मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

अन्तर्राष्ट्रिय योग दिवसका बारे केही कुरा

अन्तर्राष्ट्रिय योग दिवसका बारे केही कुरा


  • नरनाथ पाण्डे
  • असार ६ २०८०, बुधबार
विषय प्रवेश
वर्षकै सबैभन्दा लामो दिन अर्थात् अंग्रेजी तारिख जुन २१ योगका लागि एक विशेष महत्वको दिन रहिआएको छ । विगतमा जस्तै यसवर्ष पनि“मानवताका लागि योगं”भन्ने मूल नाराका साथ नवौं अन्तर्राष्ट्रिय योग दिवस संसारभर मनाउने कार्यक्रम रहेको छ । विश्व योग दिवस बाहेक प्रत्येक वर्ष माघ महिनाको १ गते नेपालमा मात्र मनाइने राष्ट्रिय योग दिवस नेपालीराष्ट्रिय पर्वको रूपमा स्थापित पनि भएको छ । तर विश्वभर विश्व योग दिवस भनेर जुन२१ तारिखका दिन विगत ८ वर्षदेखि मनाउने गरिएको छ । विश्वभर एकताको सन्देश दिने विश्व योग दिवस मनाइरहँदा हामीले महान् योगी र योगका प्रवर्तक भगवान शिव, भगवान कृष्ण, गौतम बुद्ध र महर्षि पतञ्जलिका बारेमा चर्चा गरेको सुन्छौं । किनकि यी देवता र ऋषिलाई योगका प्रवर्तक र विकासक मानिन्छ । संसारमा धेरै विद्वानले हालसम्म योगका सन्दर्भमा धेरै अनुसन्धान, प्रयोग र विकास गरेका छन् तैपनि नेपालका मानसाग्नि भन्ने साधक वा योगमा एक त्यागी व्यक्तित्वको बारेमा पनि हामीले बुझ्नुपर्ने हुन्छ, अन्यथा नेपालमा योगका कुरा गर्नु निरर्थक हुन्छ । त्यसकारण यस आलेखमा विश्व योग दिवस र मानसाग्निको सन्दर्भकोचर्चा गरिनेछ ।

नवौं अन्तर्राष्ट्रिय योग दिवसकोसन्दर्भ
सन् २०१४ को सेप्टेम्बर २७ तारिखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसंघको सभाले ११ डिसेम्बर २०१४ मा प्रस्ताव पारित गरी २०१५ जुन २१ तारिखका दिनदेखि विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेपछि सन् २०१५ देखि विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको हो । सदा झैं यसवर्ष पनि वर्षको सबैभन्दा लामो दिन जुन २१ तारिख वा यही असार ६ गतेबुधबारका दिन विश्व योग दिवस राज्यकै तर्फबाट मनाउन लागिएको छ।विश्व योग दिवसको सन्दर्भ पारेर देशका विभिन्न ठाउँमा विभिन्न योगसँग सम्बन्धितसंस्थाहरूबाट समेत योग दिवस मनाउन आव्हान गरी सप्ताहव्यापी कार्यक्रमहरू पनि सम्पन्न गरिसकेको अवस्था छ ।

योग र यसको महत्व
योग दिवस मनाउने सम्बन्धमा कुरा गर्नु अघि योग भनेको के हो र यसको महत्व के छ भन्ने बुझ्नु आवश्यक छ । वास्तवमा योग भनेको जोड हो । योगले मानिसको आत्मा, मन, मस्तिष्क र शरीरलाई जोडेर एक स्वच्छ र पवित्र आत्माको रूपमा रूपान्तरण गर्दछ । यसको अर्थ नियमित योग गर्नाले व्यक्तिमा मानसिक तनावको अन्त हुनुका साथै शारीरिक र मांसपेशीय मजबुती समेत पैदा हुन्छ । योगमा गरिने विभिन्न आसन, प्राणायाम, ध्यान र आध्यात्मिक चिन्तनले व्यक्तिको आन्तरिक तथा बाह्य क्षमता बलियो हुनपुग्छ, व्यक्ति शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक दृष्टिकोणले समेत स्वस्थ भई स्वस्थकर जीवनशैलीमा व्यक्तिको जीवन परिणत हुन्छ ।

वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । महर्षि पतञ्जलिको योग दर्शनका अनुसार योग त्यो प्रयत्न हो, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ । शरीर, इन्द्रिय, मन, बुद्धि र अहंकार माथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरुप पाउन सकिन्छ र त्यही शुद्ध स्वरुप प्राप्त गर्ने माध्यम नै योग हो । वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइनुले योग प्राचिन ऋषिमुनिहरूको अनवरत तपस्या र साधनाबाट विकसित भएको हो भन्न सकिन्छ । त्यस्तै बुद्ध धर्मका पालित्रिपिटकहरूमा र प्राचिन संस्कृत ग्रन्थहरूमा पनि योगका चर्चा भएका छन् । जैनधर्ममा पनि महावीर स्वामी आफैं योगी थिए र उनको समयमा योगको विवेचना बढी भएको पाइन्छ । गोरखनाथको नाथ सम्प्रदायमा पनि योगको यति आदर गरिन्छ कि त्यस सम्प्रदायलाई योगी सम्प्रदाय भनिन्छ । यसरी योग हरेक धर्म र सम्प्रदायमा लोकप्रिय नै रहेको पाइन्छ ।
योगदर्शनका प्रतिपादक ऋषि पतञ्जलि हुन् । त्यसैले योग दर्शनलाई पातञ्जल योग पनि भनिएको हो । भारतीय तथा पश्चिमाहरूले योगलाई योगाभन्ने गर्छन् । योगदर्शन भारतीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो, जसलाई व्यवस्थित रुप दिने काम ऋषि पतञ्जलिले गरेका हुन् । हाल स्वामी रामदेवले पतञ्जलिकै नामबाट योगलाई बढी लोकप्रिय गराउने काम गरेका छन् र अन्तर्राष्ट्रिय योग दिवसले सार्थकता पाएको छ । जति जति समाजको विकासको गति बढ्दै गइरहेको छ, त्यति त्यति नै योगको आवश्यकता र महत्व पनि महसुस् हुँदै गइरहेको पाइन्छ । ५÷१० वर्ष अघिसम्म पश्चिमा विकसित देशहरूमा योगतर्फ थोरै मानिसको मात्र संलग्नता थियो जबकि आजको अवस्थामा विकसित देशका अधिकांश मानिसहरूले पनि योगलाई अपनाउन थालेका छन् ।
योग दर्शनमा धर्म कर्मका लागि यज्ञ, यज्ञादि र पुजापाठको कुनै गुञ्जायस छैन । केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ ।सबै किसिमका धर्म तथा सम्प्रदायले यसको अभ्यास गरेका हुनाले योगलाई सार्वभौम अभ्यास पनि भन्ने गरिन्छ । लगभग सबै खालका धर्म तथा दर्शनहरूमा योगाभ्यासको महत्व दिइएको हुनाले योगदर्शनको महत्व धेरै छ । योग दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक, मानसिक, संवेगात्मक तथा शारीरिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरू दर्शाइएको छ ।
योग दर्शनले मुक्ति प्राप्तिका लागि ८ वटा मार्गहरू (अष्टाङ्ग योग) उल्लेख गरेको छ । ती हुन्
̵ यम : हिंसा, चोरी, लोभ आदि नगर्नु अर्थात अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य र अपरिग्रहका नियम पालना गर्नु ।
̵ नियम : ५ नियमहरूको पालना गर्नु जस्तै– शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रति विश्वास गर्नु ।
̵ आसन : मन एकाग्र गरी सुखासनमा बसी आनन्दको अनुभूति गर्नु ।
̵ प्राणायाम : श्वास प्रश्वासलाई उचित परिचालन गरी यसलाई नियन्त्रण गरी मनलाई एकाग्र राख्नु ।
̵ प्रत्याहार : इन्द्रियको कुप्रभाव मनमा पर्न नदिनु ।
̵ धारण  : अन्तरनिहित वस्तुको पहिचानमा मन लगाउनु ।
̵ ध्यान : निश्चित विषयमा एकाग्रतापूर्वक सोंचविचार गर्नु ।
̵ समाधि : सम्पूर्ण चेतनालाई खिचेर आत्मामा लिन गराउनु । उल्लेखित यस्ता उपायहरूद्वारा मुक्ति मिल्दछ भन्नु योगदर्शनको मुख्य मर्म हो ।
योगबाट हुने लाभहरू
योग अभ्यास गर्दा बिहान अमृत समयमा उठी (४–५ बजे) दिसा पिसाबबाट निवृत्त भएपछि, पानी पिएर,खाली पेटमा, हल्का वस्त्र धारण गरेर, राम्रो योगम्याटमा र खुला ठाउँमा बसेर मात्र गर्नुपर्छ । योग अभ्यास गर्दा जानेको व्यक्तिबाट सिकेर आफ्नो शरीरको अवस्थालाई हेरेर सकेको मात्रामा गर्नुपर्छ । यसरी नियमित रूपमा योग अभ्यास गर्नाले शरीरमा लचकता, चपलता, सन्तुलनता, तनाव नियन्त्रण लगायत अनगिन्ति स्वास्थ्य लाभहरू निःशुल्क रूपमा प्राप्त गर्न सकिन्छ । यसका साथै आफ्ना परिवारका साथमा योग अभ्यास गर्दा थप सन्तुष्टि मिल्नसक्ने हुँदा सकभर परिवारका सदस्यहरू सहित योग गर्न सकिन्छ भन्ने मान्यता अहिलेको योग दिवसको रहेको छ । सारांशमा योगबाट हुने फाइदाहरू यसप्रकार छन्–

̵ शरीर एक मन्दिर हो, यसलाई शुद्ध र सफा राख्न पवित्र आत्मा हुनुपर्दछ जुन योगबाट मात्र प्राप्त गर्न सकिन्छ ।
̵ टाउको र शरीर उठाइ अभ्यास गर्नु मात्र योग होइन कि मनलाई समेत आनन्दित राख्नसक्नु नै योग हो जुन योगले मात्र प्रदान गर्दछ ।
̵ शरीरको अँध्यारो कुनामा रहेका अपवित्र सोंच र वस्तुलाई चेतनारूपी उज्यालो छर्कन सक्नु नै योगको विशेषता हो ।
̵ योग अभ्याससँगै गरिने प्राणायामबिना योगको उद्देश्य पूरा हुनै सक्दैन जुन प्राणायामले हाम्रो सम्पूर्ण शरीर र आत्मालाई सक्रिय तुल्याउँछ ।
̵ चिन्ता र तनाव हटाउने सबैभन्दा उपयुक्त र चातुर्य बाटो नै योग हो ।
̵ योगले जति बढी फाइदा आत्मालाई पु¥याउँछ, त्यति फाइदा शरीरलाई दिनै सक्दैन । त्यसकारण आत्माको महत्वपूर्ण खुराक योग हो ।
विश्व योग दिवस र मानसाग्निको सन्दर्भ
विश्व योग दिवसमा महर्षि पतञ्जलि, संयुक्त राष्ट्रसंघ, भारतका प्रधानमन्त्री मोदी लगायतलाई विशेष सम्झने गरिन्छ । तर नेपालमा योगको इतिहासकोचर्चा गर्दा उपर्युक्त व्यक्ति वा संस्थाको भूमिकासँगै मानसाग्निको भूमिकासमेत सम्झनुपर्छ । नेपालमा योगको इतिहासको बारेमा आम पाठकहरू अनभिज्ञ समेत हुनसक्ने भएकोले योग दिवसको इतिहास सुरु गर्नु अघि मानसाग्निको बारेमा चर्चा गर्नु उत्तम र मानसाग्निका लागि सम्मान समेत हुने ठानिएको छ ।वास्तवमा योगको सुरुवात नै नेपालबाट भएको हो भन्ने कुरामा दृढ मानसाग्निको बारेमा थोरै चर्चा गरौं । मानसाग्नि नेपालमा योग र प्राकृतिक चिकित्साका अभियन्ता हुन् र उनले यस अभियानमै आफ्नो जीवन व्यतीत गर्ने अठोट गरेका छन् । मानसाग्निले गरेको अनुसन्धान, साधना र इतिहासले समेत यो कुराको पुष्टि गर्दछ । मानसाग्निका अनुसार शैव दार्शनिक विचार र साधनाबाट योगले विज्ञानको रूप लिएको र यस्तो दर्शनका प्रतिपादक महादेव अर्थात् शिवलाई मानिन्छ । नेपालमा भएका शिव सभ्यता, बुद्ध सभ्यता र जनक सभ्यताबाट विभिन्न दर्शनहरू आएका हुन् भन्ने कुरामा प्रमाण सहित मानसाग्निबहस गर्छन्। यिनै दर्शनमा टेकेर आफूलाई साधक बनाई निरन्तर यसै क्षेत्रमा लागि नेपालमा प्राकृतिक चिकित्सासँग जोडेर अघि बढाउने योग, आयुर्वेद र प्राकृतिक चिकित्साका विशेषज्ञ व्यक्तित्वर प्रकृतिप्रेमी महान दार्शनिक विद्वान मानसाग्नि हुन् । साधनाको नामबाट मानसाग्नि नामाकरण गरेका नेपालका प्राकृतिक चिकित्साका जनक तथा योग र आयुर्वेदका प्रणेता डा. हरिप्रसाद पोखरेल नै मानसाग्नि हुन् ।

पाल्पाको मदनपोखरामा वि.सं. २०२० सालमा जन्मेका मानसाग्नि सोह्र वर्षको उमेरमै हरिप्रसाद पोखरेलबाट मानसाग्नि बनेका हुन् । मानसाग्निले नै वि.सं. २०३६ साल माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन नेपालमा योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गर्दै नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गरेका हुन् । योगमा शारीरिक शुद्धता भन्दा मानसिक शुद्धता धेरै गुणा उत्तम मानिने हुँदा यस्तो बहुउपयोगितापूर्ण योगलाई प्राकृतिक चिकित्सासँग जोडेर मानसाग्निले नेपालमा अतुलनीय योगदानदिइरहेका छन् । २०३६ सालदेखि हालसम्मको निरन्तर उनको यात्राले चार दशक पूरा हुँदा नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको छ भने प्रत्येक वर्ष असार २० गते राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस समेत मनाउन सुरु गरिएको छ । मानसाग्निको यो अथक प्रयास अझै जारी रहोस् र योगको गुरु देश नेपाल हो भनी चिनाउन सकियोस् अस्तु ।
कावासोती–८, नवलपुर
(अध्यक्ष, पतञ्जलि योग समिति नवलपुर)
९८५७०४०४६३

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->