बालबालिकाहरुको पहिलो पाठशाला घर हो । पहिलो गुरु आमालाई मानिन्छ । उनीहरुलाई ज्ञानको ज्योति प्रदान गर्ने फराकिलो र दीर्घकालीन गन्तव्य विद्यालय हो । विद्यालयको फरक पृष्ठभूमिमा अन्धकारमा रहेका बालबालिकालाई उज्यालो मार्ग प्रदान गर्ने उपयुक्त पात्र शिक्षक हुन् । शिक्षकहरुको चिन्तन, मनन् र सिर्जनात्मक सोचले समग्र राष्ट्रको उन्नति हुने निश्चित आधार तयार हुन्छन् । बागलुङ नगरपालिका शिक्षा तथा खेलकुद शाखाबाट सञ्चालित अतिथि शिक्षक कार्यक्रम नेपालकै हकमा नवीन प्रयास होला । विभिन्न विद्यालयमा अध्ययन अध्यापन गराउने विषयगत शिक्षकहरुको समन्वयात्मक शैक्षणिक अन्तरक्रियालाई यो अभियानले स्पष्ट आत्मसाथ गरेको छ । अन्तर विद्यालयका शिक्षकमा भएको सिर्जनशीलता र शिक्षण विधिलाई व्यवहारिक रूपमा अवलम्बन गर्ने÷गराउने कार्य पनि अभियानले समेट्छ ।
यस अभियानमा सहभागी हुने शिक्षकहरुले अर्को विद्यालयको भौतिक, सामाजिक र शैक्षणिक पक्षको पुर्णतः बोध गर्नेछन् । उनीहरुले भिन्न शिक्षकबाट अध्यापन सीप, कला, कौशल, शिक्षण विधि र शिक्षण अनुभव आदानप्रदान, परीक्षण र मुल्याङ्कन गर्ने अवसर पाउनेछन् । अन्ततः शिक्षकहरुले सिकेका विशेष गुण, कला र क्षमतालाई सहजै प्रयोगमा ल्याउन सक्नेछन् । यो कार्यक्रमको मुख्य ध्येय पनि यहि हो ।
बागलुङ नगरपालिकामा संस्थागत र सामुदायिक गरि दुई प्रकारका विद्यालयहरु छन् । बागलुङ नगरपालिकाको हकमा बजार क्षेत्रमा संस्थागत र गाउँले भुभागमा सामुदायिक विद्यालयको संख्या अधिक छ । अभियानको मापदण्डअनुसार संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरु बिचको शैक्षणिक अभ्यासलाई मुल्याङ्कनको दायरामा ल्याइएको थियो । तदनुरुप शिक्षकहरुलाई एक दिनको लागि अन्तर विद्यालयमा नियुक्त गरिएको थियो । नगर शिक्षा शाखाको यो कार्यबाट धेरै मानिसहरुले चासो र गुनासो गरेको पाइन्छ । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धमा थप उर्जा थप्ने नगर शिक्षाको प्रयत्नलाई कतिले उपयुक्त मानेर स्वागत गरेका छन् त कतिपयले छोटो समयावधिको कारण देखाएर कार्यक्रमको प्रभावकारिता माथी नै प्रश्न उठाएका छन् । यत्रतत्र सर्वत्र जे–जस्ता गुनासा आए पनि नगरको यो कार्यप्रती हामी प्रसन्न नै हुनुपर्छ । शैक्षिक उन्नतका लागि बागलुङ नगरपालिकाले सञ्चालन गरेको यो अभियान उदाहरणीय छ ।
विद्यालय, शिक्षक, विद्यार्थी र प्रधानाध्यापक लगायत सम्पुर्ण शैक्षिक व्यक्तित्वहरुको चासो रहेको यस कार्यक्रममा सहभागी विषय शिक्षकहरुले शिक्षण सिकाइ क्रियाकलापको अन्त्यमा आफ्ना अनुभवसहित प्रतिवेदन पेश गर्नुपर्ने नियम राखिएको थियो । आफुले शिक्षण गरेको विद्यालय र पाहुना शिक्षकको भुमिकामा नियुक्ति हुँदा अध्यापन गराएको विद्यालयका सबल र दुर्वल पक्षको जानकारी र सुझावमुलक सन्देश प्रतिवेदनले अपेक्षा गर्ने बताइएको थियो । प्रायः अध्यापन कार्य सहज, सरल र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरेका शिक्षकहरुका सुझावहरुलाई पालिकाले कुन रूपमा महशुस गर्छ त्यो विषय नै यस कार्यक्रमको प्रभावकारीता हुने छ ।
शिक्षकहरुको समझदारीपनले विद्यार्थीहरुलाई जिवनोपयोगी र व्यवहारिक पृष्टपोषण प्रदान गर्नु शिक्षकको धर्म हुन्छ । यस कार्यक्रमको पुर्व र पश्चात् विद्यार्थीमैत्री वातावरण, शैक्षिक सामग्रीको निर्माण, प्रयोग र व्यवस्थापनमा जोड, खेलकुद सामाग्रीको सहज व्यवस्थापन, सिर्जनशिल जीवनयापनसहित सामाजिकीकरण र रचनात्मक प्रस्तुतीकरणमाको पहिचान पृष्टपोषण प्रदान गरिने छ । विद्यार्थीका आन्तरिक क्षमता विस्तारमा सहजीकरण र विद्यार्थी केन्द्रित शिक्षण विधिको परिकल्पना शैक्षिक मापदण्डले समेटे पनि प्राप्त सुझावहरु भिन्न रूपमा आउने छन् । अतिथि शिक्षकहरुले अनुभव गरेका सकारात्मक र नकारात्मक पक्षको चाङ नगरपालिकामा लाग्ने छ । अनुभवी शिक्षकहरुबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन भइ रहेकोे जानकारी प्रधानाध्यापकबाट आउने छ । शिक्षकहरुले आफू अध्यापनरत विद्यालयको सबल र अर्को विद्यालयको दुर्वल पक्षलाई बढावा दिने छन् ।
कक्षाकोठाको सरसफाइ, कक्षा डेकोरेसनको अनिवार्यता, आवश्यक शैक्षिक सामाग्रीको प्रस्तुतीकरण, गृहकार्यको लागि डायरीको व्यवस्था, समान पोसाकको व्यवस्थापन, सिकाइ क्रियाकलापलाई सहयोगी बन्न सक्ने शैक्षिक सामग्रीले पुर्ण कक्षाकोठा, स्वच्छ प्युँने पानी, आवश्यक स्वास्थ्य सामाग्रीको उपलब्धता, स्वच्छ, सफा र आकर्षक वातावरण निर्माण, प्रत्येक कक्षामा सीसी क्यामरा र प्रोजेक्टरको व्यवस्था, प्रभावकारी शैक्षणिक क्रियाकलाप सञ्चालन गराउन र विद्यार्थीहरुको एकाग्रतालाई स्थिर राख्न भित्ते घडी र कक्षागत वेलको व्यवस्थापन, तहगत प्रधानाध्यापकको जिम्मेवारी, अनुशासित, कर्तव्यनिष्ठ र मिलनसार शिक्षक कर्मचारी र विद्यार्थीहरुको उदाहरणीय शैली, जङ्फुडरहित क्यान्टिनको व्यवस्था र प्रधानाध्यापकलाई विषयगत बोझ दिएर पढाउन लगाउनु भन्दा स्वतन्त्र रुपमा विद्यालयका अन्य पक्ष सुधारमा जोड दिन आवश्यक छ । हरेक हप्ता समिक्षा कार्यक्रम गर्ने र प्राप्त उपलब्धीलाई संस्थागत गरि समस्या समाधानमा लाग्नु पर्ने सुझाव आउने छन् । हो यिनै सुझावको महशुस गरि उपयुक्त दिशानिर्देश गर्नु नै शिक्षा शाखाको दायित्व ठहर्छ ।
पाहुना शिक्षकको अभियानले कति शिक्षकहरुले प्रशस्त मात्रामा सीप र कला सिके होलान् त कतिले फुलमाला मात्रै लगाए । कताकता फेसबुकको वालमा खादा मालाको पैँचो लगाएको देखियो । आर्थिक रूपमा एक दिने प्रक्रियाका लागि शिक्षकहरुको दौडलाई भत्तामुखी धर्मको परिपालन गरेको अनुभव गर्न सकिन्छ । एउटै कार्य शैक्षणिक क्रियाकलाप सञ्चालनमा जुटेका र सरकार कै स्वामित्वमा तलब खाएका शिक्षकलाई बिनाभत्ता काम गराउन असम्भव नै हो त ?
शिक्षकहरूबाटै समयावधिको अभाव हुन्छ । भन्दाभन्दै, एक दिने कार्यक्रम सञ्चालन गरेर किन प्रभावकारी बनाउन सकिएन ? किनकी विषयगत शिक्षक फेरिएर शिक्षण गर्दा फाइदा हुन्छ नै तर अन्तर विद्यालयको शिक्षणमा प्रभावकारिता कम नै होला । प्रभावकारी शिक्षणकै अपेक्षा राख्नको लागि एक दिन नभएर हप्ता दिनको क्रियाकलाप उपलब्धिमुलुक हुने देखिन्छ । यसरी नियुक्ति दिइदा सुगम ठाउँमा परेका शिक्षकलाई सहज भए पनि दुर्गममा पठाइएका शिक्षकको टाउको दुखाइ अवश्य हुन्छ र भयो पनि, शिक्षक सेवा आयोग र करोडौं रुपैयाँ लगानी गरेर शैक्षिक उन्नयनमा लागेका संस्थागत विद्यालयले योग्य ठानेका शिक्षकको परीक्षण एक दिनको शिक्षणले कदापि हुँदैन । सरकारको तर्फबाट प्रशस्त बजेट र पुर्वाधार दिइए पनि सामुदायिक विद्यालयको अस्तव्यस्तता सुधार हुन सकिरहेका छैनन् ।
व्यक्तिगत सम्पत्ति भइकन पनि विद्यार्थीमैत्री वातावरण सिर्जना गरेर दक्ष जनशक्ति उत्पादन गर्ने बोर्डिङ स्कुलको शैक्षिक इतिहास बलियो देखिएको छ । संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढिरहँदा सामुदायिक विद्यालयमा अगण्य स्थिति पैदा भइ रहेकोे छ । केही देखिने तथ्याङ्कमा एक शिक्षक, एक विद्यार्थीको नाजुक अवस्था देखिन थालेका छन् । सामुदायिक विद्यालयहरुले बुझाउने तथ्याङ्कलाई दोहो¥याएर निरीक्षण गर्नुपर्छ । गाभिने स्थिति यत्रतत्र पाइन्छन् । शैक्षिक मापदण्डमा उपयुक्त ठानिएका विद्यार्थी संख्याभन्दा कम विद्यार्थी भएका अधिकांश प्राथमिक र आधारभुत तहका विद्यालयमा उचित व्यवस्थापन गरि मसलन्द खर्च कटौती गर्नुपर्छ । उपयुक्त वातावरणमा पढ्ने अवसर दिनुपर्छ । ताकि दिवा खाजा, पोसाक र निशुल्क पाठ्यपुस्तकले आकर्षित गरोस् । त्यहाँ माथी बालबालिकालाई विभिन्न शिर्षकमा भत्ता दिएर बालमस्तिष्कमा विभेदको उद्घोष नगरौं ।
अस्थायी र करारमा शिक्षक नियुक्ति गर्न राजनैतिक छत्रछाया आवश्यक पर्ने नीति परिवर्तन गर्नुपर्छ । शिक्षकको नियुक्ति, सरुवा बढुवादेखि दरबन्दी हेरफेर र अन्य कार्यका लागि हाम्राको परिचय खोजेर टीका लगाउने अनि शैक्षिक उन्नयनको सपना देख्ने काम नकारात्मक हो । पुरानोको संरक्षण गरौं । मुख्य काममा ध्यान दिन जरुरी छ । कैयौं विद्यालयमा राजनैतिक आडभरोसामा नयाँ नयाँ बजेट निकासा गराएको छ । २÷४ वर्षको अन्तरालमा निर्माण सम्पन्न भएका भवनहरु भकाभक भत्काइएको छ । के ती संरचनाहरुले शैक्षिक गतिविधिमा प्रभाव पारेकै हुन् त ? व्यवस्थापन समिती, वडाअध्यक्ष, प्रअ, नगर शिक्षाका प्रतिनिधि लगायतले सबल भुमिका खेलेमा यस्ता समस्या समाधान हुन्छन् । शैक्षिक क्षेत्रमा लागेका विशेषज्ञ लगायतका मानिसहरुले अशुद्ध खेल खेल्दा नै शिक्षा शुद्धता विलिन भएको हो । यसर्थ शिक्षाको काम पवित्र मन लगाएर गर्नु पर्छ ।





