बागलुङ /नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको स्मृतिमा बिहिबार बागलुङमा बिभिन्न कार्यक्रम गरिएको छ । नेता भण्डारीको स्मृतिमा नेकपा एमाले र एमालेका जनसंगठनहरुले बिभिन्न कार्यक्रम आयोजना गरेका हुन् ।
मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसर पारेर नेकपा एमाले बागलुङले बागलुङ कालिका मन्दिर परिसरमा बृक्षा रोपण गरेको छ । कालिका मन्दिरको बन क्षेत्रमा ७२ वटा रुद्रक्षका बिरुवा रोपेर स्मृति दिवस मनाईएको जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताए ।
बृक्षारोपण कार्यक्रमको नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज जगत विश्वकर्माले शुभारम्भ गरेका थिए । बृक्षारोपण कार्यक्रम शुभारम्भ गर्दै बिश्वकर्माले मदन भण्डारीले देखाएको बाटोबाट नेपाली राजनीति लरबराएको बताए । जनताको बहुदलीय जनबाद मार्फत नेपालीको समृद्धिको सपना देखेका मदन भण्डारीले तत्कालिन समयमा नेपालको राजनीतिलाई लयमा ल्याएको उनको तर्क थियो । मदन भण्डारीले नै प्रतिपादन गरेको सिद्धान्तमा चलेको नेकपा एमालेमा जनमत देखिनु राष्ट्र समृद्धिको आधार तयार हुँदै गरेको संकेत भएको उनको धारणा थियो ।
कालिका बन क्षेत्रमा ७ सय रुद्राक्षका बिरुवा रोप्ने अभियान सहित बिहिबार ७२ वटा रुद्राक्षका बिरुवा रोपेको जिल्ला अध्यक्ष केसीले बताए । ‘कालिका बन क्षेत्रमा भएका रुखहरु पुराना भएका छन्, नयाँ रुख हुर्काउनुपर्ने छ, बहुउपयोगी रुद्राक्ष रापेर हामिले मदनलाई सम्झिएका हौं’ केसीले भने ‘यो एउटा अभियानको प्ररम्भ पनि हो, यसमा सबैको साथ रहन्छ ।’ बृक्षारोपणका लागि केन्द्रीय सदस्यहरु इन्द्रलाल सापकोटा, सावित्रा राना, केन्द्रीय सल्लाहाकार परिषद सदस्य नवराज पौडेल, प्रदेश कमिटिका सदस्यहरु र जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु सहभागि भएका थिए ।
मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले नेपालको राजनीतिमा मदन भण्डारीको योगदान बिषयक अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तको सान्र्दभिकता अहिले पनि उत्तिकै रहेको भन्दै नेपाली माटो सुहाउँदो कम्युनिष्ट आन्दोलनको आवश्यकता रहेको औंल्याए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान सचिव रामकृष्ण शर्मा, केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज तारानाथ आचार्य, पूर्व केन्द्रिय सल्लाहकार रामबहादुर जिसी लगायतले बोलेका थिए । जिल्ला अध्यक्ष सिर्जना पन्तको अध्यक्षता, उपाध्यक्ष खेमराज गौतमको स्वागत र सचिव अर्जुन कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसर पारेर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले धौलागिरी बहुमुखी क्याम्पसमा बृक्षा रोपण गरेको छ । अनेरास्ववियुले क्याम्पस परिसरमा आँप र लिचीका बिरुवा रोपेको हो ।





