहरु भौगोलिक रूपमा पनि भिन्न हुन्छन् । बागलुङमा मनाइने मेलापर्वहरुलाई पाठ्यपुस्तकमा समेटेर बालबालिकाहरुलाई चैतेदशै, तिज र हरेको मेलाका विषयमा बोध गराउने उद्देश्य राखिएको छ । जुन मनासिब पक्ष ठहरिन्छ । बागलुङ नगरपालिका स्थानीय कला र सिपमा भरिपूर्ण छ । यहाँ निर्मित बुट्टेनली, दारका ठेकी, डाला नाग्लाहरुले धेरै अघिदेखी छुट्टै पहिचान बनाउन सफल छन् भने आधुनिक वास्तुकलामा पञ्चकोटमा निर्मित हनुमान र गरुड माथी सवार विष्णु भगवानको मूर्ति, कुडुँलेको लक्ष्मीनारायण मन्दिर (तिरुपती बालाजी धाम)को विषय प्रवेशले पनि पुस्तकलाई थप आलङ्कारीक बनाएका छन् ।

स्थानीय पर्यटनको सन्दर्भमा ‘हाम्रा स्थानीय पर्यटकिय स्थलहरु’को नामलाई एउटा पाठमा समेटिएको छ । पालिकाको पर्यटन इतिहासमा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गरेका बागलुङका धार्मिक र साँस्कृतिक धरोहरहरुसंग बाल मस्तिष्क सहजै जोड्ने प्रयत्न गरिएको छ । बागलुङ कालिका भगवती मन्दिर, भैरवस्थान मन्दिर र पञ्चकोटको वर्णनले समग्र पुस्तकलाई पवित्र तुल्याएका छन् । यसै पाठभित्र समावेश प्राकृतिक र कृतिम पर्यटकीय स्थानहरूमा रायरायँ कोट, संसारकोट, विश्वकै लामो पुलका रूपमा परिचित बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पुल, भकुण्डे भ्यु टावर, बाघको शालिक, कुडुँलेको तिरुपती बालाजी धाम एवं शालिग्राम संग्राहलय र रायडाँडा गुम्बाको परिचय छ ।

पाठ्यपुस्तकको आयामलाई धेरै विशेषताले पुर्ण गरेको छ । त्यसमा एक हो स्थानीय कृषि शिर्षक जस्ले छुट्टाछुट्टै पाठ निर्धारण गरेर हाम्रो वरपर उत्पादन गर्न सकिने तरकारी र तिनीहरुबाट बन्ने परिकारहरुलाई सचित्र वर्णन गरेर अलौकिक परिकारहरुको आनुभविक ज्ञान प्रदान गर्ने प्रयत्न गरिएको छ । यस पाठबाट स–साना नानीबाबुहरुले व्यवहारिक रुपमा तरकारी बालीहरु र फलफुलहरुको उत्पादन, प्रवर्द्धन र उपभोग गर्ने विधिहरुमा पोख्त बन्ने छन् ।

स्थानीय पेशा, व्यवसाय र प्रविधीतर्फ मानिसहरुलाई आत्मनिर्भर बनाउन आवश्यक पेशाहरुको जानकारी प्रदान गरिएको छ । आधुनिक सवारी साधनमय अत्याधुनिक परिवेशमा ग्यारेजको प्रसंगले सवारी साधनको निरोगिता नै मानव जीवन सुरक्षाको पुर्व तयारी भन्ने सन्देश दिन खोजिएको छ । त्यसै गरेर फर्निचर, औजारहरु, सिलाइकटाइका पसल, माटोबाट बनाइने भाडाहरु, चोयाबाट बन्न सक्ने वस्तु, घर निर्माण कार्य र बाटो निर्माण कार्यमा संलग्न डोजरको चित्र देखाएर सीप सिकेर पुर्ण बन्नु नै सबल जीवनको तयारी हो भन्ने तर्क वयस्क उमेर समुहका सर्वसाधारणले समेत बुझ्दा लाभ हुने देखिन्छ । विद्यार्थीहरुलाई स्थानीय व्यवसायहरुमा फलफूल खेती, नर्सरी, स्टेसनरी, गरगहना पसलका साथमा ग्यास डिपो र बिउँ भण्डार रहेको र त्यहाँबाट आम मानिसले सेवा लिन सक्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

स्थानीय जडिबुटी तथा उपचार विधि र प्रयोग पाठको अध्ययनबाट विद्यार्थीहरुले कागती, प्याज, लसुन, मरौटी, घिउकुमारी, पुदिना, तुलसी, सतुवा, लालीगुराँस, थकाइलो, चरी अमिलो, बोझो, अदुवा, चिराइतो, तेजपत्ता, कुरिलो, सिस्नो र बेसार जस्ता औषधिजन्य जडिबुटीहरु पहिचान गर्न र तिनको प्रयोग गर्न सक्षम हुनेछन् । त्यसैगरी बाल बालिकाहरुको शारीरिक र मानसिक स्वस्थताका लागि आवश्यक व्यायाम, खेल, सीप र योगका विभिन्न प्रकार र योगासनको चर्चा पुस्तकमा छ । जुन शिक्षा अन्य उमेर समुहका मानिसहरुलाई पनि सिक्न योग्य छ । हाम्रो दैनिक जीवनमा आउन सक्ने चुनौती एवं विपदहरु बाढी, पहिरो, आगोलागी र हावाहुरी जस्ता विपदहरुको व्यवस्थापनमा बाल सहभागिता एवं जोखिम न्यूनीकरणको भाषाले विपद्को समयमा के गर्ने ? कसरी सुरक्षित रहने भन्ने कुरा सिकाउने छ । त्यसैगरी विद्यार्थीले प्राकृतिक सम्पदाहरु कालीगण्डकी नदि, काठेखोला, भकुण्डेको वराह ताल, माझकोटको सेतो पहाड, बाङ्गेचौर र माइकाथान जंगलको बारेमा आवश्यक शिक्षा लिने छन् । कलिला बाल मस्तिष्कलाई उपयोगी हुने र जान्नै पर्ने पशुपंछीहरु र तिनका छायाँ चित्रले बालबालिकाको मनमा थप उमङ्ग थप्ने छन् भने शैक्षणिक क्रियाकलापको अन्तमा ती पशुपंक्षी र जनावरहरुलाई चिन्न र नाम उच्चारण गर्न सक्षम हुने अपेक्षा राख्न सकिन्छ ।

हाम्रो नैतिक मुल्य मान्यता र सदाचार शिर्षकको पाठले लक्षित समुहको काम, कर्तव्य र अधिकारलाई स्पष्ट पारी उनीहरुलाई सामाजमा समायोजनतर्फ आकृष्ट पार्ने छ । सानालाई माया गर्नु, ठुलालाई आदर गर्नु, परिवारमा मिलेर बस्नु, दुखी गरिब असहायहरुलाई सहयोग गर्नु जस्ता महान वाक्यले बालबालिकालाई आचरण सिकाउने छन् । संसारमा धेरै मानिसहरुको जन्म हुन्छ । हरेक मानिसले देश र जनताको लागि केही न केही योगदान गरेको हुन्छ । जस्ले राष्ट्रको उन्नयनका लागि निस्वार्थ भावनाले समाजसेवा गर्छ । त्यही व्यक्ती अमर बन्छ । बागलुङ नगरपालिकाको इतिहासमा पनि त्यस्तै प्रेरणादायी व्यक्तित्वको जन्म भएको थियो भन्ने कुरा बालबालिकालाई बुझाएर योग्य जीवनको मार्ग पहिचान गर्न लगाउने उद्देश्य हाम्रा सम्मानित व्यक्तित्व शिर्षकको पाठमा पाइन्छ । बागलुङ नगरको भुमिमा जन्मिएर अविस्मरणीय बन्न सफल व्यक्तिहरु भगत सर्वजित विश्वकर्मा, ओमप्रसाद गौचन, ऋषिराम शर्मा र हेमराज शर्मा जस्ता उदाहरणिय व्यक्तित्वको परिचय पुस्तकमा प्रस्तुत गरिएको छ । अन्य सामाजिक व्यक्तित्वको जीवनी प्रस्तुत गर्ने कर्तव्य शिक्षकको रहने छ ।

पुस्तकको अग्र भागमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिकार प्रयोग गरि स्थानीय आवश्यकता अनुरुप स्थानीय पाठ्यपुस्तक तयार गरिएको, मातृभाषाको विकास तथा संरक्षण गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्रदेखि अन्य कक्षामा पनि उपयोगी हुने मातृभाषाका पाठ्यसामाग्री विकास गरि लागू गर्न आफू लगायत नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठको भनाई रहेको छ । त्यसैगरी नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले स्थानीय पाठ्यक्रमको उद्देश्य स्थानीय परिवेश, आवश्यक व्यापार व्यवसाय, परम्परागत रहनसहन, साँस्कृतिक पहिचान, भूगोल, प्रविधिको विकास तथा संरक्षण गर्नु रहेको बताउनुभएको छ । पाठ्यपुस्तकबाट विद्यार्थीहरूले स्थानीय कला तथा सौन्दर्यप्रतिको अनुराग, मानवीय मूल्य मान्यता र आदर्शको संरक्षण र सम्बर्द्धन गर्ने भावनाको विकास गरी पाठ्पुस्तकको सहयोगले हजारौं वर्षमा प्राप्त भएका रैथाने ज्ञान, सिप, परम्परा र संस्कृतिलाई पहिचान गरी उजागर गर्नेदेखि संस्करण, सम्बर्द्धन र विकासका लागि स्थानीय पाठ्यक्रमले अहम् भूमिका खेल्ने बताउनुहुन्छ ।

अन्तमा पालिकाले प्रकाशन गरेको यस पुस्तकले स–साना बाबुनानीहरुलाई मात्र नभइ समग्र उमेर समुहका मानिसलाई उपयोगी हुने जनाउन सकिन्छ । शहरिया जीवनशैलीमा रमाएका सानादेखी ठुला बालबालिकाहरुले पुस्तक पढ्नै पर्ने देखिन्छ । व्यवहारिक र जिवनोपयोगी शिक्षा प्राप्तिका लागि पाठ्यसामग्री स्तरीय र पुर्ण छ । यसर्थ यो पुस्तक आम सर्वसाधारणलाई समेत महत्वपूर्ण रहने छ । यो पुस्तक निर्माण र प्रकाशन कार्य बागलुङ नगरपालिकाको लागि उदाहरणीय बनोस् भन्दै शुभकामनासहित निर्माण समितिप्रति हार्दिक आभार व्यक्त गर्दछु । जय बागलुङ नगरपालिका !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->