पोखरा/ पोखराका फोटो पत्रकारहरुले शनिबार पोखरा २२ मा रहेको अनदुदेखि पुम्दीकोटमा रहेको शिवमन्दिरसम्मको यात्रा तय गरे । फेवाताल पारिपट्टि अनदुको विश्वशान्ति स्तपू र पुम्दीकोटमा रहेको शिवको विशाल मूर्ति मानव निर्मित हुन् । आजकल त्यहाँसम्म मोटर चढेर नै पुग्न सकिन्छ । तर, बाटोमा पर्ने बस्ती,वनजंगल र जनजीवन बुझ्न हिँड्नैपर्ने हुन्छ । फोटो पत्रकारले पनि त्यही गरे । हुल बाँधेर यात्रामा निस्केका उनीहरुले बाटोमा भेटिएका दृष्य,जनजीवन,चराहरुलाई क्यामेरामा कैद गरे ।
पोखरा फोटोकारिताको लागि प्रख्यात सहर हो । फोटो हेर्नासाथ यो पोखरा नै हो भनेर खुट्याउन सकिनु पनि यसको अर्को विशेषता हो । सम्भवतः देशकै सबैभन्दा धेरै फोटो खिचिने ठाउँ पनि पोखरा नै हो । निर्जीव फोटोभित्र सजिव कथा लुकेको हुन्छ । तर,सामान्य प्रयत्नले कथा भेटिँदैन । कथा खोज्नुपर्छ,हेर्ने आँखा र बुझ्ने मन फरक हुनुपर्छ । समाचार कथाको कुरा अझ फरक हुन्छ !
यात्राको क्रममा अगुवा फोटो पत्रकार राम गुरुङले सहयात्रीसँग यही भावना व्यक्त गरे । कथाहरु सुन्दर र कुरुप दुबैखाले हुनसक्नेतर्फ सचेत हुनुपर्ने उनले बताए ।
हिँड्दै गर्दा बाटोमा कयौं कथाहरु थिए, कतिले कैद गर्नुभयो, कतिले गर्नुभएन,’उनी प्रश्नात्मक बने,‘पर्यटकीय क्षेत्रमा फोहोर व्यवस्थापनको कुरा, फेवातालमा बाढीको कुरा, प्रकृतिका कुरा धेरै थिए । ती कुरा तपाईँँहरुले कत्तिको ख्याल गर्नुभयो ?’
अधिकांशले पोखरामा आएर हिमालको दृष्यलाई मात्र महत्व दिने गरेको पनि उनको भनाइ थियो ।
वाइल्ड लाइफ फोटोग्राफी गर्दै आएका फोटोपत्रकार मनशान्त घिमिरेले हिमाल र तालजस्तै चराचुङ्गीको लागिसमेत पोखरा प्रख्यात रहेको सुनाए । फोटो पत्रकार संघ कास्कीले ‘फोटो वाल्क’ नाम दिएर यो हिँडाइको तारतम्य मिलाएको हो । पुम्दीकोटको थप प्रचारको लागि पुम्दीकोटमा रहेको ड्रिमसिटी नामक रेस्टुराँको सहयोगमा हिँडाइ आयोजना गरिएको अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए । कार्यक्रम संयोजक तथा फोटापत्रकार योगेन्द्र श्रेष्ठले उत्कृष्ट फोटोको लागि पैदलयात्रा अत्यन्तै महत्वपूर्ण रहेको धारणा राखे ।





